लुम्बिनी प्रदेशसभा सदस्य रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

समानुपातिक प्रदेशसभा सदस्य उनीविरुद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता सुमन भने फरार छिन् । पर्साको पोखरिया बस्ने आशा कुमारी चौहानले बैंकिङ कसुरमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन् । 

यसैबीच जिल्ला प्रहरी कार्यालय पर्साले असार ३ गते बर्दिया प्रहरीलाई एक पत्र लेखी सुमनलाई पक्राउ गरी बुझाइदिन आग्रह गरेको छ ।  सुमन बर्दियाकी भएकाले प्रहरीले सम्बन्धित जिल्लाको प्रहरीलाई पत्राचार गरेको हो ।  आशा कुमारी चौहानको जाहेरीअनुसार सुमन बैंकिङसम्बन्धी कसुर मुद्दामा फरार रहेकाले उनलाई पक्राउ गरी तथा उनको घर खानतलासी गरी जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाउन आग्रह गरिएको छ । 

जनमत पार्टीका प्रदेश सभा सदस्य रायमाझीले सोही पार्टीका नेतृ आशाकुमारीसँग साढे पाँच लाख रुपैयाँ सापटी लिएकी थिइन् । रकम फिर्ता दिने ग्यारेन्टीका लागि प्रदेश सभा सदस्य रायमाझीले गत भदौ सात गते दुई लाख ७५ हजार रुपियाँ साट्ने गरी त्यति नै बराबरको चेक काटेर अनितालाई दिएकी थिइन् । तर त्यो साट्न जाँदा चेक बाउन्स भएको थियो । यसबारे सुमनलाई पटक–पटक आफूले जानकारी गराएको उनले बताउँदै आएकी थिइन् । 

सुमनविरुद्ध साढे पाँच लाखमध्ये आधा चेक अनादर र आधा बैंकिङ कसुरसम्बन्धी मुद्दा उनले दायर गरेकी हुन् ।  आशा र सुमन दुवै जना जनमत पार्टीका हुन् । पार्टीमै दुवै जनाबिच चिनजान भएको हो । पर्सामा आयोजना भएको कार्यक्रममा आएको वेला आशा र सुमनबिच घनिष्ठ बनेका थिए । यतिसम्म कि, कार्यक्रमका लागि पर्सा आएकी सुमन होटल छाडेर आशाको घर बस्थिन् । 

दुई दिनको पार्टीको कार्यक्रम सके पनि सुमन विभिन्न बहानामा १० दिनसम्म आफ्नो घरमा बस्ने गरेको आशाले बताइन् । १० दिनमै आफ्नो परिवारसँग सुमन घुलमिल हुन सकेको पनि उनले बताइन् । 

पैसा छैन भनेर होटलमा बसेको र खानपिन गरेको २० हजारभन्दा बढी रकम आशाबाटै सुमनले तिर्न लगाएकी थिइन् । ‘दुःखमा परेको छ, पैसा छैन, होटलबालाले बेइज्जत गर्छ, आफ्नै पार्टी नेतृ त्यसमा पनि महिला बेइज्जत हुनु राम्रो होइन भन्दै होटलको पैसा तिर्न सुमनलाई नगदै २० हजार रुपैयाँ पनि दिएको थिएँ,’ आशाले दाबी गरिन् ।

 सुमनले आफूलाई बहिनी भन्ने गरेको र घरका सबै सदस्यले उनलाई माया गर्ने गरेका उनी बताउँछिन् ।  यसबारे सबै कुरा आफूले जनमत पार्टीमा पटक–पटक भने पनि कसैले चासो नदिएपछि मुद्दामा जानुपरेको उनले बताइन् । 

pakrau-purji_8QE69Q19zm

प्रतिक्रिया

खबर सबै