जेनजी आन्दोलनका नाममा ताेडफाेड र आगजनी गर्नेउपर कानुन अनुसार कार्वाही हुनुपर्छ : बाणगंगा नगरपालिका

Gen-Z आन्दोलनका क्रममा भएको घटनाबारे बाणगंगा नगरपालिकाको विज्ञप्ति

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले भदौ २३ र २४ गते Gen-Z आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ । नगरपालिकाले आन्दोलनका नाममा भएका तोडफोड र हिंसात्मक घटनाप्रति दुःख प्रकट गर्दै सार्वजनिक तथा निजी सम्पत्तिमा आक्रमण गर्नु दुःखद् भएको उल्लेख गरेको छ ।

नगरपालिकाले जारी गरेको विज्ञप्तिमा प्रशासकीय भवन, सार्वजनिक संरचना र निजी सम्पत्तिमा भएको क्षति अतिनिन्दनीय भएको उल्लेख गर्दै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ । साथै, भविष्यमा यस्ता दोहोरिने घटनालाई रोक्न आवश्यक प्रक्रिया अघि बढाइने पनि नगरपालिकाले स्पष्ट पारेको छ ।

विज्ञप्तिमा आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, कर्मचारी तथा पत्रकारमाथि आक्रमण गर्ने, हिंसात्मक गतिविधि गर्ने जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइने उल्लेख छ । यसका लागि सुरक्षाकर्मी, फुटेज, प्रत्यक्षदर्शीको अभिव्यक्ति लगायतका आधारमा अपराधमा संलग्न व्यक्तिहरूलाई पहिचान गरिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले कुनै पनि अराजक गतिविधि नगरवासीको हित विपरीत हुने भन्दै सामाजिक सद्भाव, सांस्कृतिक मूल्य र विकास प्रक्रियामा नकारात्मक असर पार्ने कार्य नगरी शान्ति र एकता कायम राख्न सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

खबर सबै