तिलौराकोट विश्व सम्पदाबाट वञ्चित : तीन वर्षको कूटनीतिक प्रयास असफल

पुरातात्त्विक तथा ऐतिहासिक स्थल शाक्यवंशीय राजा शुद्धोदनको राजधानी तथा प्राचीन कपिलवस्तु दरबार तिलौराकोट सहर (प्राचीन कपिलवस्तु) विश्व सम्पदामा सूचिकृत हुन सकेन ।

फ्रान्सको पेरिसमा भइरहेको युनेस्कोको ४७औं सेसनमा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रस्ताव छलफल हुँदा विश्व सम्पदामा सूचिकृत गर्ने विषय पारित हुन सकेन । अस्वीकृत हुन पुग्यो । शुक्रबार छलफल सुरु भएर नसकिएपछि शनिबार बिहान छलफल हुँदा विश्व सम्पदामा सूचिकृत गर्ने प्रयास अपूरो हुन पुग्यो ।

युनेस्कोको मुख्य प्राविधिक सल्लाहकार इकोमस ९इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एन्ड साइट्स० ले मूल्यांकन गरी दिएको प्रतिवेदनका आधार सूचिकृत प्रयास असफल भयो । कार्य सूचीमा छलफल हुनुअघि नै इकोमसले तिलौराकोटको प्रस्ताव डिफर्ड ९स्थगन० मा राख्ने सिफारिस गरेको थियो । कुनै पनि मुलुकले नेपालको पक्षमा संशोधन प्रस्ताव राखेको भए प्रस्ताव पारित हुने सम्भावना हुन सक्थ्यो एक पुरातत्त्व अधिकृतले भने, ‘तर त्यसो हुन सकेन ।’ यसले नेपालको कूटनीतिक पहल कमजोर भएको देखाएको उनले बताए । तीन वर्षदेखिको अथक प्रयास र लाखौं रकम खर्च व्यर्थ गएको छ ।


शाक्यवंशीय राजधानी तिलौराकोट ९प्राचीन कपिलवस्तु०लाई सम्पदा सूचीमा सूचिकृत गराउन र बुद्ध जन्मस्थल लुम्बिनीलाई सम्भावित खतरामा राख्न नहुने विषयमा हुने छलफलमा भाग लिन संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डे नेतृत्वमा टोली फ्रान्स गएको थियो । टोली हेरिटेज डिप्लोमेसीमा कमजोर देखिँदा लामो समयदेखिको प्रयास असफल हुन पुगेको लुम्बिनी विकास कोष सदस्य सचिव सानुराजा शाक्यले बताए ।

११ वर्षदेखि भइरहेको उत्खनन, अन्वेषणले पुरातात्त्विक सामग्री र भग्नावशेष इसा पूर्व आठौं शताब्दीसम्मका रहेको पुष्टि भएको छ । पुरातत्त्वविद्हरूले तिलौराकोट दक्षिण एशियामा सबैभन्दा सुरक्षित, सग्लो र महत्त्वपूर्ण ऐतिहासिक सम्पदा स्थल भएको बताएका छन् ।

युनेस्कोले तिलौराकोटलाई सन् १९९६ मा टेन्टेटिभ वर्ल्ड हेरिटेज साइटको सूचीमा राखेको थियो । त्यस यतादेखि त्यो सूचीभन्दा माथि उठ्न सकेको छैन । त्यसपछि सन् २०२३ मा आएर फेरि प्रक्रिया अगाडि बढाउँदै अहिले सरकार नै वर्ल्ड हेरिटेज स्थलमा इन्स्क्राइब गर्न कस्सिएर लागेपनि सफल हुन सकेको छैन ।

यस पटक विश्वभरबाट प्रस्ताव भएका ३२ साइटलाई नोमिनेसन गर्ने नगर्ने विषयमा छलफल भैरहेको छ । जसमध्ये २४ वटा सांस्कृतिक, ७ वटा प्राकृतिक र एउटा मिक्स साइट छन् । ६ जुलाईबाट सुरु भएको सेसन १६ जुलाईसम्म हुनेछ ।

प्रतिक्रिया

खबर सबै