बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’

साझाकुरा, भलवाड | कपिलवस्तुको बाणगंगा नगरपालिकामा एउटा विद्यालय विद्यार्थी विहिन हुने अवस्थामा पुगेको छ । कुनै समय ४ देखि ५ सय विद्यार्थीलाई भर्ना गराइ पठनपाठन चलाइरहेको विद्यालय अहिले तीन शिक्षक र डेढ दर्जन विद्यार्थीको भरमा छ ।

बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित गौतमबुद्ध आधारभूत विद्यालय कुसुमडाँडामा अहिले नियमित विद्यालय आउने विद्यार्थी १७ देखि २० मात्रै छन् । नयाँ शैक्षिक सत्र २०८२ मा विद्यालयमा विद्यार्थी भर्ना शुन्य भयो । प्रधानाध्यापक बलराम आचार्यका अनुसार, विगत केहि वर्ष देखि नै नयाँ विद्यार्थी भर्ना हुने दर कम कम हुँदै गएकोमा यस वर्ष एक जना पनि नयाँ विद्यार्थी भर्ना हुन आएनन् ।

कक्षा १–५ सम्म संचालित यो सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून भैरहेको अवस्थामा पनि समुदाय र यहाँका सामाजिक नेतृत्वकर्ताहरु भने आफ्नै गाउँको विद्यालय गुणस्तरीय बनाउनमा गम्भिर देखिदैनन् । समुदायकै वेवास्थाका कारण विद्यालयको भविष्य संकटमा पर्दै गएको प्रअ आचार्य बताउँछन् ।

कपिलवस्तुमा शैक्षिक हव मानिएको नगरपालिका बाणगंगा हो । तर यहीका कतिपय सामुदायिक विद्यालय विद्यार्थी नहुँदा संकटको सामना गरिरहेका छन् । त्यस्तै अवस्थामा वडा नम्बर ९ को गौतमबुद्ध आधारभूत विद्यालय पनि बनेको हो । विद्यालय अहिले विद्यार्थी नहुँदा बन्द हुने अवस्थामा पुगेको छ ।आउँदो शैक्षिक सत्रमा कक्षा संचालन कसरी हुने हो थाहा छैन । यहाँ कक्षा १ देखि ५ सम्म सरदरमा एउटा कक्षामा ४ देखि ६ जना मात्रै विद्यार्थी छन भने विद्यालयमा तीन जना शिक्षकहरु कार्यरत छन् । विं.सं. २०४३ सालमा स्थापित यो विद्यालय अब नजिकको अन्य कुनै विद्यालयमा मर्जको पर्खाइमा छ ।

‘प्रधानाध्यापक आचार्य भन्छन्, “समुदाय ठूलो छ, तर अभिभावक र वडाका बुद्धिजिवीहरुले चासो नदिदा विद्यालय यो अवस्थामा आयो, अलिहे त विद्यार्थीहरु नजिकका अन्य निजी तथा सामुदायिक विद्यालयमा जान थाले । हामीले रोक्नै सकेनौँ ।” उनले भने ।’

प्रधानाध्यापक आचर्याका अनुसार विद्यालयमा नयाँ विद्यार्थी भर्ना नहुने र माथिल्लो कक्षा उत्तीर्ण गरि अन्यत्र जाने विद्यार्थीको संख्या पनि घटेका कारण विद्यालयमा विद्यार्थी कम भएका हुन् । उनले अघिल्ला शैक्षिक सत्रमा सन्तोसजनक विद्यार्थी रहेको भए पनि शैक्षिक सत्र २०८२ को सुरुको महिनाबाटै यहाँ नयाँ विद्यार्थी भर्ना नभएको बताए ।

प्रतिक्रिया

खबर सबै