भलवाडमा तीज गीत प्रतियोगिता सम्पन्न : मौलिकताको संरक्षणमा जोड
साझाकुरा : कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड जिनुवामा शनिबार आयोजित हरितालिका तीज गीत प्रतियोगिता सम्पन्न भएको छ। नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा प्रतियोगिताको आयोजना वडा कार्यालय भलवाडले गरेको थियो। प्रतियोगितामा वडा नं ९ का विभिन्न टोलबाट गरी ८ वटा महिला समूहले आफ्नो प्रस्तुती प्रस्तुत गरे।
प्रतियोगितामा परम्परागत सांस्कृतिक पहिचान र विषयलाई झल्काउने उद्देश्यले राखिएको थियो जहाँ सहभागि उत्कृष्ट समूहलाई पुरस्कृत पनि गरिएको छ। बर्दहवा महिला समूहले पहिलो स्थान प्राप्त गरेको छ भने बक्सिसपुर महिला समूहले दोस्रो र भर्तापुरस्थित शिव पार्वती मन्दिर आमा समूहले तृतीय स्थान ल्याउन सफल भएका छन्। अन्य सहभागि समूहलाई पनि सम्मान स्वरुप नगदसहित प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको छ।
प्रतियोगितामा सहभागी महिला समूहहरुले केवल गीत र नृत्य मात्र प्रस्तुत गरेनन्, बरु उनीहरुले देशको वर्तमान परिस्थितिलाई पनि कलाको माध्यमबाट उजागर गरेका छन्। प्रायः सबै समूहले आफ्ना गीतमा युवाहरुको बढ्दो विदेश पलायन, महिला हिंसा, देशमा व्याप्त भ्रष्टाचार र सामाजिक कुरीतिका विषयलाई मुख्य मुद्दा बनाए। कतिपय समूहले यसलाई नृत्यमा समेत चित्रित गर्न कोशिस गरे ।
प्रतियोगितामा तीजको नाममा आधुनिकताको विकृत शैलीको प्रवेशलाई व्यङ्ग्य गर्दै मौलिकताको संरक्षणमा पनि जोड दिइएको थियो । सहभागीहरूले यो सन्देश पनि दिएका छन् कि स्थानीय सरकारले मौलिक परम्पराको संरक्षणमा ध्यान दिनुपर्छ।
कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष कमल पौडेलले गरेका थिए भने बाणगंगा नगरपालिकाका नगर उपप्रमुख रिताकुमारी चौधरी प्रमुख अतिथिको रूपमा उपस्थित थिइन्। पूर्व वडा अध्यक्ष धुव्र वेल्वासे र वडा नं ९ का विभिन्न सामुदायिक वनका अध्यक्षहरू पनि कार्यक्रममा उपस्थिति थिए। वडा सदस्य चुरामणी अर्यालले कार्यक्रमको संचालन गरेका थिए भने वडा सदस्य केशरा गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् । कार्यक्रममा सहभागि महिला समुहरुको प्रस्तुतीले तीजको मौलिकता संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेलेको नगर उपप्रमुख रिताकुमारी चौधरीको भनाइ थियो । यसबाहेक यसरी सम्पन्न भएको प्रतियोगिताले स्थानीय सांस्कृतिक परम्परालाई नयाँ रूप दिन र मौलिकताको संरक्षणमा योगदान पुर्याउने आशा गरिएको कार्यक्रममा बोल्ने अन्य वक्ताहरुको पनि भनाइ थियो ।
कार्यक्रममा सहभागि समुहरुको गीत र नृत्यको समग्र पक्षको मुल्याङ्कन गर्न निर्णायक मण्डलको रुपमा तेजप्रसाद आचार्य, टिकाराम घिमिरेसहितको टोलि रहेको थियो ।
हिन्दु नेपालीहरुको हरितालिका तीज पर्व पछिल्ला वर्षमा सबै नेपालीहरुको साझा पर्वको रुपमा समेत विकास भइरहेका बेला स्थानीय सरकारहरुले समेत मौलिकतााके संरक्षणमा महिलाहरुलाई अगाडी सार्नु राम्रो कार्य भएको समेत धेरैले बताएका छन् ।
प्रतिक्रिया