कोइलीचौर सामुदायिक वनको नवीन पहल बिजयसालबाट बनेका भाँडाकुँडाकाे उद्घाटन

साझाकुरा, कपिलवस्तु । कपिलवस्तुकाे बाणगंगा ९ स्थित कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समूहले “एक वन, एक उद्यम” नीतिअनुसार व्यवसायिक वन व्यवस्थापनलाई प्रोत्साहन गर्ने उद्देश्यले बिजयसालको काठबाट निर्मित भाँडाकुँडाको (गिलास) उत्पादनकाे ओैपचारिक उद्घाटन गरेकाे छ । मंगलबार वनकाे कार्यालय परिसरमा आयोजित एक विशेष कार्यक्रममा डिभिजन वन कार्यालय, कपिलवस्तुका वन अधिकृत इस्वरी प्रसाद पौडेलले बिजयसालबाट निर्मित गिलासको औपचारिक उद्घाटन गरे।

कार्यक्रमका प्रमुख अतिथि पौडेलले वन व्यवस्थापनलाई आर्थिक उपार्जनसँग जोड्दै वातावरण संरक्षण र रोजगारी सिर्जनामा योगदान पुर्याउने यस्ता योजनाहरूको प्रशंसा गरे। “वन संरक्षण मात्र होइन, दिगो व्यवस्थापनका माध्यमबाट उपभोक्ताहरूलाई प्रत्यक्ष फाइदा पुर्याउने कार्य अनुकरणीय छ,” उनले भने।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी, उपभोक्ता सदस्यहरू र न तथा वातावरणप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले वन संरक्षण र वातावरणमैत्री उद्यमको प्रवर्द्धन गर्ने यस्ता पहलहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

कोइलीचौर सामुदायिक वनले उत्पादन गरेका बिजयसालका भाँडाकुँडाहरू टिकाउ, सौन्दर्ययुक्त र वातावरणमैत्री भएको दाबी गरिएको छ। उपभोक्ताहरू माझ आकर्षण बढ्दै गएमा यस उद्यमलाई अझै फराकिलो बनाएर व्यावसायिक रूपमा विस्तार गरिने योजना रहेकाे वन उपभोक्ता समूहले जनाएको छ।

वन संरक्षण मात्र होइन, यसको उचित उपयोगबाट स्थानीय अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित अघि बढिरहेको कोइलीचौर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुन्तामणी भुसालले जनाएका छन् ।

कार्यक्रममा वडा अध्यक्ष कमल पाैडेल, वैज्ञानिक वन व्यवस्थापन महासंघ प्ररदेश अध्यक्ष दिपक थापा, समाजसेवी नारायण खनाल, विभिन्न सामुदायिक वनका अध्यक्षहरु, वन कार्या्लयका कर्मचारी लगाएतकाे आतिथ्यता रहेकाे थियाे ।

प्रतिक्रिया

खबर सबै