कपिलवस्तुसहित लुम्बिनी प्रदेशका ८ जिल्लामा औसत भन्दा बढी वर्षा

पछिल्लो २४ घण्टामा लुम्बिनी प्रदेशको पाल्पामा सबै भन्दा बढी वर्षा भएको छ । मौसम विभागको पाल्पाको निस्दी गाउँपालिका–६ अर्चलेस्थित जल मापन केन्द्रको रेकर्ड अनुसार पछिल्लो २४ घण्टामा ३४९ दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।

विभागका अनुसार १ सय ८ स्थानमा औसत भन्दा बढी वर्षा भएको छ । विभागले २४ घण्टामा १ सय ४० मिलिमिटर भन्दा बढी वर्षा भएका स्थानहरूलाई खतराको सुचीमा राख्दै सतर्क रहन आग्रह गर्ने गरेको छ ।

बढी वर्षा भएका क्षेत्रका खोला र नदीहरूमा बाढीको बहाब बढेको छ । लुम्बिनी प्रदेशका पाल्पासहित १७ स्थानमा पछिल्लो २४ घण्टाको वर्षाले औसत तह पार गरेको हो । विभागका अनुसार पाल्पाका अर्चले, जल्पा, कुमालगाउँ, बल्ढेङगढीमा राखिएका मापन केन्द्रमा औसत तह पार गरेको छ ।

पाल्पाका विभिन्न स्थानमा भएको भारी वर्षाले तिनाउ नदीको बाढीले खतराको तह पनि पार गरेको छ । तिनाउमा ठूलो बाढी आएपछि बुटवल उपमहानगरपालिकाले सूचना जारी गर्दै तिनाउ नदीको तटीय क्षेत्रमा रहेका बस्तीहरूलाई सकर्तता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै रूपन्देहीको तिलोत्तमा, लुम्बिनी र भैरहवा क्षेत्रमा पनि औसत भन्दा बढी वर्षा भएको छ । तिलोत्तमामा रहेको जलमापन केन्द्रको रेकर्ड अनुसार पछिल्लो २४ घण्टामा २४६.६ मिलिमिटर वर्षा भएको छ । त्यस्तै लुम्बिनीमा २४३ मिलिमिटर वर्षा मापन भएको छ । लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, दाङ, पश्चिम नवलपरासीमा पनि औसत भन्दा बढी वर्षा भएको छ ।

ती जिल्लाहरूमा भएको वर्षाले लुम्बिनी प्रदेशमा पर्ने तिनाउ, बडिघाट, कालीगण्डकी, राप्ती र भेरी नदीहरूमा बाढी आएको छ । अधिकांश स्थानमा बाढी खतराको तहमा पुगेको छ । लुम्बिनी प्रदेशको बर्दियामा सबै भन्दा कम वर्षा भएको देखिएको छ । त्यस्तै बाँके, रोल्पा र पूर्वी रुकुममा पनि पछिल्लो २४ घण्टामा १ सय ४० मिलिमिटर भन्दा कम वर्षा भएको जल मापन केन्द्रहरूको रेकर्डले देखाएको छ ।

लगातारको वर्षाले सिद्धार्थ राजमार्गसहित पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान लगायतका जिल्लाका राजमार्ग र ग्रामीण क्षेत्रका सडक बन्द भएका छन् । पाल्पा, गुल्मी हुँदै बाग्लुङ जोड्ने रिडी, रुद्रवेणी वामीटक्सार बुर्तिबाङ सडक दर्जनौं स्थानमा पहिरो गएपछि अवरुद्ध भएको छ ।

कपिलवस्तु जिल्लामा रहेको बाणगंगा र कोइली नदीमा जलसतह बढ्दो क्रममा रहेको र सतर्कता तह आसपास पुगेको भन्दै जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

बाणगंगा कोइली नदी आसपासका क्षेत्रहरूमा बर्षा जारी रहेकोले नदीको जलस्तर थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले पनि तटीय क्षेत्रका नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

यस क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सर्ने, आपतकालीन सम्पर्कहरू तयार राख्ने, र नदीको आसपासमा अनावश्यक गतिविधि नगर्न विशेष ध्यान दिन सुझाव दिइएको छ।

सन्धिखर्क–गोरुसिंगे सडक पहिरोले अवरुद्ध 

गोरुसिंगे सडक खण्डको विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । पहिरोसँगै रूख पनि बाटोमा ढलेका छन् ।

राति नरपानी, घुम्ती, दहखोला, सितापुर लगायतका ठाउँमा पहिराले सडक अवरुद्ध गरेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी विपिन काफ्लेले बताए । सडक माथिबाट पहिरो खसेपछि गाडी चलेका छैनन् । रातिमा जोखिमलाई मध्यनजर गर्दै प्रहरीले अत्यावश्यक बाहेक यात्रा नगर्न सूचना जारी गरेको थियो ।

प्रतिक्रिया