ई–साझाकुरा आजदेखि उत्सवमय ‘पाँचौ वर्ष’मा प्रवेश


साझाकुरा । साझाकुरा मिडिया ग्रुप प्रा.लिद्धारा वि.सं. २०७७ साउन १४ गते अर्थात आजकै दिनबाट औपचारिक रूपमा सञ्चालित समाचार पोर्टल ई–साझाकुरा सगौरव चौथो वर्ष पुरा गरी पाँचौ वर्ष प्रवेश गरेको छ ।

यो उत्सवमय पाँचौ वर्ष प्रवेशको खुसी साट्दै गर्दा हाम्रा सम्पूर्ण पाठक, श्रोता–दर्शक, समाचार स्रोत, लेखक, विज्ञापनदाता, शुभेच्छुक सबैप्रति हामी हार्दिक हार्दिक आभार प्रकट गर्दछौं । तपाईंहरुको असीम माया र सद्भाव अनि हाम्रो निरन्तरको मिहेनतले ई–साझाकुरा विश्वभर रहेका सबै नेपालीको साझा समाचार पोर्टल बन्न सफल भएको छ ।

नेपाली जनताको दशकौंदेखिको संघर्ष र त्याग तथा नेपाल आमाका हजारौं सर्वोत्तम छोराछोरीको बलिदानको बदलामा संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर यो युगीन परिवर्तनको रक्षा र नेपालीको भलोका पक्षमा अहोरात्र पहरेदारी गर्न हामी प्रतिबद्ध छौं । सुन्दर नेपाललाई शान्त, सभ्य र समृद्धसमेत बनाउन अनि हँसिलो जाति नेपालीको जीवनमा खुशीयाली थप्न हामी सदा प्रयत्नशील छौं।

राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रताका पक्षमा हामी अग्रमोर्चामा अविचलित छौँ । मुलुकको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा तथा क्षेत्रीय, जातीय र धार्मिक सद्भाव सम्वर्द्धनप्रति हामी समर्पित छौं । डिजिटल अक्षर, स्वर, तस्बिर र श्रव्यदृश्यको माध्यमबाट हामी वर्तमानको अभिलेख राख्छौँ ।

राष्ट्रिय राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरुमा विशेष केन्द्रित ई– साझाकुरामा छिनछिनका ताजा समाचार, खोजमूलक रिपोर्टहरुका अतिरिक्त शिक्षा, विज्ञानप्रविधि, साँस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकूद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरु हाम्रा पाठक, दर्शक र स्रोताहरुका खास सामग्री बनीरहेका छन् ।

जनमानसमा सामान्यतया के छाप छ भने पत्रकारहरु नराम्रा विषयका, बेथितिका, भ्रष्टाचारका, बिग्रेका, भत्केका, मरेका, लथालिंग र भताभुंग भएका मात्र समाचार लेख्छन्, राम्रो कामको समाचार नै लेख्दैनन् । तर ई–साझाकुराको हकमा भने त्यो आरोप मात्र हो, सत्य होइन । किनभने हामी राम्रो काम गर्न खोज्नेलाई शुभ साइतको रातो टीका लगाइदिन्छौं । राम्रो काम सफलतापूर्वक सम्पन्न गर्नेलाई विजयको रातो अविर लगाइदिन्छौं । हो, कसैले नराम्रो काम गर्छ वा समाजमा नराम्रा घटना भएका छन् भने हामी बिना हिच्किचाहट रातो चिन्ह पनि लगाइदिन्छौं ।

प्रलोभनमा परेर नराम्रोलाई राम्रो र पूर्वाग्रह राखेर राम्रोलाई नराम्रो भन्दैनौं हामी । जो कसैले गरेको भएपनि राम्रो कामलाई राम्रो भन्छौं अनि जो कसैले गरेको किन नहोस्, नराम्रो काम छ भने नराम्रो नै भन्छौं । पेशाप्रतिको निष्ठाका कारण जे, जे हो त्यो भन्ने नैतिक बल हामीसँग छ ।

हामी हेक्का राख्छौं, नागरिकको पनि कर्तव्य हुन्छ र राष्ट्रप्रमुख, सरकार प्रमुखहरुको पनि अधिकार हुन्छ । हाम्रो मुख्य दायित्व भने आवाजहीन आमनागरिकको हक–अधिकारको रक्षा गर्नु र सार्वजनिक ओहोदाधारी वडा सदस्यदेखि मुख्यमन्त्री, प्रधानमन्त्री एवम् राष्ट्रपतिसम्मलाई आ–आफ्नो कर्तव्यप्रति सजग, सक्रिय र जिम्मेवार तुल्याउनु हो ।

नागरिकले तिरेको करबाट पालिएका जङ्गी हुन् कि निजामती कर्मचारी, आ–आफ्नो कर्तव्य र जिम्मेवारीमा– मुलुकको सार्वभौमसत्ताको रक्षा र राष्ट्रिय हितको जगेर्ना गर्न, समाजमा अमनचयन राख्न, सुशासन र नागरिकलाई सेवा प्रदान गर्न, विकास निर्माण तीब्र पार्न– इमान र लगनका साथ क्रियाशील हुन नचुकुन् भन्ने हाम्रो अभिप्राय हुनेछ ।

निजी क्षेत्रका गतिविधिमाथि पनि हामी निरन्तर निगरानी गर्छौं । नाफाखोर, बिचौलिया र भुइँफुट्टा वर्गको ज्यादतीबाट भुइँमान्छेलाई जोगाउनु हाम्रो चुनौतीपूर्ण जिम्मेवारी हो । पत्रकारिताको प्रमुख हतियार हो, प्रश्न । हामी पनि प्रश्न गरेरै जुनसुकै घटना र विषयमा के, कहाँ, कहिले, किन, कसरी र कस्तोको सांगोपांगो जवाफ खोज्छौं । त्यसैले पत्रकारिताको सर्वमान्य चरित्र अर्थात् तथ्यपूर्ण, सन्तुलित र विश्वसनीयताको कसीमा हामी उम्दा ठहरिन र लोकप्रिय बन्न सफल भएका छौं ।

ई–साझाकुराको वर्तमान लोकप्रियता कायम राख्न र थप उचाइमा पुर्याउन हामीले सम्पूर्ण पाठक, श्रोता–दर्शक, समाचार स्रोत, लेखक, विज्ञापनदाता, शुभेच्छुकबाट विगतमा भन्दा पनि बढी साथ, सहयोग र समर्थनको अपेक्षा गरेका छौं ।

आजको दिन सम्म आइपुग्दा साथ दिने सम्पूर्णमा साझाकुरा मिडिया ग्रुप प्रा.लिको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौँ ।

प्रतिक्रिया