

भलवाडका सामुदायिक वनहरुको लाखौँको लगानी ‘खिया र झाँडी’मा सीमित, जिम्मेवार को ?





साझाकुरा, भलवाड | २०७७ सालमा वडाभित्रका ९ वटा सामुदायिक वन र लुम्बिनी प्रदेश सरकारको लाखौँ लगानीमा तामझामका साथ उद्घाटन गरी संचालन गरिएको भलवाड सामुदायिक काष्ठ मिल तथा फर्निचर उद्योग अहिले चल्न नसक्दा जीर्ण बनेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ जिनुवामा खोजिपुर सामुदायिक वनको स्वामित्वमा रहेको यो फर्निचर उद्योग उद्घाटनको पहिलो वर्ष मात्रै सामान्य चलेको भए पनि त्यसयता ठप्प छ । उद्योगका मेसिन तथा उपकरण अहिले खिया लागेका छन् भने पुनः प्रयोगमा पनि आउने अवस्था सकिएको छ । अहिले उद्योगको संरचना नै घाँस र झाँडीमा परिणत भएको छ ।
लगानीकर्ता सामुदायिक वन समुहहरुमा देखिएको तिक्तता र संचालनको स्वामित्व लिएको संस्था खोजिपुर सामुदायिक वनको अटेरीपन नै यो उद्योग बन्द हुनुको प्रमुख कारण बुझिएको छ ।
फर्निचर उद्योग संचालक समितिका कोषाध्यक्ष नारायणबहादुर थापाका अनुसार कार्यसमितिको म्याद दुई वर्ष अघि नै सकिएको र त्यस पछि नयाँ कार्यसमिति पनि बनेको छैन । उनले पछिल्लो दुई वर्ष यता उद्योग संचालनका सम्बन्धमा के कस्तो निर्णय वा प्रक्रिया अघि बढेको छ आफूलाई थाहा नभएको बताए ।
जग्गाधनी भन्छन्: “मिल हटाइदेऊ!”
यस्तै मिल संचालक समितिले जग्गा भाडामा लिएर उद्योग स्थापन गरेको भए पनि हाल सम्म पछिल्लो ५ वर्षको जग्गाको भाडा पनि नतिरेको पाइएको छ । जग्गा धनी स्थानीय तिलकराम पौडेलको नाममा रहेको जग्गामा भलवाड सामुदायिक काष्ठ मिल तथा फर्निचर उद्योग बनाइएको थियो । जग्गाधनीसँगको सम्झौता अनुसार वार्षिक २० हजार जग्गाको भाडा तिर्ने र प्रत्येक वर्ष १० प्रतिशत भाडादर वृद्धि पनि गर्ने सम्झौता थियो । जग्गाधनी पौडेलले सम्झौताको पहिलो वर्षको भाडा हात पारेका भए पनि त्यस यताका पाँच वर्षको भाडा उनले पाएका छैनन् ।
उनी भन्छन्, ‘मैले पाँच वर्षको भाडा पाएको छैन, यो मिल बरु मेरो जग्गाबाट हटाउने उपाय के होला त्यो गर्न पाए हुने थियो ।’
सामुदायिक वन र सरकारी कोषबाट २९ लाख डुब्यो !
वाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडका नौ वटा सामुदायिक वनहरुले भलवाड सामुदायिक काष्ठ मिल तथा फर्निचर उद्योग संचालन गर्न समान रुपमा १ लाख १५ हजारका दरले सबैले आ–आफ्नो संस्थाबाट आर्थिक लगानी गरेका थिए । यसबाहेक लुम्बिनी प्रदेश सरकारबाट १८ लाख ३५ हजार अनुदान उपलब्ध भएको थियो । कुल रु. ५० लाख लागत अनुमान गरि निर्माण गरिएको सो काष्ठ फर्निचर उद्योगमा हाल सम्म २९ लाख ५ हजार रकम लगानी भएको देखिन्छ । तर यति ठूलो रकम अहिले खिया लागेको छ । संरचनामा झाँडी पलाएको छ ।
गत वर्ष माघ महिनामा यहाँका लगानीकर्ता सामुदायिक वन उपभोक्ता समुहका अध्यक्षहरुको एक बैठकले आफुहरु लगानीको रकमसहित फर्निचर उद्योगबाट बाहिरीने र यसको सबै जिम्मा खोजिपुर सामुदायिक वनले लिनुपर्ने निर्णय गरेको एक स्रोतले बताएको छ । खोजिपुर सामुदायिक वनले पनि सबै वन समुहको लगानी रकम फिर्ता गर्ने र उद्योगलाई आफै संचालनमा ल्याउने बताएको थियो । तर अहिले सम्म पनि लगानीको रकम सामुदायिक वन समुहरुले नपाएको बुझिएको छ ।
एक सामुदायिक वनका अध्यक्षले भनेका छन्, ‘यो मिल संचालनका नाममा यहाँका सामुदायिक वनहरुको रकम जम्मा गर्ने र सरकारको समेत अनुदान खाने खेल मिल संचालक समितिले गरेको छ, हामीलाई हाम्रो रकम जसरी पनि फिर्ता चाहिन्छ भनेका छौँ ।’
सामुदायिक लगानीको मिल धरासायी
विशेष गरी भलवाडका सामुदायिक वनबाट उत्पादित काठ भलवाडमै प्रशोधित हुने आश्वासनका साथ यो फर्निचर उद्योग संचालन गरिएको थियो । तर यहाँको काठ यही प्रोशिधत हुने र नागरिकले सहजता पाउने नाममा वन उपभोक्ता सदस्यहरुलाई नै झुक्याउने खेल भएको पुष्टी भएको छ ।
सो उद्योग निर्माण समितिका संयोजक दिपक थापा हुन । थापा खोजिपुर सामुदायिक वनका अध्यक्ष पनि हुन । थापाले अब सबै वनको पैसा खोजिपुर सामुदायिक वनले फिर्ता दिने र उद्योगलाई आफ्नो संस्थाले नयाँ ढंगले संचालन गर्ने दाबी गरेका छन् । उनका अनुसार हाल वनको खातामा पैसा नभएका कारण केहि रकम तिर्न समय लागेको बताए । उनले यहि आर्थिक वर्षमै सबैभन्दा पहिला उद्योगमा लगानी भएका सामुदायिक वनहरुको रकम फिर्ता दिने र संस्था नविकरण तथा कर तिरेपछि खोजिपुर सामुदायिक वनले काष्ठ मिल संचालनको ठेक्का लगाउने साझाकुरासँग बताए । उनको सोही भनाईलाई आधार मान्ने हो भने, गत वर्षको वनको वार्षिक साधारणसभाबाट ११ लाख रकम उक्त उद्योगमा लगानी गरेका सामुदायिक वन उपभोक्ता समुहलाई फिर्ता दिने भनी खोजिपुर सामुदायिक वनले कार्यसमितिबाट निर्णय पनि गरेको थियो । तर संस्थाको खातमा बजेट नहुदा उक्त रकम विनियोजन हुन सकेन । २०८१/०८२ को आर्थिक वर्ष सकिदा सम्म पनि उक्त रकम लगानीकर्ता कुनै पनि सामुदायिक वनहरुले फिर्ता नपाएपछि यो विषय पुनः सतहमा आएको हो । यस विषयलाई अब चाडैँ नै आफुले समाधान गर्ने उद्योग संचालक समितिका अध्यक्ष थापाले दाबी गरेका छन् । यसका लागि करिब २० लाख रकम आवश्यक देखिएको हुँदा उक्त रकमको व्यवस्थापन लगत्तै सबै समस्या समाधान हुने बताए ।
उद्योग संचालन भएको अवधिमा झण्डै ९ लाख आम्दानी भएको बताइएको छ । तर पछि आम्दानीको रकम मिल मै खर्च भएको समितिले देखाएको एक सामुदायिक वनका अध्यक्षले बताएका छन् । सामुदायिक वनहरुको सामुहिक लगानीमा बनेको उद्योग धरासायी बन्दा भलवाडमै नीजि क्षेत्रबाट काष्ठ मिल संचलानमा आएको छ ।
भलवाडका सामुदायिक वनहरुबाट वार्षिक झण्डै ५० हजार क्युफिट बढी काठ लिलाम हुने गरेको छ । उत्तरको चुरे क्षेत्र सम्म फैलीएको भलवाडका सामुदायिक वनको करिब २ हजार ५ सय हेक्टर क्षेत्रफलमा हरेक वर्ष काठ उत्पादन हुँदै आएको छ ।
उत्तरमा अर्घाखाँची जिल्लाको सिमाना देखि सुरु हुने चुरे क्षेत्रमा खुतखुते सामुदायिक वन, अमृते सामुदायिक वन, काईलीचौर सामुदायिक वन र खोजिपुर सामुदायिक वनले सो क्षेत्र ओगटेको छ भने भलवाडको समथर भुभागमा सरेपानी सामुदायिक वन, कोटिहवा सामुदायिक वन, सहारा सामुदायिक वन, गौतमबुद्ध सामुदायिक वन, नमुना सामुदायिक वन, जन जागरण सामुदायिक वन र कालिका सामुदायिक वनले ओगटेको छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया