

पाल्पामा बहुमूल्य यार्सागुम्बा फेला, प्रवेश निषेध

रम्भा गाउँपालिका–२ फोक्सिङकोट र वडा नं. ३ रिमिघा लेकमा यार्सागुम्बा फेला परेको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरको परीक्षणले यो बहुमूल्य जडीबुटी यार्सागुम्बा भएको पुष्टि भएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले बताए।
गत साता रिमिघा लेकमा झाडी सफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्दा यार्सागुम्बाजस्तो वस्तु भेटिएको थियो। उक्त वस्तुको पुष्टिका लागि प्रयोगशालामा पठाइएको थियो। गाउँपालिकाले सो क्षेत्रमा प्रवेश निषेध गरेको छ र सूचना जारी गरी सर्वसाधारणलाई रोक लगाएको छ।
प्रयोगशालाको प्रतिवेदनपछि जिल्ला सुरक्षा समितिको बैठकले यार्सागुम्बा भेटिएको क्षेत्रमा केही दिन प्रवेश निषेध गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए। ‘रिमिघा लेकमा यार्सा नै भएको प्रमाणित भएको छ,’ प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले भने, ‘तर त्यो कस्तो प्रजातिको हो, साथै त्यसको मेडिसनल भेल्यु कति छ भन्ने यकिन भएको छैन।’
१,८०० मिटर उचाइमा यार्सागुम्बा भेटिएपछि जिल्लावासी उत्साहित छन्। हिमाली र उच्च पहाडी क्षेत्रमा पाइने यार्सागुम्बा विश्वकै बहुमूल्य औषधिजन्य जडीबुटी हो। आपूर्तिको दृष्टिकोणले चीनपछि नेपाल दोस्रो स्थानमा छ।
यार्सागुम्बाको औषधीय गुणले शक्तिवर्धक, क्यान्सर, रक्तअल्पता, क्षयरोग, फोक्सोको सङ्क्रमण, मिर्गौला, कलेजो, मुटुजस्ता रोगको औषधि बनाउन प्रयोग हुन्छ। यो समुद्री सतहबाट ३,५०० देखि ५,५०० मिटर उचाइमा पाइन्छ। आयुर्वेद चिकित्सकका अनुसार यो च्याउ र लार्भा अवस्थाको पुतलीको संयुक्त रूप हो। रासस


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया