सितगंगामा गिरबहादुरको च्याउ फर्म, वर्षैभरी उत्पादन (भिडियोसहित)

अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर २ का स्थानीय गिरबहादुर गुरुङलाई यतिबेला च्याउ उत्पादन गर्ने र उत्पादित च्याउको बजारीकरण गर्न भ्याइनभ्याइ छ । उनको च्याउ फर्म इलामका बेदबहादुर खवासको टोलीले बनाइरहेको छ । केही च्याउ उत्पादन भई बजारमा पठाइदै छ भने केही टनेलमा च्याउका बिउ राखिदै छ ।
कपिलवस्तुको गोरुसिँगे देखि अर्घाखाँची यात्राका क्रममा सितगंगाको डमरु दह देखि केही ओरालो यात्रा गरेपछि सडकबाट प्रष्टै देखिन्छन् गिरबहादुर दाइको च्याउ फर्म । प्रसिद्ध सुपादेउराली नपुग्दै फरक मौसम ( बाह्रै महिना चिसो) हुने झोलुङ्गेमा च्याउ फर्म संचालन गरेका गिरबहादुरले अहिले दोस्रो लटको फर्म तयार गरी धमाधम च्याउ उत्पादन गरिरहेका छन् ।
लामो समय पानी घट्ट संचालन गरेका गुरुङ अहिले विद्युतीय मिल र मेसिनका कारण पानी मिल चल्न छोडेपछि कुखुरा पालन पनि गरे । अहिले कुखुरा पालन सँगै ठूलो व्यवसायीक फर्मको रुपमा च्याउ खेती गरिरहेका छन् । उनी यसैमा रमाएका पनि छन् ।
१४ वर्ष पानी मिल चलाएका उनले अहिले विजुलीबाट चल्ने मिलको व्यापक प्रयोग बढेसँगै आफ्नो पेशा र व्यवसायलाई परिमार्जन गर्न पुगेका छन् । दुई जना साथी मिलेर रुमबेरी च्याउ फर्म संचालन गरेका गिरबहादुरले सम्झिन्छन्, पहिले पहिले पानी मिल चलाउदाँ धेरै ठाउँका मानिस कुटानी पिसानी गर्न आउँथे । अर्घाखाँचीका सितापुर, ठाडा, सुर्वणखाल, खाँचीकोट, नरपानी, पत्थरकोट सम्मका मानिसले उनको मिलमा कुटानी पिसानी गर्थे ।
उमेरले ५५ वर्षक गिरबहदुरका श्रीमान श्रीमतीसहित एक छोरा घरमा छन् भने छोरीको विवाह गरिदिएका छन् ।
रुमबेरी च्याउ फर्ममा अहिले उनले १२ लाख बढी लगानी गरिसकेका छन् । उनका १० वटा टर्नेलमा भरिभराउ अहिले च्याउ उत्पदान भइरहेको छ । एउटा टनेलमा ३ सय देखि ३४० डल्ला राखिएको छ । एउटा टर्नेलबाट एक पटकमा १ लाख देखि १ लाख ५० हजार सम्म आम्दानी हुने गरी लक्ष्य लिइएको संचालक गुरुङले बताए । उनी भन्छन् अझै टनेल विस्तार गर्ने योजनामा छु ।


उनले उत्पादन गरेको च्याउले कपिलवस्तु र रुपन्देहीमा राम्रो बजार बनाएको छ । बजारका लागि उनले चिन्ता लिनु पर्ने अवस्था छैन । बुटवलबाट व्यापारीहरुले सम्पर्क गर्छन्, उनले भने यहाँबाट मैले बुटवल जाने गाडीमा पठाइदिन्छु ।
गुरुङ्को फर्ममा उत्पादन भएको च्याउ प्रति के.जी २ सय देखि २५० सम्म पर्ने गर्दछ । उनको च्याउ फर्म तयार पार्न इलामका वेदबहादुर खवास सहितका कालिगडले टनेल निर्माण गरी खाली टनेलमा च्याउको बिउ राख्न पराल उमाल्दै थिए । व्यवस्थित तरिकाले उपयुक्त विधिको प्रयोग गरी टनेल निर्माण गरी उत्पादनमा लागे च्याउबाट राम्रो आम्दानी हुने बेदबहादुरले बताए । उनी देशका विभिन्न स्थानमा च्याउ फर्म तयार गर्दै हिड्ने गर्दछन् । गिरबहादुरको फर्म तयार पारेपछि बेदबहादुर बुटवल तिर जाने तयारीमा रहेका छन् ।
तराइमा गर्मी बढेपछि च्याउको सिजन सकिन्छ । तर अर्घाखाँचीको झोलुङ्गेमा भने गर्मीमा च्याउका लागि उपयुक्त मौसम हुने गर्दछ । यहाँ वर्षभरमा ९ महिना च्याउका लागि मौसम अनुकुल रहने गरेको उनले बताए । जाडो यामका ३ महिना यहाँ च्याउ उत्पदान हुदैन ।
यस अघि यही स्थानमा सन्धिखर्कका केही युवाहरुले केही लट च्याउ उत्पदन गरेका थिए । उनीहरुले जग्गा भाडामा लिएर केही वर्ष च्याउ खेती गरे । उनीहरुले छोडेपछि यही स्थानमा गिरबहादुरले फर्म तयार पारेका हुन । आफ्नै १२ लाख लागनी गरी फर्म तयार गरेका गिरबहादुरले कृषिका कुनै पनि सरकारका अनुदान नलिएको बताउँछन् । उनी भन्छन्, अहिले सम्म त सरकारका कार्यक्रम लिएको छैन, अब यस विषयमा पनि बुझ्ने तयारीमा छु ।
अर्घाखाँची जिल्ला तराईसँग सहजै सडक सञ्जालले जोडिएको भए पनि उपयुक्त र सहज सडक विस्तारमा ढिलाई हुँदा यहाँ कृषिका धेरै सम्भावना रहेर पनि उद्यमीहरु लाभ लिन सकिरहेका छैनन् । तर यहि परिस्थितिका बिच पनि गिरबहादुरले पश्चिम नेपालको मुख्य व्यापारिक केन्द्र बुटवल सम्म आफ्नो सहज पहुँच बनाएका छन् । बुटवलका व्यापारिक सटरहरुमा सितगंगाको झोलुङ्गेमा उत्पादन भएको च्याउ सोझै पुग्छ । व्यापारिहरुले गिरबहादुरको मोवाईलमा क्युआर मार्फत भुक्तानी पठाउँछन् । जसले कृषिमा पहाड र तराईको व्यवसायिक सम्बन्ध प्रविधिले नजिक बनाएको छ ।
अहिले उनको फर्ममा ६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । च्याउ खेती राम्रो सम्भावना देखेक गिरबहादुरले फर्म विस्तार सँगै यसैको निरन्तरता दिने अहिले योजना पनि बनाएका छन् ।

प्रतिक्रिया

खबर सबै