शुद्धोदन माविको स्वर्ण महोत्सव: स्मारिका विमाेचन, स्वर्ण स्तम्भ अनावरण

बाबुराम रायमाझी ,कपिलवस्तु । शुद्धोदन माध्यमिक विद्यालय (मावि) ले आफ्नो ५० औं वार्षिकोत्सवको अवसरमा एक भव्य स्वर्ण महोत्सवको आयोजना गरेको छ। सो महोत्सव नेपाल सरकारका भूमि व्यवस्था, सहकारी र गरीबी निवारण मन्त्री बलाराम अधिकारीको प्रमुख आतिथ्यमा उद्घाटन भएको थियो ।

कार्यक्रमको सुरुवातमा मन्त्री अधिकारीले विद्यालयको स्वर्णिम इतिहासको सम्मान गर्दै उज्ज्वल भविष्यको शपथ लिन सबैलाई प्रेरित गर्नु भएको थियो । उहाले विद्यालयको महत्व र यसले समुदायमा गरेको योगदानलाई सम्मान गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।

साथै, दीपक कुवरका पिता तथा भलवाड क्षेत्रमा शिक्षा फैलाउन सफल स्वर्गीय नन्द बहादुर कुवरको स्मृतिमा निर्माण गरिएको स्वर्ण महोत्सव स्तम्भको अनावरण पनि मन्त्री अधिकारीले गर्नुभएको थियो। यस अवसरमा विद्यालयको विशेष स्मारिकाको विमोचन पनि गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि, मन्त्री बलाराम अधिकारीले समाजमा भइरहेको हिंसात्मक गतिविधिहरू र राजतन्त्र पुनःस्थापना गर्ने प्रयासहरूको बारेमा आफ्नो धारणा प्रस्तुत गर्नु भएको थियोे । मन्त्री अधिकारीले भन्नू भयो “राजाबादी समूहको हिंसा र राजतन्त्र पुनःस्थापनाको प्रयास केवल दिवा सपना मात्र हो। यसका लागि गणतन्त्रवादीहरूले सतर्क रहनु अत्यन्त आवश्यक रहेको बताउनु भयो ।

यस्तै कार्यक्रममा नेसपा केन्द्रीय सदस्य नारायण खनाल र राप्रपा केन्द्रीय सदस्य धुर्व रायमाझीले विद्यालयकाे ईतिहास कायम राख्न र भावि सन्नततिलाई विद्यालयकाे वस्तुगत अवस्थामा जानकार गराउन याे महाेत्सवले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयाे । समयानुकूल विद्यालयकाे विकास र गुणस्तरीय शिक्षा प्रदान गर्न पनि आगामी दिनहरुमा प्रभावकारी काम गर्न आवश्यक रहेकाे उहाहरुकाे भनाइ थियाे ।

राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेले पनि मुलुकको समसामयिक राजनीतिक परिस्थितिका बारेमा चर्चा गर्दै जनताको अधिकार र गणतन्त्रको महत्त्वको बारेमा बताउनु भएको थियो ।कार्यक्रममा विद्यालयको स्थापना देखि हालसम्मका भएका गतिविधिहरूको बारेमा एक वृत्तचित्र प्रस्तुत गरिएको थियो, जसले विद्यालयको इतिहास र उपलब्धिहरूलाई चित्रित गरेको थियो। साथै, इलाका प्रहरी कार्यालय पिपराको आयोजनामा किशोरावस्थाका लागि लागु पदार्थको प्रयोगको नकारात्मक प्रभाव र त्यसको न्यूनीकरणको लागि अभिभावकहरूको सचेतना आवश्यक रहेको सन्देशमुलक वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो।

कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू र नृत्य प्रस्तुतिहरूले माहौललाई रोमाञ्चक र रोचक बनाएको थियो । महोत्सवका आयोजकले जानकारी दिएका छन् ।

भोलिका कार्यक्रमहरूमा रक्तदान कार्यक्रम बिहान ८ बजे ,वडा स्तरीय हाजिर जबाफ प्रतियोगता,नगर स्तरीय बक्तृत्वकला प्रतियोगिता हुनेछ ।महोत्सवको समापन समारोहमा विद्यालयका जग्गादाता, पूर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक र कर्मचारीहरूको सम्मान पनि गरिनेछ।

स्वर्ण महोत्सव आयोजन समितिकी सदस्य सचिव अनिता कडेलले पनि तीन दिनसम्म चल्ने महोत्सवको क्रममा राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति हुने जानकारी दिनु भएको छ ।महोत्सव २७, २८ र २९ गते सम्म  सञ्चालन हुनेछ।कार्यक्रमको अन्तिम दिन, २९ गते महोत्सव समापन हुने बताइएको छ ।कार्यक्रम स्वर्ण महोत्सव मुल आयोजक समितिका अध्यक्ष थम्मन सिंह थापाको अध्यक्षता रहेको  कार्यक्रम बिधालयका शिक्षक मनोज खत्री र रामप्यारी पौडेलको संचालनमा भएको थियोे ।

यो महोत्सव विद्यालयको शैक्षिक गौरव र समाजको समर्पणको प्रतीकका रूपमा महत्वपूर्ण स्थान बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया