कपिलवस्तु महोत्सव : नयाँ जोश र अनुभवी नेतृत्वको संगम
१७ मंसिर, कपिलवस्तु । मंसिर १९ गतेदेखि पौष २ गतेसम्म बुद्ध रंगशालामा आयोजना हुने १५ औं कपिलवस्तु महोत्सवमा नयाँ र पुराना अनुभवी नेतृत्वको संगम हुने देखिएको छ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ, जहाँ यसपटक विभिन्न २९ उपसमितिहरू गठन गरी नयाँ र अनुभवी व्यक्तिहरूसँग मिलेर महोत्सवलाई सफल बनाउन कडा मेहनत भइरहेको बताउँछन् ।
महोत्सवको मुख्य आयोजक समितिका अध्यक्ष गणेश बहादुर क्षेत्रीले यसपटक नयाँ साथीहरूको जोश र पुराना सदस्यहरूको अनुभवलाई संयोजन गरेर महोत्सवको उत्कृष्ट व्यवस्थापन गर्न लागेका छन्। उनले भने, ‘नयाँ दृष्टिकोण र जोशले कामलाई सहज बनाएको छ र यसपटकका अनुभवलाई दर्शकसमक्ष प्रस्तुत गर्ने दाबी गर्छु।’
महोत्सवका निर्देशक हुमानाथ पौडेल पनि अनुभवी व्यक्तिका रूपमा चिनिन्छन् भने महासचिव नवदत्त घिमिरेले पहिलोपटक महोत्सवमा मुख्य भूमिकामा रहेका छन्। घिमिरेले महोत्सवको उद्घाटन र समापन कार्यक्रमलाई आकर्षक र पट्यारलाग्दो नगरी सफल बनाउन आफ्नो प्रयास हुने बताए। उनले महोत्सवको कार्यक्रममा कपिलवस्तुका प्रमुख जनप्रतिनिधि, उच्चपदस्थ कर्मचारी र संघसंस्थाका प्रमुखलाई आमन्त्रण गरेका छन्।
यसपटक महोत्सवका विशेष उपसमितिहरूमा पास व्यवस्थापन समिति र भान्छा व्यवस्थापन समिति पनि प्रमुख छन्। पास व्यवस्थापन संयोजक कृष्ण प्रसाद गैरेले भने, ‘जथाभावी पास वितरण नगर्ने हाम्रो उद्देश्य छ, यसपटक कडाइ गरेर काम गरिनेछ।’
भान्छा व्यवस्थापन संयोजक नारायण पौडेलले महोत्सवको खर्चलाई नियन्त्रणमा राख्न मितव्ययिता अपनाउने बताए। ‘हामीले खर्च कटौती गर्ने र कुनै पनि विकृति हुन नदिन कडा निगरानी गरिरहेका छौँ,’ उनले भने।
यसपटकको महोत्सवमा डान्स आइडल कार्यक्रम पनि आकर्षणको केन्द्र बनिरहेको छ। १३ औं डान्स आइडलमा विष्णु मल्लको नेतृत्वमा यस कार्यक्रमको संचालन गरिनेछ। मल्लले निष्पक्षताका साथ काम गर्ने बताए।
महोत्सवका निर्देशक पौडेलले महोत्सवको तयारीमा रहेका सबै सदस्यहरूको परिश्रमलाई प्रंशसा गर्दै भने, ‘हाम्रो अनुभव र नयाँ जोशले दर्शकलाई नयाँ र रोचक अनुभव दिनेछ। हामी साना(साना कुरा पनि निगरानी गर्दै महोत्सवलाई सफल बनाउन मेहनत गरिरहेका छौँ।’
महोत्सवका समापन समारोहका लागि पर्सी पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डे उद्घाटन समारोह गर्ने छन्। उद्घाटनअघि विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनी र बाजागाजासहितको कार्यक्रम हुनेछ। महोत्सवका आयोजकले २ लाख दर्शकको उपस्थिति र १० करोड रुपैयाँ कारोबारको लक्ष्य राखेका छन्।
महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ र दर्शकलाई नयाँपनको अनुभव दिने महोत्सवको लक्ष्यलाई पूरा गर्न सबै प्रयास भइरहेको छ।
प्रतिक्रिया