

रविको ७२ घण्टा : बालेनसँग गठबन्धनको तयारी, ओलीलाई ‘गुन’ तिर्ने चेतावनी





काठमाडौं : सुप्रिम सहकारी ठगी प्रकरणमा २५८ दिन लामो जेल बसाइपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार रिहा भए।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएसँगै नेपाली राजनीतिमा नयाँ तरङ्ग थपियो।
रिहाइको ७२ घण्टा नबित्दै लामिछानेले देखाएको राजनीतिक सक्रियता, आक्रामक अभिव्यक्ति र रणनीतिक भेटघाटले उनी पुरानो राजनीतिक कोर्सलाई बदल्न मैदानमा उत्रिएको देखिन्छ।
चितवनमा ‘विष’ र ‘निलो क्रान्ति’काे प्रसङ्ग
रिहा भएलगत्तै लामिछानेको पहिलो गन्तव्य बन्यो- उनको निर्वाचन क्षेत्र चितवन। पुस ५ गते शनिबार बिहान भरतपुरको चौबीसकोटीमा गाडीको छतबाट उनले गरेको सम्बोधन भावुक मात्र थिएन, बदला र विद्रोहले भरिएको थियो।
उनले प्रयोग गरेको ‘विष’ को बिम्ब निकै अर्थपूर्ण थियो। ‘तिनले (पुराना दल/सत्ता) मेरो शरीरमा हालिदिएको विष बोकेर म आज पनि बाँचेको छु। म यो विष लिएरै पनि लड्छु’, उनले भनेका थिए।
यसले उनीमाथि लगाइएका मुद्दाहरूलाई उनी राजनीतिक प्रतिशोधका रूपमा लिइरहेका छन् र अब रक्षात्मक होइन, आक्रामक भएर प्रस्तुत हुने सन्देश दिएका छन्।
उनले ‘निलो क्रान्ति’ र ‘जेन-जी’ को रगतको प्रसङ्ग जोडेर आफूलाई नयाँ पुस्ताको भावनासँग एकाकार गराउन खोजे।
पुराना दलहरूलाई ‘जिरो’ बनाए मात्र देश ‘हिरो’ हुन्छ भन्ने उनको अभिव्यक्तिले आसन्न निर्वाचनमा रास्वपाले ‘नो नट अगेन’ भन्दा पनि कडा रूपमा पुराना दलहरूविरुद्ध मोर्चाबन्दी गर्ने संकेत गरेको छ।
‘जेन-जी’ को सारथी बन्ने रणनीतिक कदम
चितवनबाट काठमाडौं ओर्लिनेबित्तिकै लामिछानेले कुनै राजनीतिक दलको नेता वा कार्यकर्तालाई भेटेनन्; उनी सिधै बबरमहलस्थित ‘जेन-जी शहीद परिवार कल्याणकारी संस्था’ को कार्यालय पुगे।
यो कदम रणनीतिक रूपमा निकै महत्त्वपूर्ण छ। हालैको जेन-जी आन्दोलनले पुराना दलहरूप्रति वितृष्णा र नयाँ नेतृत्वको भोक जगाएको छ।
आन्दोलनमा सहादत प्राप्त गरेका परिवार र घाइतेहरूलाई भेटेर लामिछानेले सन्देश दिए- ‘म तिमीहरूको आन्दोलनको स्वामित्व लिन्छु र न्यायका लागि लड्छु।’
उनले पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दा पनि ‘यो उत्सव मनाउने बेला होइन, बालबालिकाको रगतको छिटा पुछ्ने बेला हो’ भन्नुले उनी जेन-जी सेन्टिमेन्टलाई आफ्नो राजनीतिको मुख्य आधार बनाउन चाहन्छन् भन्ने देखिन्छ।
बालुवाटार मिसन
पुस ६ गते आइतबार साँझ लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग गरेको भेट केवल शिष्टाचार थिएन। यो भेटको केन्द्रमा थियो- फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन।
लामिछानेलाई राम्रोसँग थाहा छ कि अहिलेकै परिस्थितिमा चुनाव भए पुराना दलहरूलाई भन्दा आफूलाई फाइदा पुग्छ। त्यसैले उनले प्रधानमन्त्रीसँग सिधै सोधे- ‘चुनाव तोकिएकै मितिमा हुन्छ कि हुँदैन?’
प्रधानमन्त्री कार्कीले ‘मेरो दिमागमा गोली चलेको र चुनाव सम्पन्न भएको दुई दृश्य मात्र छ’ भन्दै चुनावको ग्यारेन्टी गरेपछि लामिछाने केही आश्वस्त देखिए।
उनले संसद् पुनर्स्थापनाको हल्ला चलेको भन्दै त्यसलाई ‘षड्यन्त्र’ को संज्ञा दिए। ‘जनताका मुद्दा बोल्दा माइक काट्ने संसद् ब्युँताउन खोज्ने?’ भन्दै चेतावनी दिए।
पुस ७ गते काठमाडौं जिल्ला अदालतमा तारिख बुझाउन पुग्दा लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति गरेको टिप्पणीले उनी ओलीप्रति कति रुष्ट छन् भन्ने देखाउँछ।
ओलीले आफूले रविलाई ‘गुन लगाएको’ भनि दिएको अभिव्यक्तिको जवाफमा रविले भने, ‘केपी ओलीजीले मलाई ठूलो गुन लगाउनुभएको छ। शरीरमा किला ठोकेजस्तो भएको छ, अब यो गुन तिर्न सबै जिल्ला अदालत धाउँदैछु।’
बालेनसँगको ७ घण्टा र एउटै गाडीको यात्रा
रवि लामिछानेको रिहाइपछिको सबैभन्दा महत्त्वपूर्ण घटना पुस ७ गते सोमबार राति घट्यो।
काठमाडौं महानगरका मेयर बालेन शाह र रवि लामिछानेबीच असिम शाहको कमलपोखरीस्थित अफिसमा सात घण्टा लामो वार्ता भयो। विगतमा फाट्टफुट्ट भेट भए पनि यो स्तरको गहन र लामो छलफल पहिलो पटक भएको थियो।
वार्तापछि रवि र बालेन छुट्टाछुट्टै जाँदा पुरानै दलहरूले बाजी मार्ने र जेन-जी आन्दोलनको मर्म मर्ने निष्कर्षमा दुवै नेता पुगेका छन्।
रविले सार्वजनिक रूपमै ‘नयाँ शक्तिहरू मिल्नका लागि पहिलो त्याग रवि लामिछानेले गर्नेछ’ भन्नुले उनी बालेनलाई नेतृत्व स्वीकार गर्न वा शक्ति बाँडफाँटमा लचिलो बन्न तयार भएको बुझिन्छ। बालेन निकटस्थहरूले दर्ता गरेको नयाँ दल र रास्वपाबीचको सहकार्य मोडलबारे पनि वार्तामा छलफल भएको छ।
वार्ता सकिएपछि राति दुवै नेता एउटै गाडीमा बाहिरिनुले सांकेतिक रूपमा ‘अबको राजनीतिक यात्रा एउटै गाडीमा (एकै मोर्चामा) हुनेछ’ भन्ने सन्देश दिएको छ। मध्यस्थकर्ता असिम शाहले यसलाई ‘कथाको सुखद सुरुवात’ भन्नुले सहमति नजिक पुगेको पुस्टि गर्छ।


खबर सबै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?











प्रतिक्रिया