

कपिलवस्तुमा स्रोत नखुलेको १५ लाख भन्दा बढी रकम सहित एक जना पक्राउ




कपिलवस्तुको मायादेवी गाउँपालिका–६, डुमरा चोक नजिक बिहीबार एक साइकल यात्रीबाट स्रोत नखुलेको १५ लाख ७० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले मायादेवी गाउँपालिका–७, हरिरामपुरका ३० वर्षीय निरजकुमार मिश्रालाई उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार मिश्राले कालो झोलामा लुकाएर रकम राखेका थिए । झोलाबाट १,००० दरका ८९० वटा, ५०० दरका १,३२० वटा, १०० दरका १८० वटा र ५० दरका ४० वटा नोट बरामद गरिएको छ ।
हाल मिश्रालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने उनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाउने तयारी भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ ।

प्रतिक्रिया