

सिद्धबाबा सुरुङमार्ग : इन्भर्ट र लाइनिङको काम अन्तिम चरणमा




बुटवल-पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्र ‘मृत्यु मार्ग’ का रूपमा परिचित छ। यहाँ हुने सवारी दुर्घटना र पहिरोको जोखिम कम गर्न निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको कामले अहिले गति लिएको छ। हालसम्म सुरुङमार्गको समग्र भौतिक प्रगति ५३।४१ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४७।८ प्रतिशत हासिल भएको छ।
सुरुङमार्गमा अहिले मुख्य रूपमा इन्भर्ट (सुरुङको भुइँको भाग) र लाइनिङ (भित्री ढलानरफाइनल फिनिसिङ) को काम भइरहेको छ। आयोजनाकी इन्जिनियर सविता ज्ञवालीका अनुसार, मुख्य सुरुङतर्फ अब ७९ मिटर मात्र इन्भर्टको काम बाँकी छ। कूल १ हजार ७९ मिटर इन्भर्टमध्ये १ हजार मिटरको काम सकिएको छ।
त्यस्तै, लाइनिङको काम पनि द्रुत गतिमा भइरहेको छ। कूल १ हजार १२६ मिटर लाइनिङमध्ये ६८० मिटर सम्पन्न भइसकेको छ, अब ४५६ मिटर बाँकी छ। मुख्य सुरुङको इन्भर्टतर्फ उत्तरमा ४८० मिटर र दक्षिणमा ५१० मिटर तथा लाइनिङतर्फ उत्तरमा ३२० मिटर र दक्षिणमा ३४० मिटर काम सकिएको आयोजनाले जनाएको छ।
सुरुङमार्गमा तीनवटा बाइपास ९सहायक सुरुङ० निर्माण भइरहेका छन्। यीमध्ये बाइपास(एक १५१ मिटर, बाइपास(दुई १६१ मिटर र बाइपास(तीन १३० मिटर लम्बाइका छन्।
इन्जिनियर ज्ञवालीका अनुसार, बाइपास दुईमा इन्भर्ट र लाइनिङबाहेक अन्य काम भइरहेका छन् भने बाइपास एक र तीनमा इन्भर्टको कामले गति लिएको छ। बाइपास एकको १४५ मिटर इन्भर्ट र ११८ मिटर लाइनिङको काम सकिएको छ। बाइपास तीनको पनि ३६ मिटर इन्भर्टको काम सम्पन्न भएको उनले जानकारी दिइन्।
आयोजनाका अनुसार, २ लेनको मुख्य सुरुङमार्ग १ हजार ८९ मिटर लम्बाइको हुनेछ। लाइनिङ सहित सुरुङमार्गको कुल लम्बाइ १ हजार १२६ मिटर रहनेछ। यसको चौडाइ १०।५ मिटर र उचाइ करिब ७ मिटर हुनेछ।
अन्य काम के-के भए
आयोजनाका अनुसार, पहिरो रोकथामको काम पनि अगाडि बढेको छ। दक्षिणतर्फ कुल २ हजार ३०० वर्ग मिटरमध्ये १ हजार ४९५ वर्ग मिटर र उत्तरतर्फ १ हजार १०० वर्ग मिटरमध्ये ४९५ वर्ग मिटर काम सम्पन्न भएको छ।
एमआरवान माउन्टेन साइडको कुल क्षेत्रफल ७ हजार ४४० वर्ग मिटरमध्ये ४८१ वर्ग मिटर र एमआरटु माउन्टेन साइडको कुल क्षेत्रफल ९ हजार ६२० वर्ग मिटरमध्ये १ हजार ४१४ वर्ग मिटर काम भएको आयोजनाले जनाएको छ। एमआरवान रिभर साइड र एमआरटु रिभर साइडको काम भने अझै सुरू भएको छैन।
अब सुरुङभित्रको भित्तामा कङ्क्रेटिङ गर्ने, सडक निर्माण, ढलान, भेन्टिलेसन, विद्युत् जडान, अक्सिजन व्यवस्थापन, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायतका महत्त्वपूर्ण काम गरिने इन्जिनियर ज्ञवालीले जानकारी दिइन्। त्यसपछि सुरुङमार्गको उत्तर र दक्षिणपट्टि हेलिप्याड निर्माणको काम सुरु हुने उनको भनाइ छ।
ठेक्का र लागत विवरण
चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीइसी)ले निर्माण गरिरहेको यो आयोजनाको विसं २०७८ साल फागुनमा सीएससीइसीसँग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
ठेक्का सर्तअनुसार निर्माण सुरु भएको ५ वर्षभित्र अर्थात विसं २०८३ चैतमा निर्माण सम्पन्न गर्नुपर्नेछ। निर्माणपछि समेत सोही कम्पनीले पाँच वर्षसम्म सुरुङमार्गको मर्मतको काम गर्नुपर्ने शर्त छ। सरकारले पाल्पा(सिद्धबाबा खण्डमा निर्माणाधीन सुरुङमार्ग र नागढुङ्गा सुरुङमार्गका लागि चालु आर्थिक वर्षमा रु दुई अर्ब ६० करोड बजेट विनियोजन गरेको छ।
तराई र पहाड जोड्ने लाइफलाइन मानिने यो सडक अन्तर्गत सिद्धबाबा क्षेत्रमा यसअघि पनि पहिरो र जोखिम रोक्न रकसेट, हाफ टनेल, बेन्च कट लगायतका विभिन्न छ विकल्प प्रयोग गरिए पनि ती सफल नभएपछि सुरुङमार्गको योजना अगाडि बढाइएको हो।
विसं २०१८ सालदेखि खन्न सुरू गरिएको बुटवल(पाल्पा सडकमा २०२८ सालदेखि सवारीसाधनको आवागमन हुन थालेको थियो। अहिले दैनिक २ हजारभन्दा बढी सवारीसाधन यो राजमार्ग हुँदै गुड्छन्। यो राजमार्ग हुँदै पाल्पा, स्याङ्जा, गुल्मी, पोखरा, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र अर्घाखाँचीसम्म आवतजावत हुन्छ।
तिनाउ गाउँपालिका(३, सिद्धबाबा क्षेत्रमा पछिल्लो १० वर्षमा ४ सय ८९ यात्रुले ज्यान गुमाइसकेको ट्राफिक प्रहरीको तथ्यांकले देखाउँछ। यसैले यो सुरुङमार्गले यात्रालाई सुरक्षित बनाउने अपेक्षा गरिएको छ।
उकेराबाट ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया