कात्तिक शुक्ल पूर्णिमाका दिन कपिलवस्तुका यी पालिकाले दिए ‘स्थानीय बिदा’


साझाकुरा, कपिलवस्तु | कात्तिक पूर्णिमाका अवसरमा कपिलवस्तुका अधिकाशं पालिकाले स्थानीय बिदा दिएका छन् ।

कात्तिक ३० गते परेको पूर्णिमाका अवसरमा जिल्लाका विभिन्न स्थानमा पूर्णिमा मेला समेत आयोजना हुने भएकाले यहाँका पालिकाहरुले स्थानीय बिदाको निर्णय गरेका हुन । जिल्लाका कृष्णनगर नगरपालिका, कपिलवस्तु नगरपालिका, महाराजगञ्ज नगरपालिकाले बिदा दिएका छन् । यस्तै विजयनगर गाउँपालिका, मायादेवी गाउँपालिका, शुद्धोधन गाउँपालिकाले पनि स्थानीय बिदा दिएका छन् ।

के हो कात्तिक पुर्णिमा ?

शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । हिन्दू धर्मालम्बीहरुका लागि कार्तिक पूर्णिमाको विशेष महत्त्व रहेको छ । यो दिन स्वर्गबाट सबै देवीदेवताहरु पृथ्वीलोकमा आउने विश्वास गरिन्छ ।

देवीदेवताहरु पृथ्वीलोकमा आउने र नदी किनारमा स्नान गर्न जाने विश्वासका साथ यो पूर्णिमामा घाटहरु, नदी किनारहरुमा विशेष सरसफाई गरिन्छ, दीप प्रज्वलन पनि गरिन्छ ।

कार्तिक पूर्णिमामा लिइने व्रत, पूजा–पाठको विशेष महत्त्व भएको हिन्दू धर्मालम्बीहरु विश्वास गर्छन् । आजको दिन दान गर्नाले यो जन्ममा मात्र होइन, आगामि जन्ममा पनि पुण्य मिल्ने विश्वास गरिन्छ । आजको दिन सनातन हिन्दू धर्मालम्बीहरुले धेरै पहिलेदेखि बनारस, हरिद्वार, मथुरा, प्रयागराज, बराहक्षेत्र, मुक्तिक्षेत्रलगायत ठाउँमा पूर्जाअर्चना गर्छन् ।

पूर्णिमामा चन्द्रमा पूर्ण आकारको देखिन्छ र अरु दिनभन्दा बढी चम्किलो देखिन्छ । विज्ञानका अनुसार सूर्यको प्रकाश पृथ्वीले नछेकी चन्द्रमामा पर्ने भएकाले यो दिन चन्द्रमा विशेष चहकिलो देखिने गर्छ ।

कार्तिक पूर्णिमामा तुलसीको पूजा पनि गरिन्छ । यसलाई विशेष महत्त्वका साथ पनि हेरिन्छ । त्यस्तै, कार्तिक पूर्णिमाको दिन भगवान शिव र विष्णुको आरधना पनि गरिन्छ । भगवान विष्णुलाई गरिने विशेष पूजा अर्चनालाई सत्यनारायणको पूजाको रुपमा पनि लिइन्छ । सामान्यतया सत्यनारायणको पूजा जहिले गरे पनि हुन्छ । तर, पूर्णिमाको दिन सत्यनारायणको पूजा गर्दा विशेष फल मिल्ने विश्वास गरिन्छ ।

प्रतिक्रिया