
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु

राजेन्द्र खनाल, जितपुर | कात्तिक सकिएर मंसिर लाग्नै लाग्दा कपिलवस्तु जिल्ला व्यापार मेला र महोत्सवमय बनेको छ । जिल्लाका ठाउँठाउँमा मेला महोत्सवहरुको आयोजनाले यहाँको व्यवसायिक क्षेत्र उत्साहित बनेको छ भने नागरिकहरुमा पनि मेला महोत्सवको रौनकता बढेको छ ।
जिल्लामा यतिबेला सँगसँगै जस्तो तीन ठूला महोत्सव आयोजना हुँदै छन् । जसले गर्दा यहाँ उत्पादित वस्तुको बजारीकरण तथा व्यवसायिक प्रर्वद्धनमा समेत मद्धत मिल्ने धेरै व्यवसायीहरुको विश्वास छ ।
उपभोक्ताहरूले पनि विविध उत्पादन र सेवाहरूको अवलोकन तथा खरिद गर्ने अवसर भिन्न भिन्न स्थानमा पाउने भएका छन् । यतिबेला जिल्लाको बाणग्ांगा नगरपालिकाभित्र दुई फरक फरक स्थानमा मेला आयोजना हुँदै छन भने यही बेला बुद्धभुमि नगरपालिकाको गोरुसिँगेमा पनि मेला आयोजनाको भव्य तयारी थालिएको छ ।
यसरी आयोजना हुने महोत्सवमा स्थानीय उत्पादनदेखि आयातित सामग्रीसम्म राखिने गरेको छ, जसले गर्दा व्यवसायिक विस्तारसँगै उत्पादनको प्रचार–प्रसारमा सहयोग पुग्ने अपेक्षा आयोजकहरुको छ ।
व्यवसायीहरूका अनुसार, यसले स्थानीय कृषकदेखि उद्योगीसम्म सबैलाई फाइदा पु¥याउनेछ । “महोत्सवहरूले व्यापार मात्र बढाउँदैनन्, स्थानीय उत्पादनलाई पहिचान दिलाउन ठूलो सहयोग गर्छन्,” एक व्यवसायीले बताए ।
महोत्सवमा दैनिक रूपमा हजारौंको संख्यामा आगन्तुक आउने गर्छन् । सांगीतिक कार्यक्रम, सांस्कृतिक प्रस्तुति र विभिन्न मनोरञ्जनका साधनहरूले वातावरणलाई थप रमाइलो बनाइदिएको हुन्छ । मंसिरको प्रारम्भसँगै कपिलवस्तु व्यापारिक उत्सवको केन्द्र बनेको छ भने महोत्सवले आर्थिक गतिविधि वृद्धि र स्थानीय व्यवसाय प्रवर्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ।
मायादेवी रंगशालामा प्रथम कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ बोडगाउँ स्थित मायादेवी रंगशालामा पहिलो पटक व्यापार मेला तथा औधोगिक प्रर्दशनी आयोजनाका लागि तयारी थालिएको छ । राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधीकरण’ भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रथम कपिलवस्तु व्यापार मेला, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ मा मेला स्थलमा दर्शकका लागि भिन्न स्वरुप र अकर्षकीय चिजवस्तु पस्कने उद्धेश्यका साथ उद्योग व्यापार संघ कपिलवस्तुले केही फरक पन दिने तयारी पनि गरिरहेको छ ।
मेलामा टिकट काटेर प्रवेश गर्ने दर्शकले टिकट मुल्य बरावरकै सर्फ उपहार पाउने भएका छन् । यहि मंसिर ५ गतेदेखि १७ गतेसम्म बाणगंगा नगरपालिका–८, बोडगाउँस्थित मायादेवी रंगशालामा आयोजना हुने उक्त मेलामा आयोजकले मेलामा पुग्नेहरुका लागि यस्तो मौका दिएको हो ।

उद्योग व्यापार संघ कपिलवस्तुको आयोजनामा हुने यो मेला व्यापार मात्र होइन, मनोरञ्जन, उपहार, ज्ञान र अनुभव सहितको बहुमुखी उत्सवका रूपमा प्रस्तुत हुने मेला मूल आयोजक समिति संयोजक खिमानन्द पौडेलले जानकारी दिए।
पौडेलका अनुसार मेलामा प्रवेश टिकट १०० रुपैयाँ राखिएको छ । टिकट काट्ने हरेक दर्शकले १०० रुपैयाँ बराबरको “गाईछाप सर्फ पाउडर निःशुल्क प्राप्त गर्ने भएकाले टिकट शुल्क प्रतिफलमै रूपान्तरण हुनेछ । त्यसमाथि, हरेक दिन एक जनाले लक्की ड्रमार्फत साइकिल उपहार पाउने छन् ।
मेलामा आउने सबैका लागि फ्री कफी तथा निःशुल्क स्वास्थ्य परीक्षण जस्ता जनमैत्री सेवाहरू उपलब्ध गराइनेछन्।
आयोजकले यस वर्षको मेलालाई कपिलवस्तुको आर्थिक, सामाजिक र सांस्कृतिक उचाइसँग जोडिएको ऐतिहासिक पहिचानयुक्त कार्यक्रम बनाउने लक्ष्य लिएको छ। मेला क्षेत्रमा कृषि–उद्यम, स्थानीय उत्पादन, घरेलु तथा साना उद्योग, पर्यटन सम्भावना, स्थानीय हस्तकला, आधुनिक प्रविधि र विभिन्न व्यापारिक स्टलहरू प्रदर्शनीमा रहनेछन्।
युवाहरुलाई लक्षित गर्दै कला–संस्कृति कार्यक्रम, फेसन शो, बाल उद्यान, खानेकुरा स्टल, स्थानीय परम्परागत उत्पादन प्रदर्शन लगायत आकर्षक गतिविधिहरू राखिने मेला तयारी समितिले जनाएको छ। स्थानीय व्यवसाय, कृषि उत्पादन, नयाँ प्रविधि र पर्यटकीय आकर्षण एकै ठाउँमा हुने भएकाले आयोजनाले स्थानीय अर्थतन्त्र सुदृढ गर्ने, रोजगारी बढाउने र सम्बन्धित क्षेत्रको बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
मेलाका मुख्य आकर्षणमा ‘कपिलवस्तु डान्सिङ स्टार प्रतियोगिता’, विभिन्न सांगीतिक कार्यक्रम, फुड फेस्ट, प्राविधिक प्रदर्शनी, कृषि नवप्रवर्तन प्रदर्शन जस्ता थुप्रै गतिविधि समेटिनेछन्। आयोजकले मेलामा करिब १ लाखभन्दा बढी दर्शक भित्रिने अनुमान गरेको छ ।
यो मेला आयोजक समिति अन्र्तगत स्टल तथा स्थल व्यवस्थापन उप समितिका संयोजक माधव भाट क्षेत्रीका अनुसार ३ सय ५० वटा विभिन्न स्टलहरु रहने छन् । उनले मेला स्थलमा सिंह दरबारको झल्को दिने सचिवालय, २० वटा होटलहरुका लागि स्टल र ६ वटा अटो प्यभिलियन स्टलहरु रहने बताए । धमाधम व्यवसायीहरुले स्टलहरु ब्ुाक पनि गरिरहेको भन्दै उनले यहाँ नयाँ स्थान पनि भएकाले व्यवसायीहरुमा पनि फरक उत्साह देखिको बताए । मेलामा फिस टर्नेल, विश्वको टलेस्ट डग र स्मालेस्ट डग पनि मेलामा प्रर्दशनीका लागि राखिने छ । केही स्टलहरु दर्शकका लागि निःशुल्क पनि रहने उनले जानकारी दिए ।
बुद्ध रंगशालामा १६औं कपिलवस्तु महोत्सवको तयारी तिव्र
उद्योग व्यापार संघले प्रथम कपिलवस्तु महोत्सव समापन गरेको भोलिपल्ट देखि बाणगंगाको बुद्ध रंगशालामा बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा १६औँ कपिलवस्तु महोत्सव आयोजना हुने तयारी छ । मंसिर १८ गतेदेखि पुस १ गतेसम्म सञ्चालन हुने १६औं कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ को तयारी सुरु भएको आयोजक संस्था बाणगंगा वेलफेयर सोसाइटीले जानकारी दिएको छ ।
बाणगंगा वेलफेयर सोसाइटीले आन्तरिक तयारीका कामहरू केही दिनदेखि निरन्तर रूपमा जारी रहेको र अबको तयारी भौतिक संरचना निर्माणमा केन्द्रित रहेको बताएको छ । सोसाइटीका अध्यक्ष राजकुमार खाणले मेलालाई भव्य तवरबाट संचालन गर्न व्यापक तयारी भइरहेको बताए ।

खाँणले कपिलवस्तुको ऐतिहासिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिचयलाई देश–विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको बताए । उनले गत वर्षको १५औं महोत्सवको मञ्चमै यस वर्षको मिति घोषणा गरिएको स्मरण गर्दै भने, “यो महोत्सव कुनै व्यक्तिगत वा प्रतिस्पर्धात्मक स्वार्थ होइन, समग्र कपिलवस्तुको पहिचान र समृद्धिको अभियान हो ।”
अध्यक्ष खाँणले महोत्सवको सफलताका लागि आम नागरिक, उद्योगी, व्यवसायी र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताउँदै शान्ति सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए ।
सोसाइटीका महासचिव बुद्धिबहादुर रोकाहा क्षेत्री ‘दिनेश’ ले महोत्सवले जिल्लाको पहिचान, सम्भावना र अवसरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने बताए ।
“कृषि, उद्योग, पर्यटन तथा खेलकुदमा लगानी, युवाको हातमा सुनौलो बिहानी” भन्ने मूल नारासहित १६औं कपिलवस्तु महोत्सव बाणगंगा नगरपालिका जीतपुरस्थित बुद्धरंगशालामा सञ्चालन हुनेछ ।
बुद्धभूमिमा “मम्मी डान्स”
जिल्लाको बुद्धभूमि नगरपालिकामा उद्योग वाणिज्य संघ बुद्धभूमि, कपिलवस्तुले पाचौँ बुद्धभूमि औधोगिक मेला आयोजनाको पनि संगसँगै तयारी थालेको छ । उद्योग वाणिज्य संघ बुद्धभूमिले यहाँ “५औं बुद्धभूमि कृषि, व्यापारिक, सांस्कृतिक, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला–२०८२” आयोजनाको तयारी थालेको हो । यो मेला मंसिर ४ गतेदेखि १६ गतेसम्म बुद्धभूमि नगरपालिका–२, गोरसिङ्गेमा आयोजना हुने भएको छ।
मेलाको उद्देश्य स्थानीय उत्पादनको प्रवद्र्धन, उद्यमशीलता विकास, सीपमूलक आत्मनिर्भरता, र सांस्कृतिक पहिचानको संरक्षण गर्नु रहेको आयोजकले जनाएको छ।

मेलाको प्रमुख आकर्षणमध्ये ‘दोस्रो बुद्धभूमि डान्स स्टार’ प्रतियोगिता विशेष रूपमा प्रस्तुत हुने भएको छ। उक्त प्रतियोगिताका विजेतालाई स्कुटी प्रदान गरिनेछ, जसले युवाहरूमाझ कला र प्रतिभा प्रदर्शनको उत्साह बढाउने अपेक्षा गरिएको छ।
त्यसैगरी, मेलामा ‘मम्मी डान्स आइडल’ प्रतियोगिता, विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता, र विभिन्न सांस्कृतिक प्रस्तुति पनि रहनेछन्।
आयोजक संघका अनुसार, यस प्रदर्शनीमार्फत बुद्धभूमि क्षेत्रमा उत्पादन हुने कृषि तथा उद्योगजन्य वस्तुहरूको बजार विस्तारसँगै स्थानीय उद्यमशीलता र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया