कपिलवस्तुमा जापानिज इन्सेफलाईटीसबाट एक किशोरको मृत्यु
कपिलवस्तु, भदौ २५ | कपिलवस्तु जिल्लामा जापानिज इन्सेफलाईटीसको संक्रमणका कारण एक किशोरको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको अनुसार, विजयनगर गाउँपालिका २ का १७ वर्षीय किशोरको काठमाण्डौस्थित न्युरो अस्पतालमा उपचारका क्रममा एक साताअघि मृत्यु भएको हो।
स्वास्थ्य कार्यालय प्रमुख नारायण प्रसाद चौधरीका अनुसार, किशोरलाई उच्च ज्वरो आएर बेहोस भएपछि दुई हप्ताअघि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भर्ना गरिएको थियो। उपचारमा सुधार नआएपछि उनलाई थप उपचारका लागि न्युरो अस्पताल लगिएको थियो, तर त्यहाँको उपचार पनि सफल हुन सकेन।
यो वर्षभर जापानिज इन्सेफलाईटीसका ५ संक्रमितहरु जिल्लामा भेटिएका छन्। संक्रमित व्यक्तिहरूमा शुद्धोदन गाउँपालिकामा ३ वर्षीया बालिका, मायादेवी गाउँपालिकामा ३ वर्षीय बालक, कृष्ण नगर नगरपालिकामा १५ वर्षीय किशोर र कपिलवस्तु नगरपालिकामा ५ वर्षीय बालक समावेश छन्। तीमध्ये एकजनाको मृत्यु भएको छ।
जापानिज इन्सेफलाईटीस क्युलेक्स नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो, जुन हाँस, कुखुरा र बंगुरबाट पनि सर्न सक्छ। यो संक्रमण १ देखि १५ वर्षको उमेर समूहका बालबालिकामा बढी प्रभावकारी हुन्छ। संक्रमणका लक्षणमा उच्च ज्वरो, अचेत हुनु, र बर्बराउने समावेश छन्।
यस संक्रमणबाट बच्नका लागि डाक्टरहरूले घर आँगनलाई सफा राख्न, खाल्टोमा पानी जम्न नदिन, र झुल लगाएर सुत्नको सल्लाह दिएका छन्। यो रोगको सम्भावित जोखिमलाई कम गर्न स्थानीय सरकारले र स्वास्थ्य सेवाले जनतालाई सचेत गराउँदै स्वास्थ्य सुरक्षा उपाय अपनाउन आग्रह गरेको छ।
प्रतिक्रिया