

७० हजार नेपाली ठग्ने ‘एसएमसी’ एप गिरोहको पर्दाफास, चिनियाँ नागरिकसहित ११ जना पक्राउ



साइबर ब्युरोले ‘एसएमसी’ एपको नाममा अनलाइन ठगी गर्ने एक ठूलो गिरोहको पर्दाफास गरेको छ । ‘एसएमसीएन एड्भर्टाइजिङ सर्भिस सेन्टर प्रालि’ नामक कम्पनीको आवरणमा करिब ७० हजारभन्दा बढी सर्वसाधारणलाई नेटवर्क मार्केटिङमा आबद्ध गराई ठगी गरेको आरोपमा ११ जना पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरूमाथि १२ करोड आठ लाख १६ हजार ३७२ रुपैयाँ ठगी गरेको आरोप छ । ब्युरोका अनुसार यस संगठित ठगी प्रकरणमा एक चिनियाँ नागरिकसहित अन्य १० जना नेपालीहरू पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा ३७ वर्षीय चिनियाँ नागरिक ही जियाङजियाङ, २१ वर्षीय मिलन श्रेष्ठ, १९ वर्षीय सौगात थापा, ३३ वर्षीय वीर बहादुर तामाङ, २३ वर्षीया सोनम खातुन र २३ वर्षीया प्रिया केसी रहेका छन् । त्यसैगरी २२ वर्षीया मोनिका गुरुङ, २१ वर्षीया गीता गुरुङ, ३७ वर्षीय नासिर मिया अन्सारी, ६६ वर्षीया सायरा खातुन र ६७ वर्षीय राम निवास प्रसाद कलवारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरूलाई काठमाडौँको ठमेल, लोलाङ, टोखा, तारकेश्वर, बुटवल र वीरगञ्जका विभिन्न स्थानबाट विभिन्न मितिमा पक्राउ गरिएको हो । पक्राउ परेकाहरूमाथि सङ्गठित अपराध र विद्युतीय माध्यम सम्बद्ध ठगीको कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
यसरी हुन्थ्यो ठगी
प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार यस गिरोहले चितवनको खैरहनी नगरपालिका-६ मा कार्यालय नै स्थापना गरेको थियो । सर्वसाधारणको विश्वास जित्न उनीहरूले कम्पनी रजिस्ट्रारको कार्यालयको नक्कली प्रमाण पत्र देखाउने गर्थे । गिरोहले विश्वप्रसिद्ध फिल्म कम्पनीहरू युनिभर्सल, वार्नर ब्रदर्स र डिज्नीसँग सहकार्य रहेको झुटो दाबी गर्दै फिल्मको विज्ञापन हेरेबापत पैसा पाइने लोभ देखाएर मानिसहरूलाई ‘एसएमसी’ एपमा लगानी गर्न बाध्य पार्थे ।
यो ठगी धन्दा पूर्ण रूपमा पिरामिड शैलीको ‘पोन्जी स्किम’ मा आधारित रहेको पाइएको छ । जसमा नयाँ सदस्य थपेबापत आकर्षक कमिसन र दैनिक आम्दानीको प्रलोभन दिइन्थ्यो । अनुसन्धानमा नयाँ सदस्यबाट उठाइएको पैसा नै पुरानालाई प्रतिफलका रूपमा दिने गरिएको र ‘ब्ल्याकरक’ जस्ता काल्पनिक कोषमा लगानी गर्दा दैनिक १.२ प्रतिशतसम्म प्रतिफल पाइने भन्दै भ्रम फैलाइएको खुलेको छ ।
हालसम्म यस प्रकरणमा २५५ ओटा उजुरीहरू प्राप्त भएको र ठगीको रकम अझै बढ्न सक्ने देखिएको प्रहरीको भनाइ छ । साइबर ब्युरोले थोरै कमिसनको लोभमा आफ्नो बैंक खाता वा क्यूआर कोड अपरिचित व्यक्तिलाई प्रयोग गर्न नदिन र ‘मनी म्युल’ नबन्न सर्वसाधारणलाई चेतावनी दिएको छ ।
प्रहरीले घरमै बसी भिडिओ हेरेर पैसा कमाउने वा थोरै लगानीमा उच्च प्रतिफल दिने जस्ता भ्रामक विज्ञापनको पछि नलाग्न र कुनै पनि अनलाइन व्यवसायमा जोडिनुअघि त्यसको आधिकारिकता जाँच गर्न अनुरोध गरेको छ । यदि कसैले यस्ता एप वा अनलाइन टास्कमार्फत ठगी गरेको भए तुरुन्त प्रमाणसहित प्रहरीमा उजुरी दिन समेत ब्युरोले आग्रह गरेको छ ।
- Tech pana


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया