

दशैँमा खेल्ने होइन त “पोण्ड क्रस विथ रोप ?” लायन्स कपिलवस्तुले यसरी गर्दैछ आयोजना



राजेन्द्र खनाल, कपिलवस्तु | लायन्स क्लव अफ कपिलवस्तुले आयोजना गर्ने रोचक र नयाँ खेलको चर्चा थप चुलिएको छ । दशैँ, तिहार र छठ पर्वको अवसरमा बाणगंगामा नयाँ खेलको तयारी थालेको लायन्स कपिलवस्तुले पत्रकार सम्मेलन मार्फत यसको अवधारणा सार्वजनिक गरेको थियो ।
यस वर्ष असोज २३ गते फुलपातिको दिन ‘पाउन्ड क्रस उथ रोप’ प्रतियोगिता अर्थात पोखरी माथि डोरिमा झुण्डिएर खेलिने खेलको आयोजना गर्न लागेको जानकारी खेल संयोजक राम शुभागे थारुले पत्रकार सम्मेलनमार्फत दिए ।
यस खेलमा, पोखरीमाथि १० फिटको उचाईमा राखिएको डोरीमा अड्काइएका रिङलाई एकपछि अर्को गर्दै समातेर ५० मिटरको दुरी पार गर्नुपर्नेछ। प्रतियोगितामा सबैभन्दा छिटो दुरी पार गर्ने प्रतियोगि विजेता हुनेछन्। बिजेताले ५१ हजार १ सय ११ रुपैँया पुरस्कार पाउने छन् ।
थारुका अनुसार, प्रतियोगिता २ उमेर समुहमा विभाजन गरेर खेलाइनेछ। जुनियर समुहमा ८ देखि १६ वर्षका युवा खेलाडीहरुलाई समावेश गरिने छ भने, वयस्क खेलाडीहरुका लागि अर्को समुह बनाइनेछ।
यस खेलको संरचना निर्माणको काम भइसकिएको र यसलाई स्वास्थ्य र पर्यटनको प्रवर्द्धनका लागि नयाँ पहलको रुपमा लिइएको थारुले जानकारी दिए। सहभागी हुनको लागि १ हजार रुपैयाँको फारम भरी अभिभावकको स्वीकृति आवश्यक हुनेछ।
प्रतियोगितामा विजेताले ५१ हजार, दोस्रोले २५ हजार, र तेस्रो र चौथोले पनि पुरस्कार पाउनेछन्। जुनियर समुहका लागि पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ।
क्लवका अध्यक्ष नवदत्त घिमिरेले खेललाई सहासिक खेलको रुपमा लिई सफल बनाउन सबैलाई आग्रह गरे। उनले भने, “यस प्रतियोगिताले जिल्लामा पर्यटन प्रवर्द्धन गर्ने साथै अटिजम र लागू पदार्थ दुर्व्यसनविरूद्ध जनचेतना जगाउने उद्देश्य पनि राखेको छ।”
सुरक्षा विषयमा पूर्व अध्यक्ष सुरेन्द्र घिमिरेले खेलाडीलाई कुनै प्रकारको जोखिम नहुनेगरी तयारी भइरहेको बताएका छन्।
पत्रकार महासंघका कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले लायन्सले हरेक वर्ष जिल्लामा नयाँ खेल आयोजना गरेर प्रचारप्रसार गर्ने कार्यमा धन्यवाद दिएका छन्।
राजापानी सामुदायिक वनकी अध्यक्ष सितादेवी पौडेलले यो खेलले आफूहरुलाई निकै उत्साहित बनाएको बताइन्।
प्रतियोगिताको आयोजना गर्न करिब ८ लाख रुपैयाँको खर्च हुने क्लवको अपेक्षा छ। पत्रकार सम्मेलनको सञ्चालन सचिव दामोदर पन्थीले गरेका थिए।
कपिलवस्तुका खेलप्रेमी र नागरिकहरुले यो प्रतियोगितालाई सफल बनाउन उत्साहका साथ भाग लिन उत्सुकता देखाइरहेका छन्।


प्रतिक्रिया