नेपाली श्रमिकको सिप बढाउन सहयोग गर्ने अमिर थानीको प्रतिबद्धता


काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार भएको द्विपक्षीय भेटवार्तामा उनले नेपाली श्रमिकको प्रशंसा गरे । कतारमा हाल ३ लाख ६० हजार हाराहारीमा श्रमिक छन् ।

कतारका अमिर थानीले ती नेपालको प्रशंसा गर्दै आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । उनले नेपाली श्रमिकको सिप अभिवृद्धि गर्न पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

लाखौँ नेपालीलाई रोजगारी दिइरहेको श्रम गन्तव्य मुलुक कतारका शासकको नेपाल भ्रमणलाई दुई देशको सम्बन्ध विकास र त्यहाँ कार्यरत नेपालीको हितमा महत्त्वपूर्ण हुने ठानिएको छ ।

कतारको पछिल्लो विकासे फड्कोलाई संसारले अद्भुत भनेको छ । दक्षिण एसियाली मुलुकबाट श्रमशक्ति खिचेर देशको विकासलाई हाँकीरहेको कतारलाई तेस्रो श्रमशक्ति नेपालले प्रदान गर्दै आएको छ ।

यस्तै द्विपक्षीय वार्तामा कतारी अमिरले नेपालको ऊर्जा, कृषि, यातायातमा नेपाल र कतारका तर्फबाट छलफल गर्ने र लगानीका क्षेत्रको खोजी गर्ने विषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया