बाणगंगा नगरपालिकाको चक्रपथ योजना : ६ वर्षदेखि योजनामै सिमित

तस्बिर : नगर चक्रपथ अन्र्तगत पर्ने बाणगंगा ८ मा पर्ने मोर्मी–बर्दहवा सडक खण्ड ।

साझाकुरा, जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिकाले पहिलो वर्षको कार्यक्रमबाटै नगरको एउटा गौरवको योजना अघि सार्याे । नगरपालिकालाई सडक सञ्जाल र यातायात सुविधाले सबै वडालाई प्रत्यक्ष जोड्ने उद्देश्यका साथ नगरको चक्रपथ योजना सुरु गरिएको भए पनि अहिले यो योजना अलपत्र जस्तै छ । आर्थिक वर्ष २०७४/०७५ बाट तत्कालिन नगर प्रमुख मंगलप्रसाद थारुको नेतृत्वको नगरकार्यपालिकाले नगरसभाबाट पारित गराई नगरको निति तथा कार्यक्रममा राखेको यो योजना ७ वर्ष बितिसक्दा समेत अघि बढ्न सकेन ।

बाणगंगा नगरपालिकामा रहेका एघार वटा वडालाई नगरको चक्रपथ योजनामा जोड्ने र नगरपालिकाको कार्यालयलाई केन्द्र मानि सबै वडाका नागरिकलाई केन्द्रसँग जोड्ने नगरको योजनालाई धेरैले राम्रो भनेका थिए । सुरुका केही वर्ष नगरपालिका योजना बनाउन व्यस्त होला भन्ने ठानेका नगरबासी पछिल्ला वर्षका निति तथा कार्यक्रम र बजेटमा समेत यही एउटै योजना जस्ताको त्यस्तै घोषित हुँदा भने योजना कार्यान्वन हुनेमा विश्वस्त देखिदैनन् । योजनाले सार्थकता पाउने सम्भावना झिनो हुँदै गएपछि नगरपालिकाले अघि सारेका अन्य गौरवका आयोजनाको अवस्था समेत के होला भन्ने जिज्ञासा थपेको छ ।

बाणगंगा नगरपालिकाको चक्रपथ योजनाको लम्बाई १७ किलोमिटरको हुने बताइएको छ । नगर प्रमूख चक्रपाणि अर्यालका अनुसार हाल चक्रपथ योजनाको सडकलाई नक्साङ्कन गर्ने कार्य सकिएको भए पनि अन्य काम बाँकी छ । नगरपालिकाले ७ वर्ष लगाएर योजनाको सडक नक्साङ्कन मात्रै सकाएको छ । नगर प्रवक्ता विष्णु पौडेलले वडा नम्बर १० को पटनाबाट सुरु भई चक्रपथको सडक वडा नम्बर ९ भलवाडमा पुगेर अन्त्य हुने बताए । यद्यपी यसको वास्तविक ट्रयाक अझै कहाँ देखि कहाँ भन्ने पनि यकिन नभएको बताइन्छ ।

चक्रपथले वडा नम्बर १० को पटनाबाट सुरु भई वडा नम्बर २ को पिपरा, १ को बैरिया, चार नम्बर तथा वडा नम्बर ८ को बोडगाउँ–मोर्मी हुँदै वडा नम्बर ९ भलवाड जिनुवालाई जोड्ने योजना हो । यो योजना सम्पन्न भए नगर बस सञ्चालन गर्ने र नगरबासीलाई चक्रपथ योजनाको सुविधा प्राप्त हुने विश्वास लिइएको भए पनि चक्रपथको चक्रले नगरलाई नै अलमलमा पारिरहेको छ ।

यो योजना अन्र्तगतका अधिकाशं सडक हाल कालोपत्र भइसकेका छन भने कतिपय सडकहरु सडक विभागकै योजनामा बनिसकेका छन् । तर नगरपालिकाले योजना पुर्ण गराउन गर्नुपर्ने पहल भने कमजोर देखिएको छ । विशेष गरी अब वडा नम्बर ८ को मोर्मी देखि वडा नम्बर ९ को बर्दहवा सम्मको सडक कालोपत्रे गर्ने मुख्य काम बाँकी छ । यहाँ पर्ने कोइली खोलामा मोटरेवल पुल बनिसकेको छ भने अर्काे कोइली खोलामा पुल बन्ने प्रक्रियामा रहेको छ ।

योजना सुरु देखि, कहिले के भनियो ?

नगरको चक्रपथ योजनालाई प्रथामिकतामा राखेको बाणगंगा नगरपालिकाले सुरुको वर्ष देखि नै यो योजनालाई नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको भए पनि काम प्रगति कमजोर देखिएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा नगर यातायात गुरुयोजनाका आधारमा नगरमा चक्रपथ निर्माण, दुई जिल्ला जोड्ने सडकहरु र मुख्य मुख्य नगरका मुख्य रणनितिक सडकहरुलाई उपयुक्त ढलनिकास सहित आगामी ५ वर्ष भित्र कालोपत्र गर्ने निति लिइएको थियो । तर यो कामपनि नगरपालिकाले योजना मुताविक सम्पन्न गर्न सकेन ।

आर्थिक वर्ष २०७६/०७७ मा नगरपालिका क्षेत्र भित्र आधुनिक वसपार्क निर्माणमा पहल गर्ने र नगरपालिकाको सम्पूर्ण भुगोललाई यातायात सञ्जालले जोड्ने कार्यलाई तिव्रता दिई वृहत्तर हरियाली वाणगंगा चक्रपथ निर्माण गर्ने भनिएको भए पनि चक्रपथ योजना कछुवा गतिमा छ ।

आर्थिक वर्ष २०७७/०७८ मा तत्कालिन मेयर मंगल थारुले आ.व २०७६/७७ कै योजनालाई जस्ताको त्यस्तै निति तथा कार्यक्रममा चक्रपथ योजनालाई राखे । तर काम भने शुन्य जस्तै भयो । वसपार्क निर्माण सुरु गर्ने समेत भनिएको थियो । अहिले सम्म नगरपालिकामा बसपार्क समेत बन्न सकेको छैन ।

आ.व २०७८/०७९ मा नगरको चक्रपथ ट्रयाक विस्तार र स्तरोन्नतीको याजनालाई निरन्तरता दिने भनियो । यो वर्ष पनि पूर्ण रुपमा सडकको ट्याक विस्तार समेत हुन सकेन ।

आर्थिक वर्ष २०७९/०८० को नगरको निति तथा कार्यक्रम बनाउन नगर प्रमूख चक्रपाणी अर्याल आए । उनी यस अघि उप प्रमूख थिए । उप प्रमूखको अनुभव लिएका अर्याल नगर प्रमूखमा निर्वाचित भएपछि उनले राम्रो काम गर्नेमा धेरैको अपेक्षा थियो । नगर प्रमूख अर्यालले त्यस अघिका केही महत्वपूर्ण योजनालाई चटक्कै छोडे भने थप नयाँ कार्यक्रम समेत ल्याउन सकेको देखिदैन । म सफा गर्छु मेरो नगर अभियान मेयर अर्याल निर्वाचित भएपछि अलपत्र पर्याे भने केही महत्वकांक्षी योजनाहरु सुनाएका अर्यालले खास कार्यान्वयनमा चासो दिन सकेनन् । भान्छामै औषधालय, आकाशे पुल निर्माण, बसपार्क निर्माण, स्थायी डम्पिङ साइडका लागि स्थान निर्धारण तथा निर्माण जस्ता महत्वपूर्ण कार्यक्रम उनले सुरु समेत गर्न सकेका छैनन् । उनले “नगरको समृद्धिको आधार, फराकिलो र व्यवस्थित सडक पूर्वाधार” भन्ने नारालाई आत्मसाथ गरी सडक निर्माण तथा बिस्तार गर्ने कार्यलाई निरन्तरता दिइनेछ भनि निति तथा कार्यक्रममा उल्लेख गरे । नगर यातायात गुरुयोजनाले तोकेको मापदण्ड र प्राथमिकताको आधारमा स्तरोन्नति भएका कच्ची सडकहरुलाई क्रमशः कालोपत्रे गर्ने र सो बाहेकका मुख्य मुख्य सडकहरु र गाउँ भित्रका परम्परागत सडकहरुको स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइने भनिएको भए पनि नगरको चक्रपथ योजनाले पुर्णता पाउन सकेन ।

तेह्रौं नगर सभा अधिवेसनमा पेश भई स्वीकृत भएको आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रममा समेत नगरपालिकाको गौरवको योजनाको रुपमा रहेको “बाणगङ्गा चक्रपथ” निर्माणको काम सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाइने भनियो । साथै बाणगङ्गा चक्रपथलाई समेटने गरी “नगरबस सञ्चालन”गर्ने सस्तो घोषणा गर्न हतरीएको नगरपालिकाले चक्रपथकै योजना पुरा गर्न सकेको छैन । यसअघि तत्कालिन मेयर मंगल प्रसाद थारुको नेतृत्वमा चक्रपथ योजना अन्र्तगतकै सडक वडा नम्बर ८ र ९ हुँदै वडा नम्बर ७ सम्म तामझामका साथ बाजागाजासहित उद्घाटन तथा यातायात संचालन गरिएको थियो । हाल यो सडकको दुरावस्थाले चक्रपथ योजनालाई गिज्जाइरहेको छ ।

वडा नम्बर ८ को बोडगाउँ देखि मोर्मी–कोइलीगाउँ–केही वन क्षेत्र हुँदै वडा नम्बर ९ को बर्दहवा–जिनुवा–चौवाहबाट वडा नम्बर ७ लाई जोड्ने गरी आर्थिक वर्ष २०७४/०७५ मा यो चक्रपथको भव्य उद्घाटन समेत भएको थियो । तर अहिले भने यो सडकको न स्तरोन्नती भएको छ, न मर्मतसम्भार नै । नगर बस संचालनको उद्देश्य भएको भए पनि नगरपालिकाले अहिले सम्म यो पथमा बस संचालन गर्न सकेको छैन ।

बाणगंगा नगरपालिका वडा नम्बर ८ र वडा नम्बर ९ सँग जोड्ने बोडगाउँ–मोर्मी–बर्दहवा–जिनुवा खण्डको मोर्मी देखि बर्दहवा सम्मको करिब ३ किलोमिटर सडकको मर्मतमा दुबै वडाले चासो नदिएको स्थानीयले गुनासो गरेका छन् ।

तत्कालिन समयमा नगर उप प्रमूख रहेका चक्रपाणी अर्याल हाल नगर प्रमूख छन् । उनले चालु आर्थिक वर्षको बजेटमा समेत नगर चक्रपथ बनाउने योजनालाई गुरुयोजनाको रुपमा राखेका छन् । उनको चुनावी घोषणा पत्रमा समेत यो बुँदा प्राथामिकतामा थियो तर गुरुयोजनाको एक प्रतिशत काम पनि यो सडकमा भएको छैन । अन्य वडाका चक्रपथ अन्र्तगतका सडकमा कालोपत्रे समेत भइसक्दा वडा नम्बर ८ र ९ को यो सडकमा मर्मतको बजेट समेत नगरले विनियोजन नगर्दा समस्या हुने गरेको छ ।

यो सडक खण्डमा अहिले सम्म २ वटा मोटरेवल पुल बनिसकेका छन भने कोईली खोला (ख) को बर्दहवामा हाल पुल निर्माण सुरु भएको छ । यसले पनि नगर चक्रपथ योजनालाई थप सहयोग पुगेको देखिन्छ । मोर्मी– बर्दहवा खण्डमा पर्ने कोइली खोला (ख) मा पुल नहुँदा यो सडक हिउदे सडकको रुपमा मात्रै अहिले सम्म प्रयोग हुने गरेको थियो । अब पुल निर्माण सम्पन्न भए पश्चात नगरको गौरवको याजनालाई मद्धत पुग्ने छ । हाल यहाँ पुल निर्माणका लागि करिब १४ करोडको बजेट विनियोजन भई टेण्डर समेत भएर निर्माण सुरु भएको हो ।

होला त नगर बस संचालन ?

बाणगंगा नगरपालिकाको महत्वकांक्षी योजना अन्र्तगतको चक्रपथ योजना सम्पन्न भएकै अवस्थामा पनि नगर बस संचालन गर्न चुनौती छ । नगर बस संचालन हुनेमा यहाँका जनप्रतिनिधिहरु नै अलमलमा छन् । बाणगंगामा नगर बस संचालन हुनेमा कुनै सुइँको समेत छैन । सडक सञ्जालले नगरका सबै वडालाई समेट्दा समेत यहाँ नियमित यातायात सुविधा नहुँदा कतिपय वडाहरु अझै पनि सडक सञ्जालले जोडिएर पनि यातायात सुविधाबाट बञ्चित छन् । नगर बस संचालन हुनेमा आशावादी रहेका नागरिक यो योजनाको प्रगति हेर्दा भने निराशा पालेर बस्नुको विकल्प देख्दैनन् । भौगोलिक हिसाबले सहज रहेको तराईमा समेत सडक सञ्जाल र यातायात पहुँचमा नगरपालिकाले गाम्भिरयता नदेखाउँदा भने गौरवको योजनाको कार्यान्वयन अवस्थामाथि नै प्रश्न उब्जिरहेको छ ।

अझै बनेन स्थायी डम्पिङ स्थान

कपिलवस्तुको वाणगंगा नगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भई आएदेखि फोहोर फ्याँक्ने स्थायी डम्पिङ साईड बनाउने विषय प्रथामिकतामा परेको र धेरै चर्चाको विषय पनि हो । विषय प्रथामिकतमा पर्ने गरेको भए ता पनि काम भने शुन्य स्थितिमा छ । यसैका बिचमा संचालन गरिएको म सफा गर्छु मेरो नगर अभियान सुरुका केही महिना संचालन भएको भए पनि अहिले सबैले बिर्सिएका छन् ।

पुर्व पश्चिम राजमार्गको वाणगांग नदी किनारमा सडक पेटी सम्मै आउने गरी फोहोरको डङ्गुरले हैरान बनेको नगरपालिका स्थायी ल्याण्ड फिल्ड साइट बनाउन दौडधूप गरिरहेको भए पनि उचित स्थानको निश्कर्षमा पुग्न सकेको छैन । नगरको स्थायी ल्याण्ड फिल्ड साइट बनाउन वडा नम्बर ९ को नमुना सामुदायिक वन क्षेत्र तोकिएको भए पनि यहाँका स्थानीयले बिरोध गरेपछि यो योजना समेत अलपत्र जस्तै छ ।

यस वर्ष पनि नगरपालिकाले यो विषयलाई प्राथामिकताका साथ उठाएको थियो तर कार्यान्वयन अवस्था कमजोर छ । स्थान छनौट र त्यसको योजना बनाउँदै अहिले सम्मका वर्षहरु बिते पनि स्थायी डम्पिङ साईड नबन्दा वाणगंगाको फोहोर रुपन्देहीको एक प्रशोधन कम्पनीले लैजाने गरेको थियो । कतिपय अवस्थमा बाणगंगा पुल क्षेत्रमै फोहोर फालिँदा सडक क्षेत्र नै दुर्गन्धित बन्ने गरेको छ ।

प्रतिक्रिया

खबर सबै