

वेलफेयरले महोत्सवको मिति तय गर्दा व्यापार संघ नाराज, सम्झौताभन्दा विपरित भएको दाबी





साझाकुरा, कपिलवस्तु । भर्खर मात्रै १५ औँ कपिलवस्तु महोत्सव सकिएको छ । महोत्सवक पुर्णतया सम्पन्न हुन नपाउँदै आउँदो वर्षको महोत्सव कसले आयोजना गर्ने भन्ने सवालमा यहाँका तीन संस्थाले आ–आफ्नै घोषणा र दाबी बिरोध गर्न भ्याइसके ।
चार नम्बर स्थित बुद्ध रङ्गशालामा आयोजना हुँदै आएको कपिलवस्तु महोत्सव हाल सम्म कपिलवस्तु उद्योग वाणिज्य संघ र बाणगंगा वयलफेर सोसाइटीले आयोजना गर्दै आएका छन् । यसबीचमा गत वर्ष देखि नै यही महोत्सव आयोजना गर्ने घोषणा गर्दै कपिलवस्तु उद्योग व्यापार संघ समेत तयार देखियो । यही बेला १५ औँ कपिलवस्तु महोत्सव नसकिदै आउँदो १६ औँ संस्करण बाणगंगा वयलफेयर सोसाइटीले आयोजना गर्ने घोषणासहितको निमन्त्रणा सार्वजनिक भएपछि पुनः ती तीन संस्थाबीच महोत्सव आयोजनाबारे हानथाप सुरु भएको हो ।
यस अघि १५ औँ कपिलवस्तु महोत्सव आयोजनाका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले कपिलवस्तु महोत्सव हाल सम्म जसले आयोजना गरेको छ उनै संस्थाले आयोजना गर्ने बताएका थिए । पत्रकारले राखेका जिज्ञासाको जवाफ दिदैँ क्षेत्रीले कपिलवस्तु उद्योग वाणिज्य संघले कपिलवस्तु महोत्सव आयोजना गरेको र आगामी दिनमा पनि गर्ने उनको घोषणा थियो । उनको भनाइलाई आधार मान्दा हाल सम्म पनि कपिलवस्तु उद्योग वाणिज्य संघ र बाणगंगा वयलफेयर सोसाइटीले आलोपालो यो महोत्सव आयोजना गरिरहेका छन् ।
यता कपिलवस्तु उद्योग व्यापार संघले भने कपिलवस्तु महोत्सव आयोजनाका सवालमा बाणगंगा नगरपालिकामा तीन संस्थाका प्रमुखहरुसहित नगर प्रमुख, उपप्रमुख रिता कुमारी थारु, निमित्त प्रमुख प्रशासकिय अधिकृत राज कुमार तिवारी लगाएतको उपस्थितिमा बैठक बसी सहमति गरको थियो । उद्योग व्यापार संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) का अनुसार २०८० सालमा बसेको उक्त बैठकले आलो पालो महोत्सव आयोजना गर्ने निर्णय गरेकाले आउँदो वर्ष अर्थात २०८२ सालको महोत्सव आयोजना कपिलवस्तु उद्योग व्यापार संघले गर्ने बताउँछन् । उनको यो भनाइलाई अध्ययन गर्दा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा २०८० असोज १४ गते बसेको भनिएको बैठकले उक्त वर्ष बाणगंगा वेलफेयर सोसाइटीले आयोजना गर्ने, २०८१ मा कपिलवस्तु उद्योग वाणिज्य संघले संचालन गर्ने र २०८२ मा उद्योग व्यापार संघ कपिलवस्तुले आयोजना गर्ने विषयमा सहमति भएको देखिन्छ । उक्त सहमतिका लागि बसेको बैठकमा व्यापार संघका अध्यक्ष पौडेलसहित वेलफेयरका अध्यक्ष राजकुमार खाँड र कपिलवस्तु उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष डोलकराम घिमिरेको उपस्थिति थियो । तर हाल यो विषय भने पुनः कसले आयोजना गर्ने भन्ने सतहमा आएको छ । अर्काे तर्फ बाणगंगा वेलफेयर सोसाइटीले निमन्त्रण कार्ड सार्वजनिक गरेपछि उद्योग व्यापार संघ चिडिएको छ । तत्कालका लागि भने कपिलवस्तु उद्योग वाणिज्य संघले यस विषयमा आफ्नो संस्थागत धारणा सार्वजनिक गरेको छैन । तर मेला आयोजना कसले गर्ने भन्ने विषयमा यी तीन संस्थाबीच राम्रै जुहारी चलिरहेको प्रष्टै बुझ्न सकिन्छ ।
संघका अध्यक्ष खिमानन्द पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै सम्झौता विपरित वाणगंगा वेयरफेयर सोसाइटीले १६ औँ कपिलवस्तु महोत्सवको मिति तय गरेकोमा व्यापार संघले आपत्ति जनाएको उल्लेख छ । सम्झौत विपरित आफुहरुलाई कुनै पनि जानकारी नगराइ तोकिएको मिति कुनै पनि हालतमा नमान्ने उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष पौडेलले बताउँछन् ।

उता बाणगंगा वेलफेयर सोसाइटी कपिलवस्तुले १६ औँ कपिलवस्तु महोत्सव एवम् कृषि पर्यटन तथा औधोेगिक प्रदर्शनी २०८२ आयोजना गर्ने भन्दै निमन्त्रणा पत्र सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको थियो । वेलफेयरले २०८२ मंसिर १८ गते देखि महोत्सव आयोजना गर्ने सोही पत्र मार्फत उल्लेख गरेको छ । स्वस्थ युवा, सफल व्यवसायी, राष्ट्रको स्थिर कमाई भन्ने नारा दिइएको उक्त निमन्त्रणा पत्रमा बाणगंगा वेलफेयर सोसाईटी मुख्य आयोजक रहने उल्लेख छ ।



खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया