कपिलवस्तुमा घरेलु हिंसा : ९० प्रतिशत उजुरी मिलापत्रबाट समाधान


साझाकुरा, कपिलवस्तु । कपिलवस्तु जिल्लामा घरेलु हिंसाका उजुरीहरूको समाधानमा एक नयाँ मोड आएको छ। विगतका वर्षहरूको तुलनामा गत एक आर्थिक वर्षको अवधिमा महिलाहरू आफ्नो पीडा र समस्या बाहिर ल्याउन थालेका देखिएाक छन् भने यस अवधिको आँकडाले घरेलु हिंसाका ९० प्रतिशतभन्दा बढी उजुरी मिलापत्रमा टुंगिएको पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालयका महिला तथा बालबालिका सेलका अनुसार, घरेलु हिंसाका उजुरीको ९५ प्रतिशतलाई मिलापत्र मार्फत समाधान गरिएको छ। २०८०÷८१ आर्थिक वर्षमा प्राप्त ३४७ उजुरी मध्ये ३१२ वटा मिलापत्रमार्फत समाधान गरिएको जानकारी प्राप्त भएको छ। यी मुद्दाहरूमा घरायसी झगडा, खान बस्न नदिएको, कुटपिट, विवाह दर्ता नगराएकोलगायतका समस्याहरू समावेश छन्।

प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले भने, “हाम्रा प्रयासहरू गर्दा अधिकांश समस्याहरू मिलापत्रबाट समाधान भएका छन्। हामीले जटिल मुद्दाहरूलाई मात्र अदालतमा पुर्याउने गरेका छौं।”

घरेलु हिंसाका उजुरीको समाधानमा प्रहरी र विभिन्न संघसंस्थाको संयुक्त पहलले ठूलो भूमिका खेलिरहेको छ। महिला अधिकारका क्षेत्रमा सक्रिय साथी संस्थाकी संयोजक बिमला घिमिरेले बताइन्, “हामी महिलाहरूको समस्यामा प्राथमिकता दिन्छौं। समस्या खुल्दैन भने, प्रहरीको सहयोगमा समाधान खोज्छौं। जटिल मुद्दा मात्रै अदालतमा लैजान्छौं।”

जिल्ला प्रहरी उपरीक्षक नवरत्न पौडेलले महिला समस्यामा विशेष ध्यान दिइएको उल्लेख गर्दै भने, “महिलाले घर सम्हाल्ने र परिवार चलाउने भएकाले उनीहरूको समस्यामा प्राथमिकता दिइन्छ। घरेलु हिंसाका घटनामा पीडित महिलाले अदालतमा जान चाहँदैनन्, त्यसैले मिलापत्रमार्फत समस्याको समाधान गर्ने कामलाई जोड दिइन्छ।”

आर्थिक वर्ष २०७९÷८० मा ३५२ उजुरी मध्ये ३२१ वटा मिलापत्रमा समाधान गरिएको र ३१ वटा मात्र अदालतमा पुगेको आँकडा प्रस्तुत गरिएको छ। यसरी, महिलाहरू अझ खुलस्त र सजग भएर आफ्ना समस्यालाई बाहिर ल्याउन थालेका छन्। यसले सामाजिक संवेदनशीलता र कानुनी प्रक्रिया सुधारमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।

कपिलवस्तु जिल्लामा घरेलु हिंसाका मुद्दाहरूको समाधानमा मिलापत्रको महत्व बढ्दै गएको छ। महिलाहरूको हकअधिकारका लागि कार्यरत संघसंस्थाहरू र प्रहरीको सक्रियताले घरेलु हिंसाका ९० प्रतिशत मुद्दा मिलापत्रमा समाधान भएको देखाएको छ।

प्रतिक्रिया

खबर सबै