हेयभावका कारण ज्यान गुमाउँदै एचआईभी संक्रमित, कपिलवस्तुमा ११ संक्रमितको मृत्यु

कपिलवस्तु | कपिलवस्तु जिल्लामा पछिल्लो एक वर्षको अवधिमा ११ जना एचआईभी संक्रमितको मृत्यु भएको छ। आर्थिक वर्ष २०८०÷८१ मा ८ जना पुरुष र ३ जना महिलाले एचआईभी संक्रमणका कारण ज्यान गुमाएका हुन ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, कपिलवस्तु अस्पतालको एआरटी सेन्टरमा ७ जना र महाराजगंज एआरटी सेन्टरमा ४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य कार्यालयका फोकल पर्सन, माहोम्मद ईरफान खाँका अनुसार, संक्रमित व्यक्तिहरूको मृत्युको प्रमुख कारणमा एआरटी सेन्टरमा नियमित सम्पर्कमा नहुनु र औषधि सेवनमा लापरवाही गर्नु देखिएको छ। हालसम्म जिल्लामा १४७ जना एचआईभी संक्रमितको मृत्यु भइसकेको छ।

तौलिहवामा ७८७ र महाराजगंजमा १५० जना संक्रमित रहेको दर्ता छ, तर तौलिहवामा ४८९ र महाराजगंजमा ११७ जनाले मात्र नियमित रूपमा एआरटी औषधि सेवन गरिरहेका छन्। ९२ जना संक्रमित सम्पर्कविहीन भई औषधि सेवन गर्न छाडेका छन्, जसका कारण उनीहरूको स्वास्थ्य स्थिति चिन्ताजनक बनेको छ।

यद्यपि एआरटी सेन्टरमा सबै सेवाहरू निःशुल्क उपलब्ध छन्, अझै पनि हेयभाव, भेदभाव र डरले धेरै संक्रमितहरू स्वास्थ्य सेवामा पहुँच पाउन सकेका छैनन्। कपिलवस्तु अस्पताल र महाराजगंजमा एआरटी सेन्टर सञ्चालनमा छन्, जहाँ सिडीफोर काउन्ट र आवश्यक औषधिहरू उपलब्ध छन्।

तौलिहवा एआरटी सेन्टरकी परामर्शदाता जरिना खातुनका अनुसार, ुयहाँबाट सबै आवश्यक सेवाहरू प्रदान गर्ने प्रयास गरेका तर लामो समयदेखि सम्पर्कविहीन रहेका संक्रमितहरूको उपचारमा लापरवाहीका कारण समस्या उत्पन्न भएको छ।

जिल्लामा ८२७ जना दर्ता भएका संक्रमितमध्ये ६०६ जनाले मात्र एआरटी औषधि सेवन गरिरहेका छन्। जिल्ला एड्स समन्वय समितिले जिल्लामा कुल १६०० जना संक्रमित रहेको अनुमान गरेको छ। भारतमा रोजगारीका लागि गएका धेरै व्यक्तिहरू असुरक्षित यौन सम्पर्कका कारण संक्रमित भएका छन्, जसले गर्दा संख्यामा वृद्धि भएको बताइएको छ।

प्रतिक्रिया

खबर सबै