एयर इन्डियाको विमान दुर्घटनामा एक जीवित, दुई सय ४१ को मृत्यु

भारतको अहमदाबादमा बिहीबार दिउँसो भएको हवाई दुर्घटनामा एक जना बाँचेका छन् । दुई सय ४२ जना सवार उक्त विमान दुर्घटनामा एक जनामात्र भाग्यले बाँचेका हुन् ।

यति भयानक दुर्घटनामा प्रायः सबैको ज्यान जाने गरे पनि एक जनामात्र बाँच्नुलाई भाग्यकै खेल भनी ब्याख्या गरिएको छ । जबकि उनीसँगै रहेका उनका भाइको भने मृत्यु भएको छ ।

एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान बिहीबार दिउँसो अहमदाबादमा उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो । अहमदाबादबाट बेलायतको लण्डन जाँदै गरेको विमान दिउँसो १ः३८ बजे उडान भरेकामा त्यसको दुई मिनेटमै एक अस्पतालको आवासीय चिकित्सक रहेको भवनमा ठोक्किएको थियो ।

विमान ठोक्किना साथ आगो लागेको थियो । पछाडिको एक टुक्रा भने भवनमै अड्किएको थियो ।

भारतीय मूलका बेलायती नागरिक रमेश विश्वास कुमार मात्र दुर्घटनामा बाँचे । उनी विमानको ११–ए नम्बरको सिटमा बसिरहेका थिए । उनले उडान भरेको ३० सेकेन्डपछि विमान ठूलो आवाजका साथ दुर्घटनाग्रस्त भएको बताए । उनले भने, ‘जब म होशमा आएँ, मेरो वरिपरि लाशहरू थिए।’

दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपानी र १२ जना चालक दलका सदस्यसहित २४१ जनाको मृत्यु भएको हो । विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र एक क्यानेडियन नागरिकसहित जम्मा २३० यात्रु थिए ।

यसमा १०३ पुरुष, ११४ महिला, ११ बालबालिका र २ नवजात शिशु थिए। बाँकी १२ जना चालक दलका सदस्य थिए ।

विमान उडान भर्ने बित्तिकै २.५ किलोमिटर टाढा रहेको बीजे मेडिकल एण्ड सिभिल अस्पतालको भवनमा ठोक्किएको थियो। अहमदाबाद सिभिल अस्पतालका डाक्टरहरू सो भवनमा बस्छन्।

जानकारी अनुसार दुर्घटनाको समयमा भवनमा ५० देखि ६० डाक्टरहरू उपस्थित थिए, जसमध्ये १५ भन्दा बढी घाइते भएका छन् ।

गृहमन्त्री अमित शाहले शव पहिचान गर्न १००० भन्दा बढी डीएनए परीक्षण गरिने बताएका छन् । गुजरातमा यति ठूलो संख्यामा परीक्षण गर्ने क्षमता छ। अस्पतालमा डीएनए परीक्षणको काम चलिरहेको छ ।

प्रतिक्रिया

खबर सबै