बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव

बुद्ध जन्मस्थल लुम्बिनीमा दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव तथा अन्तर्राष्ट्रिय ध्यान महोत्सव सुरु भएको छ। नेपालस्थित चिनियाँ दूतावासको सहकार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित विभिन्न निकायको आयोजनामा यो भव्य महोत्सव सञ्चालन भइरहेको छ।

शुक्रबार महोत्सवको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लुम्बिनीलाई विश्व शान्ति पर्यटनको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले लुम्बिनीलाई केवल बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र मात्र नभई सम्पूर्ण शान्तिप्रेमीहरूको पवित्र स्थलका रूपमा विकास गर्नुपर्ने बताउनुभयो।

मन्त्री पाण्डेले विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीको संरक्षण तथा प्रवर्धनमा सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो। साथै, चीनद्वारा आयोजित यो महोत्सवले नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउनुका साथै मित्रता, भ्रातृत्व र एकतालाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले हालै थाइल्यान्ड, कम्बोडिया लगायतका मुलुकहरूसँग पर्यटन प्रवर्धन, संस्कृति आदानप्रदान र हवाई सेवा विस्तार सम्बन्धी सम्झौताहरू भएको भन्दै ती कार्यान्वयनका लागि विशेष पहल गर्नुपर्नेमा पनि जोड दिनुभयो।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनीलाई बुद्ध ध्यानको उत्कृष्ट स्थलका रूपमा चित्रित गर्दै महोत्सवले लुम्बिनीको आध्यात्मिक महत्त्वलाई विश्वभर प्रवर्धन गर्ने बताउनुभयो।

पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले महोत्सवले लुम्बिनीलाई विश्वभरका शान्तिप्रेमी तथा बौद्धमार्गीहरूका लागि प्रमुख गन्तव्य बनाउन सहयोग गर्ने उल्लेख गर्नुभयो। नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउन यस महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

उद्घाटन समारोहका क्रममा मायादेवी मन्दिर परिसरमा १०० भिक्षु र ४०० साधकको सहभागितामा सामूहिक ध्यान गराइएको थियो। महोत्सवले शान्ति, ध्यान, पर्यटन र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्दै लुम्बिनीलाई विश्व शान्ति राजधानी बनाउने लक्ष्य अघि सारेको छ।

प्रतिक्रिया

खबर सबै