नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य
दाङ | लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकहरुमा बढ्दो आकांक्षालाई सम्बोधन गर्न राजनीतिक दलमा दरिलो एकता, समन्वय र सहकार्य जरुरी रहेको बताएका छन्।
संविधान तथा राष्ट्रिय दिवस २०८१ को मुल समारोह कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको नारालाई सार्थक बनाउन सबै सरोकार वाल निकायको जिम्मेवारीपूर्ण भूमिका रहने बताएका हुन्।
सम्वोधनको क्रममा उनले योजना निर्माण र कार्यान्वयनको तहमा लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा अग्रणी स्थानमा रहेको बताए।
दीर्घकालीन लक्ष निर्धारण गरेर प्रदेश सरकारले योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेकाले अन्य प्रदेशको तुलनामा लुम्बिनी अग्रणी स्थानमा रहेको बताए। ‘नेपालको संविधान, १६ औं आवधिक योजना, दिगो विकासका लक्ष एवम् अन्तरराष्ट्रिय प्रतिवद्धता, लुम्बिनी प्रदेश सरकारको दोस्रो आवधिक योजनाको अवधारणा पत्र, दश वर्षे दीर्घकालीन रणनीतिक योजना, मध्यमकालिक खर्च संरचना, प्रत्येक वर्ष सालवसाली रुपमा प्रदेश सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम प्रति केन्द्रित रही बजेट तर्जुमा गरी कार्यान्वयन गरिरहेको अवस्था छ जसको कारण सातवटै प्रदेशमा लुम्बिनी प्रदेश अग्र स्थानमा छ।’
लुम्बिनी प्रदेश सरकारले पनि प्रदेश सभाबाट ७२ वटा कानुन निर्माण गरी कार्यान्वयनमा ल्याइसकेको छ भने केही कानूनहरु निर्माणको चरणमा रहेको मुख्यमन्त्री आचार्यले बताए। तर, साझा अधिकार सूचीका कानुनहरु सबै नबन्दा केही कठिनाई महसुस भएको मुख्यमन्त्री आचार्यले बताए। कानूनहरु संघीय सरकारबाट द्रुत गतिमा निर्माण गर्न प्रदेश सरकारले समन्वय र सहकार्य गर्न तत्पर रहेको उल्लेख गरे।
संविधान दिवसलाई भब्य र रचनात्मक बनाउन विभिन्न समुदायको कला संस्कृती झल्किने झाँकी प्रदर्शनी गरिएको छ।
मगर, थारु, नेवार, ब्राहमण लगायतका समुदायले आ-आफ्नो समुदायको कला संस्कृती सहितको झाँकी प्रदर्शन गरेका हुन्। संविधान दिवसलाई उत्सवमय बनाउन विविधतायुक्त झाँकीहरु प्रदर्शन गरिएको थियो।
राप्ती नेवारी समाजले परम्परागत राेपाइ जात्रा, थारु समुदायकाे झाकी, राप्ती स्काउट समुहले स्काउट झाकी, राप्तीकाे नाैमती बाजाकाे झाँकी प्रस्तुत गरिएको थियाे।
प्रतिक्रिया