

सरकारी सेवामा १८ वर्षमा सफलताको नया आयाम: विशाल घिमिरेको प्रेरणादायी यात्रा





पातलो शरीर र कलिलो उमेर, १८ वर्षका विशाल घिमिरे झट्ट हेर्दा भर्खर स्कुल पढ्दै गर्नेजस्तो देखिन्छन् । उनी सरकारी कर्मचारी हुन् भन्दा धेरैले पत्याउँदैनन् । तर, उनी सरकारी नायब सुब्बा (नासु) हुन् ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–१ का घिमिरे लुम्बिनी प्रदेशको लोक सेवा आयोगको परीक्षामा सहायक पाँचौं तह उत्तीर्ण गर्ने सम्भवतः कान्छो निजामती कर्मचारी हुन् ।
सरकारी सेवामध्ये आकर्षक मानिने निजामती जगतमा विशालले कम उमेरमै प्रवेश पाएका हुन् । वि.सं २०६२ पुस ५ गते जन्मिएका घिमिरे असोज २० गते रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा सिफारिस समेत भएका छन् ।
१०/१५ पटक प्रयास गर्दा पनि लोकसेवामा सफल हुन नसक्नेहरू र निजामती क्षेत्रमा लाग्न रूचि भएकाहरूको लागि उनी अहिले उत्प्रेरणाको पात्र बनेका छन् ।
सानैदेखि लोकसेवाप्रति रूचि र पढाइमा अब्बल उनले कक्षा १२ उत्तीर्ण हुनसाथ केही महिना स्वःअध्ययन गरे र पहिलो पटकमै नासुको परीक्षा उत्तीर्ण गर्न सफल भए । १८ वर्षमै सरकारी सेवा प्रवेश गर्दा उनी त खुसी हुने नै भए उनका बुवाआमा बेदराज र सुन्दरी झनै खुसी छन् ।
‘१८ वर्ष नपुगेसम्म लोकसेवामा फर्म भर्न पाइँदैन मैले १८ वर्ष २ महिनाको हुँदा फारम भरें, १८ वर्ष ९ महिनाको हुँदा नाम निकालें,’ घिमिरे भन्छन् । १८ वर्षमा नासुमा प्रवेशपछि घिमिरेले आफूलाई ‘इन्स्पायर’ गर्न ३४ वर्षमा सह–सचिव हुने ‘सेड्युल’ बनाएका छन् । २३ वर्षमा शाखा अधिकृत, २९ देखि ३२ वर्षमा उपसचिव र ३२ देखि ३४ वर्षमा सहसचिव बन्ने उनको लक्ष्य छ ।
‘मैले किनेको किताबको अगाडि यो सेडुल बनाएको छु,’ कपी हेर्नेवित्तिकै यो कुराले मलाई मोटिभेसन र ऊर्जा प्राप्त होस् भनेर लेखेको हुँ,’ घिमिरे भन्छन् ।
घिमिरेका बाबु बेदराज र आमा सुन्दरी सामान्य लेखपढ र गाउँमा खेती किसानी गर्छन् । विपन्न परिवार भएकाले घरमा अभाव सहनुपर्थ्यो । आफूहरूले अभाव सहे पनि छोराहरूले त्यस्तो अभाव सहनु नपरोस् भनेर मायाले आफू काममा जोतिएर भए पनि छोराहरू राम्रोसँग पढाए । विशाल र भाइ विवेकले विद्यालयमा पढ्दा कुनै फजुल खर्च गरेनन् ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका–५ मैदानमा जन्मिएका विशालको विद्यालय तहमा ५ वटा स्कूल बदलेर पढे । विद्यालय तहका सबै परीक्षामा प्रथम हुँदै आएका उनी कक्षा १–५ जनकल्याण प्रावि अर्घाखाँची, कक्षा ६–८ श्रीकृष्ण मावि अर्घाखाँची, कक्षा ९–१० सिद्धार्थ मावि कपिलवस्तु र कक्षा ११ र १२ कालिका मानवज्ञान मावि बुटवलबाट उत्तीर्ण गरे । व्यवस्थापन संकाय लिएर पढेका विशालले ३.६५ जीपीएसहित ‘प्लस टु’ उत्तीर्ण गरेका हुन् ।
लोकसेवामा लागेपछि मेहनत गर्नैपर्छ । सानाभन्दा साना कुराहरूलाई ख्याल गनुपर्ने हुन्छ । लोकसेवामा पहिलो पत्रभन्दा दोस्रो पेपर बढी हार्ड हुन्छ । ‘धेरै इन्फरमेसन समेटेर, मिलाएर र समयमा लेख्नुपर्छ । अंकको उचित मूल्याङ्कन गर्नुपर्छ । फाइभ माक्सको कति लेख्ने ? टेन मार्कको कति लेख्ने ख्याल गर्नुपर्छ । त्यसको लागि संघर्ष नै गर्नुपर्छ,’ उनले भने ।
कोचिङ टियुसनभन्दा इन्टरनेटबाट स्वअध्ययन गरेर पढ्दा राम्रो हुने उनको बुझाइ छ । आफ्नो क्षमता बुझेर तयारी तयारी गर्न उनी सुझाउँछन् । ‘मैले आयोग पढेको कक्षा १२ को परीक्षा दिएको समय मात्र हो,’ विशाल भन्छन्, ‘अन्य समय शनिबारको दिन फुर्सद मिलाएर मात्रै पाठ्यक्रमबाहिर लोकसेवाका किताबहरू पढ्थें ।’
अध्ययनको नियमितता र विषयवस्तुको गहिराइमा पुग्ने प्रयास गर्दै धैर्यताका साथ निरन्तर मेहनत गरे लोकसेवा पास गर्न गाह्रो नहुने विशालको बुझाइ छ । ‘आधुनिक नयाँ प्रविधि, बदलिँदो समय–परिवेश सहितको ज्ञान, नयाँ ऊर्जाका साथ लागिरहनुपर्छ सरकारी सेवा टाढा छैन,’ उनी थप्छन्, ‘सरकारी सेवाको ‘करिअर’मा कम उमेर र छोटो समयमा पुग्न लोकसेवा पढ्नुपर्छ, सफलताको सिँढी चढ्नलाई धेरै ठूलो चुनौती म चाहिँ देख्दिनँ ।’
विशालको लक्ष्य मुख्यसचिवसम्म पुग्ने रहेको छ । यसर्थ उनी अहिले जागिरसँगै स्नातक तहमा पनि अध्ययनरत गर्दै छन् । यो बढुवा हुँदै जान हो । ‘अब उपल्लो तहको आयोग दिन मैले स्नातक तह उत्तीर्ण गर्नुपर्छ,’ उनी भन्छन्, ‘अब चार वर्ष स्नातक पढ्छु । पास भएपछि शाखा अधिकृतको तयारी गर्छु ।’ राम्रो अंक ल्याएर स्नातक उत्तीर्ण गर्नेगरी आफूले पढ्ने उनले सुनाए ।
अहिलेको परिवेशमा नयाँ पुस्ता स्वदेशमा मेहनत गर्दैन । विदेश जाने लहरसँग रमाएका छन् । तर, विशाल विदेश जाने कुराको विपक्षमा छन् । विदेश जानुको सट्टा युवाहरू सरकारी सेवामा आएर जनताको अपेक्षा पूरा गर्न लाग्नुपर्ने उनको तर्क छ । ‘नयाँ पुस्ताका युवाहरू सरकारी सेवामा आउँदा जनताले पनि सकारात्मक परिवर्तनको अपेक्षा गर्छन्,’ उनी थप्छन्, ‘अर्कोतिर अहिले युवा पुस्तामा विदेश जाने लहर छ । म भने यसको विपक्षमा छु । त्यही भएर लोकसेवातिर लागेको हुँ । अरू युवालाई पनि लाग्न आग्रह गर्छु ।’


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया