दिक्क लागिरहन्छ ? यस्तो हुनसक्छ ‘कारण’




मान्छेहरूले दिक्क लाग्ने अनुभव व्यक्तिपरक र विभिन्न कारणहरूले हुन सक्छ भनी उल्लेख गरिएको छ।
शारीरिक, मानसिक, सामाजिक, वातावरणीय र जीवनशैलीसँग सम्बन्धित कारणहरूले दिक्क लाग्ने भावना उत्पन्न हुन सक्छ।
समाधानका उपायहरूमा स्वस्थ जीवनशैली, मानसिक स्वास्थ्य हेरचाह, सामाजिक सम्बन्ध, र विशेषज्ञको सहायता समावेश छन्।
आज कस्तो दिक्क लागेको, आजको दिन कस्तो दिक्क लाग्दो, यो देखेर मलाई दिक्क लागिसक्यो । यस्ता भनाइ हामीले धेरै जनाबाट प्राय सुनिरहेका हुन्छौँ । हामी आफैँले पनि बेलाबेला यही कुरा भनिरहेका हुन्छौँ ।

आखिर मानिसलाई किन दिक्क लाग्छ त ? यसका पछाडि के छन् कारण ?

दिक्क लाग्नु एक व्यक्तिपरक अनुभव हो, यो प्रत्येक व्यक्तिमा फरक-फरक तरिकाले प्रकट हुन सक्छ । कसैलाई यो भावनाले काममा ध्यान केन्द्रित गर्न गाह्रो बनाउँछ भने कसैलाई सामाजिक गतिविधिमा सहभागी हुन मन लाग्दैन । सामान्यतया, यो अवस्थामा व्यक्ति उदास, निराश वा कुनै कुरामा रमाइलो नभएको अनि हैरानी महसुस गर्छ ।

यो अवस्था छोटो समयका लागि हुन सक्छ, जस्तै एक कुनै क्षणको तनाव वा थकानले, दिनको परिस्थितिले यस्तो अनुभव गराइरहेको हुनसक्छ । परिस्थिति अनुसार यो लामो समयसम्म रहन पनि सक्छ । यसो भएमा दिक्क लाग्नु डिप्रेसन जस्ता मानसिक स्वास्थ्य समस्याको कारक पनि बन्न सक्छ ।

दिक्क लाग्नुका कारण

१. शारीरिक कारण

शारीरिक स्वास्थ्य समस्याले पनि दिक्क लाग्ने भावनालाई निम्त्याउँन सक्छ। जस्तो:- थाइराइडको समस्या, भिटामिन डीको कमी, रक्तअल्पता वा निद्राको कमीले व्यक्तिलाई थकान र उदास महसुस गराउन सक्छ । यस्तै, लामो समयसम्म अस्वस्थकर खानपान, व्यायामको कमी वा हर्मोनल असन्तुलनले पनि यस्तो अवस्था निम्त्याउन सक्छ।

२. मानसिक कारण

मानसिक तनाव, एन्जाइटी, र डिप्रेसन दिक्क लाग्नुका प्रमुख कारणहरू हुन् । जब व्यक्ति कुनै कुरालाई लिएर बारम्बार चिन्तित हुन्छ वा आफ्नो जीवनमा नियन्त्रणको अभाव महसुस गर्छ, तब दिक्क लाग्ने भावना बढ्न सक्छ । कुनै ठूलो घटना, जस्तै प्रियजनको मृत्यु, सम्बन्ध विच्छेद वा रोजगारी गुमाउनु जस्ता कारणले दिक्क लाग्ने भावना उत्पन्न गर्न सक्छ ।

. सामाजिक कारण

सामाजिक तथा पारिवारिक झमेलाहरूले पनि मान्छेलाई दिक्क लागिरहेको हुन्छ । अप्ठ्यारा, अभाव, सामाजिक अलगावका साथै परिवार वा साथीहरूसँगको सम्बन्धमा उतारचढाव आउनाले पनि दिक्क लाग्ने अवस्था सिर्जना भएको हुन्छ ।

कार्यस्थलको तनाव, दबाबले पनि दिक्क लाग्ने भावनालाई बढावा दिन सक्छ । विशेष गरी, आधुनिक जीवनशैलीमा सामाजिक सञ्जालको अत्यधिक प्रयोग, तुलनाको भावना र व्यस्त जीवनले व्यक्तिलाई एक्लो र निराश बनाउन सक्छ ।

.वातावरणीय कारण

आफूलाई मन नपर्ने वातावरणीय अवस्था हुँदा मान्छेलाई दिक्क लाग्ने भवना आउँछ । शहरी कोलहाल वा लामो समयसम्म एकान्त वा सुनसान ठाउँमा बस्दा मान्छेहरू ‘साह्रै दिक्क लाग्यो’ भनिरहेका हुन्छन् । निरन्तर एउटै खालको मौसम हुनु सुख्खा उराठलाग्दो दिन, धेरै समयसम्म निरन्तर झरी पर्नु, चर्को घामी लागिरहनु, धेरै दिनसम्म अतिजाडो भइरहनु, अति गर्मी हुनु जस्ता कारण मान्छेलाई दिक्क लागिरहेको हुन्छ ।

५. जीवनशैलीसँग सम्बन्धित कारण

अस्वस्थकर जीवनशैली, जस्तै अनियमित निद्रा, जंक फूडको अत्यधिक सेवन र शारीरिक निष्क्रियताले पनि दिक्क लाग्ने भावनालाई बढाउन सक्छ । यस्तै, लामो समयसम्म एउटै दिनचर्या पछ्याउँदा पनि व्यक्तिलाई जीवन एकनासे लाग्न सक्छ, जसले दिक्क लाग्ने अवस्था सिर्जना गर्छ।

कस्तो पर्छ प्रभाव ?

१. मानसिक स्वास्थ्यमा प्रभाव

लामो समयसम्म दिक्क लाग्ने भावनाले डिप्रेसन वा चिन्ता जस्ता गम्भीर मानसिक स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ। व्यक्तिले आत्मविश्वासको कमी, निराशावाद वा आफूलाई बेकार ठान्ने भावना विकास गर्न सक्छ।

२. शारीरिक स्वास्थ्यमा प्रभाव

दिक्क लाग्ने भावनाले व्यक्तिको खानपान, निद्रा र व्यायामको बानीमा असर पार्न सक्छ । उदाहरणका लागि, कसैले धेरै खाने वा खाना छोड्ने गर्न सक्छ, जसले तौल बढ्ने वा घट्ने समस्या निम्त्याउँछ। यस्तै, निद्राको समस्याले थकान र कमजोरी बढाउँछ।

३. सामाजिक र व्यावसायिक जीवनमा प्रभाव

दिक्क लाग्दा व्यक्तिको सामाजिक सम्बन्ध र कार्यक्षमतामा कमी आउन सक्छ । व्यक्तिले परिवार वा साथीहरूसँग समय बिताउन मन नलाग्ने वा कार्यस्थलमा ध्यान केन्द्रित गर्न नसक्ने समस्या भोग्न सक्छ। यसले सम्बन्धमा तनाव र काममा कमजोर प्रदर्शन निम्त्याउन सक्छ।

समधान के ?

१. स्वस्थ जीवनशैली अपनाउने

-दैनिक कम्तीमा ३० मिनेटको शारीरिक गतिविधि गर्ने, जसले एन्डोर्फिन हार्मोन उत्पादन गर्छ, जसले मनलाई खुसी बनाउँछ।

-सन्तुलित आहारमा भिटामिन, खनिज र प्रोटिनको मात्रा बढाउनाले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार हुन्छ।

-राति कम्तीमा ७-८ घण्टा सुत्ने बानीले दिमागलाई ताजा राख्छ।

२. मानसिक स्वास्थ्यको हेरचाह

-ध्यान गर्ने, लामो श्वास लिँदै छाड्दै गरी अभ्यास गर्ने, वा तनाव कम गर्न विभिन्न उपाय अपनाउने ।

-यदि दिक्क लाग्ने भावना लामो समयसम्म रहन्छ भने, मनोवैज्ञानिक वा परामर्शदातासँग कुरा गर्नु फलदायी हुन्छ।

-आफ्नो भावना व्यक्त गर्ने, परिवार वा नजिकका साथीहरूसँग आफ्ना भावनाहरू साझेदार गर्नाले मन हल्का हुन्छ।

३. सामाजिक सम्बन्ध ध्यान दिने

सामाजिक गतिविधिहरूमा सहभागी हुने, नयाँ मानिसहरूसँग भेटघाट गर्ने वा पुराना साथीहरूसँग समय बिताउने । यस्ता कार्यले दिक्क लाग्ने भावनालाई कम गर्न सक्छ । सामाजिक सञ्जालको प्रयोगलाई सीमित गर्नु पनि महत्त्वपूर्ण छ ।

४. रचनात्मक र उत्पादनमुलक काममा लाग्ने

-नयाँ सीप सिक्ने, नयाँ कुरा सिक्नाले मनलाई उत्साहित राख्छ।

-रुचिका गतिविधिमा सामेल हुने, चित्रकला, लेखन वा केही कुरा निर्माणमा लाग्ने । मनपर्ने गीत सुन्ने, सिनेमा हेर्ने वा खेलकुदमा सहभागी हुने ।

-आजको दिनमा केही गरिसक्छु भनेर कुनै लक्ष्य निर्धारण गरी त्यसमा केन्द्रित हुँदा दिक्क लाग्ने कारकमा ध्यान जाँदैन ।

५. विशेषज्ञको सहायता लिने

यदि दिक्क लाग्ने भावना गम्भीर छ र लामो समयसम्म रहिरहन्छ भने, मनोवैज्ञानिक वा मनोचिकित्सकको सहायता लिनु आवश्यक हुन्छ । डिप्रेशन वा चिन्ता जस्ता अवस्थाहरूमा औषधि वा थेरापी उपयोगी हुन सक्छ।

प्रतिक्रिया

खबर सबै