

अमृते सामुदायिक वनको १५औँ साधारणसभा : झण्डै ४ करोडको बजेट पेश



राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर स्तिथ अमृते सामुदायिक वन उपभोक्ता समुहले आफ्नो १५ औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न गरेको छ । वन उपभोक्ता समुहको सामुदायिक भवन परिसर भर्तापुरमा आयोजित साधारणसभामा आर्थिक वर्ष २०८१/०८२ का लागि समुहले झण्डै ४ करोडको बजेट समेत ल्याएको छ ।
अमृते सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेलले समुहको निति तथा कार्यक्रम र बजेट पेश गर्दै प्रस्तावित ३ करोड ८६ लाख ६५ हजार बराबरको बजेट पेश गरे । उनले गत आर्थिक वर्षका अधुरा योजनाको पूर्णता र विकासका लागि समेत बजेट विनियोजन भएको भन्दै केही नयाँ र उत्पादनमूलक शीर्षकमा समेत यसपटकको बजेटले समेट्ने प्रयास भएको बताए ।
कार्यक्रममा समुहका सचिव मिना सिंजापतिले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिन भने कोषाध्यक्ष सीता शर्माले आ.व २०८०/०८१ को कुल ३ करोड ६५ लाख ५५ हजार ४४ रुपैँयाबरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गरिन । यस्तै वार्षिक साधारणसभा कार्यक्रममा वनका लेखा समितिका संयोजक बिनोद पुनले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सम्पन्न साधारणसभा कार्यक्रममा डिभिजन वन कार्यालय तौलिहवाका बरिष्ठ वन अधिकृत शिवानन्द शाहको प्रमूख आतिथ्यता रहेको थियो भने वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलको विशिष्ठ आतिथ्यतासहित विभिन्न सामुदायिक वन समुहका अध्यक्षहरु, स्थानीय बुद्धिजीवि, वनका पुर्व अध्यक्षहरु, संचारकर्मी लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बरिष्ठ बन अधिकृत शाहले सामुदायिक वनले आफ्नो आम्दानीका स्रोतलाई वृद्धि गर्नका लागि वन व्यवस्थापनका कार्यक्रमहरुलाई प्रभावकारी बनाउनु सुझाए । उनले जुुन सामुदायिक वनले वन संरक्षण र वन व्यवस्थापनका काम प्रभावकारी बनाएका छन्, ती वनहरुको बजेटमा पनि हरेक वर्ष बृद्धि भइरहेको बताए ।
यस्तै कार्यक्रममा वडा अध्यक्ष कमल पौडेलले वनको बजेटको तुलनामा वडाको बजेट सानो आकारको हुने भएकाले वडाले वनसँग प्रतिश्प्रधा गर्न नसक्ने बताए । उनले सामुदायिक वनसँग वडाका योजनाहरुलाई पनि लागत साझेदारीमा सम्पन्न गर्न अग्रहसर हुनुपर्नेमा जोड दिए ।
यस्तै वनका पुर्व सल्लाहाकार गोपाल गिरी, नारायण खनाल, हरिबहादुर खनाल लगाएतले सम्बोधन गरेका थिए । उनीहरुले सामुदायिक वन र यसको नेतृत्व पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरु सबैलाई साथमा लिएर अघि बढ्न सक्नुपर्ने बताए । वन कुनै एक व्यक्तिको नभई साझा सम्पत्ति भएको उनीहरुको तर्क थियो ।
कार्यक्रममा अमृते सामुदायिक वनले भर्तापुर आधारभूत विद्यालयको कक्षा बालविकास देखि कक्षा ८ सम्म अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति र शैक्षिक सामग्री प्रदान गरेको छ भने वन उपभोक्ता समुहका जेष्ठ सदस्यहरुलाई नगद राशीसहित सम्मान गरेको छ । यस्तै वन हेरालुहरुलाई एक एक थान मोवाइल फोन प्रदान गरेको छ भने चौकिदारलाई समेत मोवाइल फोन एक थान, लाइट, साइकल र हाते माइक प्रदान गरेको छ ।
वि.सं. २०६६ सालमा जिल्ला वन कार्यालयबाट दर्ता भई सामुदायिक वनको रुपमा स्थापित अमृते सामुदायिक वनको क्षेत्रफल ३२६ दशमलव ३७ हेक्टर कायम छ । यो सामुदायिक वनमा हाल ३०९ घरधुरीबाट ७०८ महिला र ७६० पुरुष गरि जम्मा १४६८ जनसंख्या आबद्ध छन् । यो सामुदायिक वनले खासगरी जैविक विविधताको संरक्षण सहित वनको हैसियतमा सुधारका काम गरिरहेको छ । अमृते सामुदायिक वन बाणगंगा नगरपालिकाको उत्तरमा अवस्थित सामुदायिक वन हो ।


प्रतिक्रिया