एक वर्ष नहुँदै भत्कियो शुद्धोधनको ‘भुसुडी–छपिया सडक’


साझाकुरा,कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर २ को भुसुडी–छपिया सडक निर्माण भएको एक वर्ष पनि पुरा नहुँदै भत्किएको छ । यो सडक निर्माणकै क्रममा विवादमा परेको थियो ।

गाउँपालिकाले गत वर्ष ईबिडिङ मार्फत ठेक्का लगाइ निर्माण गरेको भए पनि निर्माणकै क्रममा कर्मचारीले मिलेमतो गरेको आरोप लागेको थियो । यो सडक रुपन्देहीको मेसर्सदेव कन्र्सट्रक्सनले ९८ लाख ६६ हजार ३३ रुपैँयामा ठेक्का पाएपछि काम गरेको थियो । निर्माणाधिन अवस्थामै गाउँपालिकाका इन्जिनियरले आफ्ना ससुरालाई निर्माण पुरा नहुँदै प्रतिवेदन तयार गरी रकम भुक्तानी दिन खोजेको भन्दै गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (लाला) ले बिरोध गरेका थिए । उनले गाउँकार्यपालिका बैठकमा समेत नोट अफ डिसेन्ट लेखेर भुक्तानी रोक्न माग गरेका थिए । गाउँपालिका उपाध्यक्ष चौधरीले सडक कमसल बनाएको भन्दै भुक्तानी रोक्नका लागि माग गरेका थिए ।

अहिले यो सडक निर्माण भएको एक वर्ष पनि नबित्दै भत्किएको छ । निर्माणकै क्रममा विवादित बनेको सडकको गुणस्तरमा समेत प्रश्न उठिरहेका बेला गाउँपालिकाले कागजात मिलाएर ठेकेदारलाई रकम भुक्तानी दिएको थियो ।

उता सडक निर्माणका क्रममा विवाद चुलिँदै गएपछि कर्मचारीहरुले आफूहरुले सो सडकको पटक पटक अनुगमन गर्दै आएको दाबी गरेका थिए । गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुले पटक पटक अनुगमन र निरीक्षण गरी बनाएको सडक अहिले कसरी भत्कियो गम्भिर प्रश्न उब्जिएको छ ।

असार मसान्तका समयमा हतार हतारमा निर्माण गरिएको उक्त सडक सम्पन्न गर्न लुम्बिनी प्रदेश सरकार र शुद्धोधन गाउँपालिकाबाट दुई छुट्टाछुट्टै बजेटमा निर्माण गरिएको थियो । तर सडकको किनार भासिएको छ । जसका कारण प्रदेश र पालिकाको बजेटमा केही व्यक्तिको मनपरी प्रयोगको आशंका उब्जिएको छ ।

कुल ८५० मिटर सडक कालोपत्रे भएको उक्त सडकको गाउँपालिकाले डेढ करोडको बजेटमा ९८ लाख ६६ हजार ३३ रुपैँयामा ठेक्का सम्झौता गरेको थियो । त्यसमा पनि गाउँपालिकाले ठेकेदारलाई सडक निर्माणको अवस्था र मुल्याङ्कन गरी करिब ८६ लाख रकम भुक्तानी गरेको गाउँपालिकाका इन्जिनियर कुस्मावती देवी चौधरीले बताइन । “बाटो हो, यो त भत्किहाल्छ नि । हामीले भत्किने सडकलाई रोक्न सक्दैनौ।” उनले भनिन् ।

प्रतिक्रिया

खबर सबै