१५ औं कपिलवस्तु महोत्सव : हुन सक्छ, ‘बालुवामा साइक्लिङ’ नयाँ आकर्षण ! [भिडियो सामग्री]

साझाकुरा, कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघले यही मंसिर १९ गतेदेखि सुरु गर्न लागेको १५ औं कपिलवस्तु महोत्सवको तयारीलाई तीव्रता दिइरहेका बेला यस पटकको महोत्सवमा दर्शकका लागि नयाँ आकर्षण के हुन्छ भन्ने कौतुहलता धेरैलाई छ । महोत्सवलाई सफल बनाउन ३० वटा विभिन्न समितिहरू गठन गरिएका छन्। संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीको नेतृत्वमा मूल समारोह समिति र २९ उपसमितिहरू बनाई काम सुरु गरिएको आयोजक संस्थाले जनाएको छ । महोत्सवको तयारीलाई ५०० सदस्यीय मूल समितिले मिहिनेतका साथ अघि बढाएको बताउँछन् ।

समिति गठन र कामको विभाजनमा विशेष ध्यान दिइएको भनिएको छ भने महोत्सवको आर्थिक र लेखा व्यवस्थापन समितिका संयोजक धिरज खनालले पारदर्शिता र स्पष्टता साथ काम गरिरहेको बताएका छन्। यस्तै, मनोरञ्जन र सांस्कृतिक कार्यक्रमका संयोजक रामजी सेनका अनुसार, चर्चित राष्ट्रिय र स्थानीय कलाकारले मञ्च पाउनेछन्।

यस बाहेक यस महोत्सवमा नयाँ आकर्षणको रूपमा बालुवामा साइक्लिङ च्यालेञ्ज पनि राखिने बताइएको छ । बाणगंगा राइडर्स क्लब कपिलवस्तुले यसको जिम्मेवारी लिएको छ। महोत्सव स्थल बुद्ध रंगशालाको एक भागमा हुने यस च्यालेञ्जमा ३ सय सहभागीको लक्ष्य राखिएको छ। यस बाहेक कृषि उपज र व्यवसायिक स्टलहरुको निरन्तरतासँगै कपिलवस्तु डान्स आइडल पनि दर्शकका लागि यस पटक पनि निरन्तरता दिइने आयोजकले जनाएको छ ।

समितिहरूका संयोजकहरूले महोत्सवको तयारीलाई तीव्रता दिएका छन् , सबै समितिका सदस्यहरूलाई पारदर्शिता र स्वतन्त्रता सहित काम गर्न आग्रह गरिएको छ। यस महोत्सवले स्थानीय पर्यटन र कृषि क्षेत्रलाई प्रथामिकताका साथ स्थान दिने भनिएको छ ।

यस्तै बुधबार मात्रै यहाँका मिडिया हाउस र पत्रकारहरुसँगको एक छलफलमा १५ औँ कपिलवस्तु महोत्सव सफल बनाउनको लागि पत्रकार र आयोजकले एउटै ध्वनी बनाएका छन् । आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघले बुधबार बाणगंगामा क्रियाशिल सक्रिय पत्रकार र मिडिया हाउसहरुसंग अन्र्तक्रिया कार्यक्रम गरी महोत्सव सफल बनाउन एउटै ध्वनी बनाएर काम गर्नु पर्ने साझा धारणा तय गरेका हुन् । विगतका संस्करणदेखि नै महोत्सव सफल बनाउन पत्रकारको अहम् भूमिका रहेको भन्दै यस महोत्सव सफल बनाउन मिडियाको सहयोग अपरिहार्य रहेको संघका अध्यक्ष तथा महोत्सवका संयोजक गणेश बहादुर क्षेत्रीले बताए ।

प्रतिक्रिया