सांसद विष्णु पन्थी बिरुद्ध १३ लाख ठगिको आरोप, अदालतद्धारा प्रकाउ पुर्जि जारी, के भन्छन् पन्थी ?

लुम्बिनी प्रदेशसभा सदस्य तथा नेकपा एमालेका नेता विष्णुप्रसाद पन्थीविरुद्ध मोरङ जिल्ला अदालतले झण्डै एक वर्षअघि कैद सजायसहित पक्राउ पूर्जी जारी गरे पनि हालसम्म उनी पक्राउ परेका छैनन्। अदालतको स्पष्ट आदेश हुँदाहुँदै समेत उनी खुलेआम राजनीतिमा सक्रिय रहँदै आएका छन्।

२०७७ मंसिर २३ गते मोरङ जिल्ला अदालतले पन्थी संलग्न रहेको गौतमबुद्ध हाइड्रोपावर प्रा.लि.ले पल्लवी इलेक्ट्रा प्रा.लिबाट उधारो लिएको १३ लाख ५४ हजार रुपैयाँ तत्काल तिर्नु पर्ने फैसला सुनाएको थियो। तर, अदालतको फैसला कार्यान्वयन नभएपछि २०७८ सालदेखि पुनः अदालती प्रक्रिया अघि बढ्दै आएको छ।

२०७५ सालमा पल्लवी इलेक्ट्रा प्रा.लिले दायर गरेको मुद्दामा अदालतले कम्पनी सञ्चालक देवराज खनाल र विष्णु पन्थीलाई जिम्मेवार ठहर गर्दै रकम असुल गर्न आदेश दिएको थियो। तर, आदेश पालना नगरेपछि अदालतले २०८१ साल जेठ ३२ गते जिल्ला प्रहरी कार्यालय काठमाडौँलाई पन्थी र खनाललाई पक्राउ गरी अदालतमा पेश गर्न निर्देशन दिएको थियो।

अदालतद्धारा जारी प्रकाउ पुर्जी

पक्राउ पुर्जी जारी भएको एक वर्ष बितिसक्दा पनि सांसद पन्थी फरार छन्। प्रहरी निरीक्षकद्वारा विभिन्न कार्यालयहरूलाई पटक–पटक पत्राचार गरिए पनि खोजतलासको नाममा कुनै ठोस परिणाम ननिस्किएको देखिएको छ। पन्थी हाल कपिलवस्तु क्षेत्र नम्बर १ बाट एमालेका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

मोरङ जिल्ला अदालतको आदेशमा जनही ६ महिनाको कैद सजाय तोकिएको छ। तर, पन्थी आफूले केही गलत नगरेको र कम्पनीमा आफ्नो “सानो सेयर” मात्रै रहेको दाबी गर्दै आएका छन्। उनले भनेका छन्, “यो विषय देवराज खनालको हो, मेरो होइन। म पनि सेयर होल्डर हो तर निर्णय लिने हैसियतमा छैन।”

पन्थीले केपी ओली, विद्या भण्डारी र हरि बैरागी दाहालजस्ता व्यक्तिहरूको नाम उल्लेख गर्दै कम्पनी आफूले बनाएको नभई पछि जाँदिएको पनि दाबी गरेका छन्। तर, कम्पनीको कारोबारमा सिधा संलग्नता रहेको कागजात र अदालतको फैसला विपरीत उनका भनाइहरूले अझै प्रश्न उठाएको छ।

प्रहरी प्रशासनको निष्क्रियता र राजनीतिक संरक्षणको आभास दिनेगरी सांसद पन्थी अहिलेसम्म कानुनी कठघरामा उभिन नसकेको विषयले कानुनी शासनको औचित्यमै प्रश्न खडा गरिरहेको छ।

के भन्छन् सांसद पन्थी ?

प्रदेशसभा सांसद विष्णु पन्थीले ट्रान्सफर्मर सामानसम्बन्धी १३ लाख रुपैयाँको विवादमा आफ्नो नाम अनावश्यक रूपमा मुछिएको बताएका छन्।
उनले आफूलाई बदनाम गराउने नियतले समाचार प्रकाशित गरिएको भन्दै कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन्।


फेसबुकमार्फत पन्थीले सम्बन्धित सञ्चारमाध्यमप्रति आपत्ति जनाउँदै तथ्यहीन प्रचार नगर्न आग्रह उनले सामाजिक संजालमा लेखेका छन् ।

प्रतिक्रिया

खबर सबै