पिपरा अस्पतालमा शल्यक्रिया सेवा सुरु

कपिलवस्तु : पिपरा अस्पतालले शल्यक्रियासहितको प्रसूति सेवा सुरु गरेको छ, जसअन्तर्गत पहिलो सफल मेजर अप्रेसन सम्पन्न भएको छ। कपिलवस्तु नगरपालिका–२ निवासी ३२ वर्षीया महिलाको सफल शल्यक्रिया गर्दै अस्पतालले यो सेवा सञ्चालनमा ल्याएको हो। डा. गणेश क्षेत्रीका अनुसार यसअघि दुई पटक शल्यक्रिया मार्फत सुत्केरी भएकी ती महिलाको तेस्रो शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

शल्यक्रियामा डा. सरस्वती भट्टराई, डा. गणेश क्षेत्री, एनेस्थेसिया सहायक राधा कोइराला, अप्रेशन थिएटरका नर्सिङ रबिना हिराचन, कल्पना पौडेल र सहयोगी चक्र सिङ्जाली लगायतको टिम संलग्न थियो।

डा. क्षेत्रीले पिपरा अस्पतालको सेवा क्षेत्रका लागि यो ऐतिहासिक क्षण रहेको भन्दै मेहनत र समर्पणको फलस्वरूप अप्रेसन सेवा सुरु भएको बताए। डा. भट्टराईले शल्यक्रिया सेवा सुरु भएसँगै यस क्षेत्रका गर्भवती महिलाहरूले अब अप्रेसनका लागि टाढा बुटवल या काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको उल्लेख गरिन्।

बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले पिपरा अस्पतालको यो सेवाबाट कपिलवस्तु जिल्लाका १० वटै पालिकाका साथै छिमेकी अर्घाखाँची र रुपन्देही जिल्लाका महिलाहरू लाभान्वित हुने बताए। उनले पिपरा अस्पताललाई प्रदेशको नमुना अस्पताल बनाउने लक्ष्य रहेको पनि प्रष्ट पारे।

नगरप्रमुख अर्यालका अनुसार, बाणगंगाको प्राथमिकता अब शिक्षा र स्वास्थ्यमा केन्द्रित हुनेछ, र नगरपालिकाले नागरिकहरूको स्वास्थ्य सेवामा निरन्तर सुधार गर्ने योजनामा छ। पिपरा अस्पतालले सेवा सुविधा बढाएसँगै अस्पतालमा आउने विरामीको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ, जहाँ दैनिक ३०० भन्दा बढी सेवाग्राही उपचारका लागि आउने गरेका छन्।

प्रतिक्रिया

खबर सबै