दसैंको खानपानमा कसरी ध्यान दिने ?

राजन सुवेदी | यतिबेला नेपालीहरुका घर घरमा विजया दशमी पर्वको रौनकता बढेको छ । सामान्यतया दसैंमा अरूबेला भन्दा मासुको सेवन अधिक हुन्छ । दसैंका लागि मासुको अत्याधिक प्रयोग गर्ने परम्परा पुरानो हो । मासु आफैँमा अत्यधिक बोसो हुने हुन्छ । त्यसमाथि यस बेलामा थप स्वादका लागि बढी तेल, मसला राखेर पकाउने गरिन्छ ।

चाडपर्वको बेलामा अस्वस्थकर खाना खाने मात्र नभएर खाना पकाउने शैली पनि गलत अपनाइरहेका हुन्छौँ । यसरी जिब्रोको स्वादका लागि गरिएको परिवर्तनले विभिन्न रोगको जोखिमलाई बढाउँछ ।

शरीरको आवश्यकताअनुसार मात्रै मासु र अन्य खानेकुराको सेवन गर्नु उपयुक्त हुन्छ । रातो मासुको बढी सेवनले थाइराइड, मधुमेह, रक्तचाप, मिर्गौला, मुटुको समस्यालगायतका नसर्ने रोगको जोखिम बढाउँछ । रक्तचाप, मुटुको समस्या भएका मानिसले मासुको सेवन गर्दा अत्यधिक ध्यान पु¥याउनुपर्ने हुन्छ ।

रोग लागेका मानिसले खानपानमा ध्यान दिन आवश्यक हुन्छ नै । तर, स्वस्थ मानिसले पनि वर्षमा एकपटक आउने चाडपर्व सोचेर खानपानमा लापरबाही भने गर्नुहुँदैन । दशैंको समयमा खसी वा रातो मासु (चार खुट्टे जनावरको मासु) बढी प्रयोग गरेको पाइन्छ, तर यस्तो रातो मासु स्वास्थका लागि राम्रो मानिँदैन ।

ठिक्क मात्रामा (४० देखि ५० ग्राम) ह्वाइट मिट अर्थात् बोसो र छालारहित सेतो मासु (माछा, कुखुरा वा पलुट्री) को सेवन गर्न एकदम सुरक्षित हुन्छ ।

मासुलाई पकाउने तरिकाले पनि फरक पार्ने हुन्छ । धेरै तेल, चिल्लो, बोसो तथा मसला राखेर पकाइएको मासु वा अन्य खानेकुरा शरीरका लागि हानिकारक हुने गर्दछ । त्यसैले यस्तो कुरामा विशेष ध्यान दिन आवश्यक छ ।

युरिक एसिड, सुगर, डायबिटिज र ब्लडप्रेसर भएका बिरामीले रातो तथा बोसोयुक्त मासु सकभर खानुहुन्न । रक्तचाप तथा मुटुरोगीहरूका लागि मासुको सेवन भन्दा पनि कम तेलमा पकाइएको माछाको सेवन उचित हुन्छ । हरियो सागसब्जी, फलफूलको सेवन गर्नुपर्छ ।

रक्तचापका बिरामीका लागि प्याक्ड खाना, फ्राइड खाना, तेल धेरै भएको खानालाई प्रतिबन्धित गरी दैनिक ४ देखि ५ ग्राम मात्र नुनको सेवन गर्न उचित हुन्छ ।

मधुमेहको समस्या भएका बिरामीका लागि समग्रमा भन्दा हाई प्रोटिन डाइटको सेवन गर्नु उपयुक्त हुन्छ । मधुमेहका बिरामीलाई सकेसम्म कम मात्रामा कार्बोहाइड्रेट दिने गरिन्छ । प्रोटिनमा पनि बोटबिरुवाबाट प्राप्त हुने प्रोटिन मधुमेहका बिरामीका लागि राम्रो हुने हुँदा यस्ता मानिसलाई रिफाइन नगरिएको गेडागुडी, दालको सेवन गर्नु राम्रो हुन्छ ।

दसैंमा बनाइने परिकारमा मसलाको प्रयोग अत्याधिक हुन्छ । घरमै तयार गरिएको मसला प्रयोग गर्नु राम्रो मानिन्छ । अझ दसैंका बेला दीर्घरोगीले विशेष ध्यान दिन जरुरी छ । दसैंमा मनलाग्दी खानपिन गर्दा मधुमेह, उक्त रक्तचाप, मुटु र एसिडका बिमारीमा बढी समस्या देखिन्छ । मासुका परिकारमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी, सुप र धनियाँ धेरै राख्नु पनि उचित होइन । बजारमा पाइने रेडिमेड मसलाको शुद्धतामा ग्यारेन्टी गर्न नसकिने हुँदा यसले शरीरमा मन्द विषको काम गर्न सक्छन् । यस्ता कुरामा ख्याल गर्नुपर्छ ।

दसैंको बेलामा अत्यधिक चिल्लो पदार्थ खाने र बढी मिठाई खाने चलन पनि छ । मधुमेहका बिरामीले गुलियो र चिल्लो पदार्थ खानुहुँदैन । मुटुरोगीका लागि बढी चिल्लो पदार्थ खान निषेध नै छ । दसैं र तिहारमा सेवन गरिने परिकारमा गुलियो र चिल्लोको मात्रा धेरै हुने भएकाले विशेष सावधानी अपनाउनुपर्छ । सेलरोटी, मिठाई, चकलेटलगायतको प्रयोग सकेसम्म सबैले कम गर्दा फाइदा हुन्छ ।

दसैंको बहानामा धेरै धूमपान र मद्यपान नगर्दा नै बेस हुन्छ । धूमपानले मुटु र फोक्सोलाई हानि गर्छ । मद्यपानले मुटुरोगको खतरा बढाउँछ । झन् रोगी त धूमपानबाट टाढै बस्दा राम्रो हुन्छ । दसैं हो भनेर जथाभावी मद्यपान गर्दा सुगर र प्रेसरको समस्या बढ्न सक्छ । मुटुरोगीलाई पनि यसले फाइदा गर्दैन । रक्सी सेवनले रगतमा ट्राइग्लिसेराइडको मात्रा बढाउँछ । जसले मुटुरोग, हृदयाघात र पक्षाघात गराउनमा विशेषभूमिका खेल्छ ।

रक्सी भनेको कार्बोहाइट्रेड हो त्यसैले शरीरको वजन बढाउन तथा रगतमा सुगरको मात्रा उच्च राख्न पनि यसको विशेष भूमिका हुन्छ । वाइन, बियर, जिन, लोकल, छ्याङ आदि रक्सीका प्रकारअन्तर्गत पर्छन् । दसैंमा खानाको मात्रा सबैका लागि एकनास भने हुँदैन । धेरै शारीरिक काम गर्नेले धेरै खानुपर्छ, थोरै काम गर्नेले थोरै खानुपर्छ ।

यस्ता छन मुख्य मुख्य टिप्स

धेरै मसलादार, चिल्लो र चिनीको मात्रा धेरै भएको खानेकुरा खानुहुँदैन । शरीरले पचाउने गरी खानुपर्छ । धेरै खाएको अनुभूति भएमा एक छाक छोड्दा शरीरलाई फाइदा हुन्छ । बजारिया खाने र मिठाईमा विभिन्न तेल हालेर बनाइने भएकाले होममेड खानालाई प्राथमिकता दिनुपर्छ । मासुजन्य खाना कम गर्नुपर्छ र दुग्धजन्य परिकारको सेवनमा जोड दिनुपर्छ । खाना खाएको केही समयपछि तातोपानी सेवन गर्नुपर्छ । रातो मासु धेरैको रोजाइमा पर्छ । तर, सेतो मासुमा बढी जोड दिनुपर्छ । रातो मासुले मधुमेह, पेट तथा आन्द्रामा क्यान्सर लाग्ने सम्भावना बढी हुन्छ । बिहान व्यायाम गर्नुपर्छ । घरमै बसिरहनुहुँदैन । मासुका पारखीले सकेसम्म कुखुरा र माछा खाँदा उपयुक्त हुन्छ । हरियो सागपात र फलफूललगायतका खानेकुरामा बढी ध्यान दिनुपर्छ ।

लेखक : कपिलवस्तुको बाणगंगा ४ ठाकुरापुर निवासी राजन सुवेदी पिपरा अस्पतालका मेडिकल अधिकृत हुन ।

लुम्बिनी दर्पण साप्ताहिकमा प्रकाशित

प्रतिक्रिया

खबर सबै