

लुम्बिनीमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरू




लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरू भएको छ।
प्रदेशका सबै विद्यालयमा अध्ययन पूरा गरेका पूर्वविद्यार्थीहरूको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरू गरिएको हो।
मुख्यमन्त्री चेतनारायण आचार्यले आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट उक्त अभियानको शुभारम्भ गरेका हुन्।
मुख्यमन्त्री आचार्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानको कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ जम्मा गर्दै अभियानको शुभारम्भ गरेका हुन्। यो विद्यालयमा मुख्यमन्त्री आचार्यले आधारभूत तहको शिक्षा आर्जन गरेका थिए।
सामुदायिक विद्यालयहरूको योगदानका लागि पूर्वविद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने भएकोले यस प्रकारको अभियान सुरू गरिएको मुख्यमन्त्री आचार्यले बताए।
‘गाउँका यी नै विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीहरू देश तथा विदेशमा समेत विभिन्न तहमा कार्यरत छन्, उनीहरूको रचनात्मक योगदानले सामुदायिक विद्यालयहरूलाई नमूना बनाउन सकिन्छ,’ मुख्यमन्त्री आचार्यले भने।
उनले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको मनोबल उच्च बनाउन ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानले सहयोग पुर्याउने दाबी गरे। ‘सामुदायिक विद्यालयले धेरै व्यक्तित्व जन्माएका छन्, अहिले राज्यका उच्च पदस्थ निकायमा कार्यरत अधिकांश व्यक्तिहरू सामुदायिक विद्यालयमै अध्ययन गरेका हुन्,’ मुख्यमन्त्री आचार्यले भने।
प्रदेश सरकारले धेरै छलफल गरेर आफूले पढेको विद्यालयप्रति पूर्वविद्यार्थीहरूको दायित्व के हुने भनेर चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममै समावेश गरिएको बताए।
सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरू गरिएको उनले बताए।
‘अब नियमित रूपमा अभियान चल्छ। प्रदेश सरकारले अभियान अगाडि बढाउने छ,’ उनले भने, ‘स्वदेश तथा विदेशमा रहनु भएका पूर्व विद्यार्थी सबैसँग पैसा नहुन सक्छ तर, सीप, ज्ञान र अनुभवलाई साटासाट गर्न सकिन्छ,’ उनले भने।
प्रदेश भित्रका एकसाथ १७ वटा विद्यालयबाट अभियानको शुभारम्भ गरिएको हो।
अहिले पनि ७१ प्रतिशत बालबालिकाको रोजाइ सामुदायिक विद्यालय नै रहेकोले सामुदायिक विद्यालयप्रति अझै भरोसा र विश्वास बढाउन आवश्यक रहेको उनको भनाइ छ।
यो अभियानमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।
गत वर्ष एसइईको नतिजा कमजोर आएपछि सुधारका लागि थालिएको यो अभियानले विद्यार्थीमा गुणस्तरीय सिकाइ अभिवृद्धि गर्न पूर्वविद्यार्थीको योगदानलाई समेट्ने विश्वास गरिएको छ।
आफूले पढेको विद्यालयका बारेमा जानकारी लिन, पूर्व र वर्तमान विद्यार्थीबीच अन्तर्क्रियागरी शैक्षिक अवस्था सुधार्न यो अभियान प्रभावकारी हुने मुख्यमन्त्री आचार्यले बताए।
लुम्बिनी प्रदेशमा ६ हजार तीन सय ४० विद्यालय रहेकोमा चार हजार पाँच सय ३१ वटा सामुदायिक विद्यालय छन्।
प्रदेशका १२ वटै जिल्लाका १२ लाख ८८ हजार दुई सय ९८ विद्यार्थी विद्यालय तहमा अध्ययनरत छन्। जसमध्ये नौ लाख २५ हजार ६ सय २९ जनाले सामुदायिक विद्यालयमा अध्ययन गर्दै आएका छन्।
तर, एसइई परीक्षाको नतिजामा सामुदायिक विद्यालयहरूको नतिजा कमजोर देखिएपछि सरकारले सुधारको अभियान थालेको हो।
२०८० सालको एसइई परीक्षामा सहभागी ८० हजार दुई सय २७ विद्यार्थीमध्ये ३१ हजार एक सय तीन जना मात्र ग्रेडेड हुन सफल भएका थिए।
देशभर ४७.८७ प्रतिशत विद्यार्थी ग्रेडेड हुँदा लुम्बिनी प्रदेशमा ३८.७२ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड हुन सकेका थिए। सामुदायिक विद्यालयको नतिजा झनै कमजोर रहेको छ। अभियानमार्फत् विद्यालय व्यवस्थापन, सामाजिक जागरूकता, आर्थिक स्रोत परिचालन, भौतिक सुधार तथा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विभिन्न गतिविधि सञ्चालन गरिने मुख्यमन्त्री आचार्यले बताए।
त्यस्तै, अभियान शुभारम्भको अवसरमा मुख्यमन्त्री आचार्यले अर्घा रजस्थल माध्यमिक पूर्व विद्यार्थिको तर्फबाट आफ्ना बुवा–आमाको स्मृतिमा एक लाख ११ हजार एकसय ११ रुपैयाँको टिकाराम–तारादेवी अक्षयकोष समेत स्थापना गरेका छन्। उक्त अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमबाट दलित जेहेन्दार विद्यार्थीलाई वार्षिक रूपमा पुरस्कृत गरिने विद्यालयले जनाएको छ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया