कार्तिक ३० देखि लक्ष्मणघाट पूर्णिामा मेला, दर्जन बढी कलाकारको प्रस्तुती हुने
पुर्णचन्द्र परियार, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा स्थित प्रसिद्ध धार्मिक क्षेत्र लक्ष्मणघाटमा हरेक वर्ष लाग्ने पूर्णिमा मेलाको यस वर्ष पनि तयारी थालिएको छ । लक्ष्मणघाट बोलबम धाम बिकास समिती लक्ष्मणघाटले पूर्णिमा मेलाको तयारीमा जुटेको हो ।
हरेक वर्ष कात्तिक पूर्णिमाको अवसरमा यहाँ धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना हुदैँ आएको छ । धाम क्षेत्रको प्रचार प्रसार सँगै यहाँको सांस्कृतिक विकासका लागि यो मेला प्रसिद्ध हुदैँ समेत गएको छ ।
यस वर्षको लक्ष्मणघाट पूर्णिमा मेला यही कार्तिक ३० गतेदेखि मंसिर २ गतेसम्म बाणगंगा नगरपालिका वडा नं. ६ लक्ष्मणघाट मा.वि. को प्राङ्गणमा आयोजना हुन लागेको मेला आयोजक समितिका संयोजक रण बहादुर काउचाले जानकारी दिए ।
केही दिन अघि बसेको एक भेलाले ३ सदस्यीय मेला आयोजक मुल समिती गठन गरेको थियो । उक्त समितिको संयोजकमा रण बहादुर काउचा, सह संयोजकमा तेज बहादुर थापा र संरक्षकमा वाणगंगा नगरपालिका वडा नं. ६ को वडा कार्यालय रहेको छ। उक्त बैठकले विभिन्न १० वटा उपसमितिका संयोजक बनाई जिम्मेवारी बाँडफाँड गरिएको जनाएको छ । मेला सफल पार्नका लागि सांस्कृतिक उप समिति संयोजक प्रकाश भुसाल, सह संयोजक विनोद खनाल रहेका छन भने सुरक्षा व्यवस्थापन संयोजकमा जितबहादुर बस्नेत, स्टल व्यवस्थापन संयोजक कमल पोख्रेल लगाएत रहेका छन् ।
प्राचिन समय देखि नै यहाँ कात्तिक पूर्णिमाका दिन विशेष धार्मिका कार्यक्रम हुँदै आएको थियो । पछिल्ला वर्ष धार्मिक मेलासँगै यहाँ सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्ने गरिएको छ । विशेष गरी यहाँ मेला भर्न कपिलवस्तुसहित छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान, दाङ, रुपन्देही तथा छिमेकी राष्ट भारतबाट समेत भक्तजनहरु आउने गरका बाणगंगा नगरपालिका वार्ड नं ६ का वडाअध्यक्ष करुण टण्डनले जानकारी दिए ।
यस पटक मेला तथा सांस्कृतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरु समेत आउने जनाइएको छ । प्रचार प्रसार उप समितिका संयोजक यमलाल खनालका अनुसार लोक तथा दोहोरी गायक बिक्रम परियार, दिपक गरौजा, जिबन परियार, सम्झना रणपाल, बिधान कार्की, लालमाया थापा, सुनिता सुनार, शिव खनाल, शारदा खनाल, दिनेश रन्जन, बिनोद रन्जन, भोजपुरी गायक श्रीनिवास चौधरी, खेम चौधरी, हास्य व्यंग्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खेबा), नेपाल कै कान्छो जादुगर गणेश केसी लगाएत दर्जन बढी कलाकारहरुको प्रस्तुती रहने जनाएका छन् ।
यस बाहेक मेलाका मुख्य आकर्षकमा पिङ, बाल उद्दान, ब्यापारिक स्टल, साथै सांस्कृतिक कार्यक्रम तर्फ स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहने सांस्कृतिक सह–संयोजक बिनोद खनालले जानकारी दिए । यस्तै उनले स्थानीय कलाकारहरुको समेत विशेष प्रस्तुती रहने र यहाँका जातजातीहरुको विशेषता झल्कीने विभिन्न कला कौशलहरुको प्रर्दशनी समेत हुने उनले बताए ।
मेला आयोजक समिती संयोजक रण बहादुर काउचाले जिम्मेवारी पाएका उपसमिति संयोजकलाई आफ्नो जिम्मेवारी गम्भीरतापुर्वक पुरा गर्न र आवश्यक तयारीमा जुट्न आग्रह गरेका छन । यस्तै उनले मेलामा अवलोकन गरी धार्मिक लाभ तथा मनोरञ्जन समेत लिन उनले सबैलाई आग्रह गरेका छन् ।
एक पवित्र धार्मिक स्थलको रूपमा परिचित : लक्ष्मणघाट
कपिलवस्तुको वाणगंगा नगरपालिकामा रहेको लक्ष्मणघाट एक पवित्र धार्मिक स्थलको रूपमा परिचित छ। वाणगंगा र कोइली नदीको संगमस्थलमा रहेको यस स्थानलाई लक्ष्मणघाटको रूपमा चिनिन्छ। पौराणिक कथन अनुसार, रामले सीताको प्यास मेट्न वाण हानेर पानी निकालेर बाणगंगा नदी बनाएका थिए। यसै नदीको तटमा राम–लक्ष्मण वनबासका क्रममा लक्ष्मणले स्नान गरेको घाट भएकोले यो ठाउँलाई लक्ष्मणघाट भनिएको हो।
जिल्लामा अवस्थित रूपमा रहेको लक्ष्मणघाट निकै चर्चित धार्मिक पर्यटकीय स्थल हो। हिन्दु धर्मावलम्बीका लागि लक्ष्मणघाट निकै पवित्र भूमि मानिन्छ। मन्दिर अवलोकनका लागि दैनिकजसो श्रद्धालु भक्तजन यस ठाउँसम्म पुग्ने गरेका छन्। छिमेकी देश भारतबाट पनि सयौंको संख्यामा तीर्थयात्री जल लिन यहाँ आउँने गर्छन्। धार्मिकस्थलको रूपमा परिचित लक्ष्मणघाट शवदहनका लागि निकै उति नै प्रख्यात छ।
प्रत्येक बर्ष पुर्णिमा मेलाको अवसरमा बिशेष गरी थारु समुदायका मानिसहरुले बाणगंगा नदिमा स्थान गरी गौपुजन गर्ने दान दिने कथा सुन्ने , मुण्डन गरी मनाइने यो धार्मिक पर्व अहिले सबै समुदायका मानिसले मनाउने गरेको पाइन्छ ।
प्रतिक्रिया