

थाहा पाउनुहोस् रानी महलको रोचक तथ्य (भिडियोसहित)





भारतको ताजमहल जस्तै आफ्नो प्रेमका लागि समर्पण गरिएका चर्चित महलहरूमध्ये पाल्पाको रानीमहल पनि एक हो । राणाकालीन समयमा पाल्पा गौँडाका पश्चिम कमान्डर जनरल खड्ग शमशेरले यसको निर्माण गराउनुभएको थियो । विसं १९४९ मा आफ्नी अत्यन्त प्रिय रानी तेजकुमारी देवीको मृत्युको समयमा भावविह्वल हुनुभएका खड्ग शमशेरले रानीसँग उहाँको स्मृतिमा भारतको आग्रामा रहेको ताजमहल जस्तै बगैँचासहितको दरबार निर्माण गर्ने अन्तिम वचन दिनुभएको थियो ।
भारतमा रहेका बेलायती इन्जिनियर झिकाई पाँच वर्ष लगाएर विसं १९५४ मा निर्माण पूरा गरिएको यस दरबारलाई नेपालको ताजमहलको रूपमा चिनिन्छ । कालीगण्डकी नदीको किनारमा भिरालो चट्टानमाथि निर्माण गरिएको यस दरबार अगाडि आकर्षक तटबन्ध, बगैँचा, पोखरीहरू अवस्थित छन् । नागबेली आकारमा बग्ने कालीगण्डकी, निलो पानी, सेतो बगर, पहाडको छेवैमा, नदीको किनारमा अवस्थित यो महलले अहिले धेरै पर्यटकलाई आकर्षित गर्न सफल भएको छ ।
ऐतिहासिक र पुरातात्त्विक महत्व बोकेको स्थल रानीमहल लुम्बिनी प्रदेश अन्तर्गत पर्ने पाल्पा जिल्लाको सदरमुकामबाट करिब १३ किलोमिटरको दूरीमा अवस्थित छ । यसको इतिहास हेर्ने हो भने राणाकालीन समयमा धीर शमशेरका १७ भाइ छोरामध्येका एक अर्का भाई वीर शमशेर प्रधानमन्त्री भएको समयमा उहाँका भाइ खड्ग शमशेर कमान्डर इन चिफ हुनुहुन्थ्यो । उहाँ चिफ भएको १८ महिनापश्चात् पदच्युत भई पाल्पामा निर्वासित हुनुभएको थियो ।
विसं १९४५ मा उहाँलाई रुपन्देही, कपिलवस्तु, बागलुङ र पर्वतलगायतका क्षेत्रको जिम्मेवारीका साथ पाल्पाको गौँडामा पश्चिम कमान्डर जनरलका रूपमा बस्ने अनुमति दिइएको भनाइ छ तर विसं १९४९ मा उहाँकी पत्नी तेजकुमारीको अकस्मात निधन भयो । मृत्यु हुनुअघि आफ्नी अर्धाङ्गिनीलाई गरेको वाचा अनुसार रानी महलको निर्माण गरिएको इतिहास छ । पाल्पा र स्याङ्जा जिल्लाको सिमाना कालीगण्डकीको किनारमा रहेको यो महलमा धेरै युवक युवती आफ्नो प्रेमलाई थप सफलताको शिखरमा पु¥याउन सकियोस् भनेर रानी महललाई साक्षी राख्न पुग्ने गर्छन् । रानी दरबारको भित्तामा आफ्नो नाम लेखियो भने आफ्नो प्रेम अमर रहन्छ भन्ने विश्वास रहिआएको छ ।
युनानी शैलीमा बेलायती इन्जिनियरहरूले बनाएको रानीमहल कालीगण्डकी नदीको विशाल चट्टानमाथि पश्चिमी कैलाशमा अवस्थित छ । दरबारको बायाँतर्फ शीतल पार्टी दरबार परिसरमा फोहोराका लागि कुँदिएको ढुङ्गाले निर्मित दुई वटा पोखरी र दाहिनेतर्फ पहरा दिने स्थल पनि छ । दरबार परिसरमा बायाँतर्फ शिव लिङ्ग र गङ्गाका दुई मन्दिर छन् । वरपर रहेको बगैँचा र रानीपोखरीले महल आकर्षक देखिन्छ । चार तले भवन ५६ फिट चौडाइ र ११२ फिट उचाइ वरपर हराभरा हरियाली वनले मन आनन्दित बनाउँछ । उत्तर बाहिनी भएर बग्ने पवित्र नदी कालीगण्डकीको पारिपट्टिको वनलाई रानी वन र यहाँको घाटलाई रानी घाट भन्ने गरिन्छ । रानीमहल निर्माण गर्दा जनताले इँटा बनाउने, पर्खाल लगाउने, जङ्लबाट काठ ओसार्ने, काट्ने र कुँद्ने जस्ता श्रमदान भएको भनाइ छ ।
सुर्खी, इँटाको धुलो जस्ता विशेष सामग्रीबाट बनाइएको इँटा र सालको काठबाट महल निर्माण गरिएको छ । यो दरबार पूरा गर्न करिब पाँच वर्ष लागेको थियो । भवनको प्रत्येक टुक्रा विशेष अध्ययनपछि मात्र जडान गरिएकाले यसको निर्माण अवधिसमेत लम्बिन पुगेको भनाइ छ । दर्जनौँ कोठा, सुन्दर पोखरी, मस्जिद, वरपरको सुन्दर बगैँचा, अतिथि कक्षको बनावट र कलाकौशलले भरिपूर्ण यो महललाई एउटा स्वर्गको टुक्रासँग तुलना गर्न मिल्ने त्यहाँ पुगेका पर्यटकको भनाइ छ ।
अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, सामाजिक विविधता एवं ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण पाल्पा जिल्लामा अवस्थित रानीमहल नेपालकै एउटा प्रमुख पर्यटकीय गन्तव्य बनेको छ । पाल्पाको सदरमुकाम तानसेनदेखि बस, जिप जस्ता यातायातका साधनमार्फत करिब २० मिनेटमै पुग्न सकिने भए पनि पैदल यात्राको मजा पनि बेग्लै छ । करिब दुई घण्टाको पैदल यात्रा गर्दैसमेत यहाँ पुग्न सकिन्छ । पैदल यात्राका क्रममा विभिन्न खोलानालाको सुसेलीसँगै वनजङ्गलमा अवस्थित चराचुरङ्गीहरूको चिरिबिरीले थकान महसुस हुन दिँदैन ।
यात्राका क्रममा बिच बाटोमा हात्तीढुङ्गा भन्ने स्थानमा हात्तीको आकृतिसहितको ठुलो ढुङ्गा हेर्दा वास्तविक हात्ती नै देखे जस्तो महसुस गराउँछ । यसपछि केही बेरको हिँडाइपछि पाल्पाको चर्चित वैकुण्ठ झरनाको कलकल पानीको आवाज सुन्दै झरनालाई माथिदेखि तलसम्म नियाल्न पाइने छ । यसको केही समयपछि पर्यटकले आफ्नो गन्तव्य स्थल रानीमहल देख्ने छन् । वरिपरि अग्लाअग्ला डाँडाकाँडाहरू, फेदमा कलकल आवाजमा बग्दै गरेको कालीगण्डकीको छेवैमा स्वर्गकी अप्सरा जस्तै सेतो रङमा सजिएको रानीमहलले सबैलाई मोहित बनाउने गर्छ ।
अहिले यसको वरिपरि विभिन्न रेस्टुरेन्ट खुलेका छन् । जसले गर्दा पर्यटकका लागि बस्ने खाने व्यवस्थासमेत व्यवस्थित बन्दै गएको छ । टाढा टाढादेखि घुमफिर गर्न आउने पर्यटकका लागि रात्रि शिविरको समेत व्यवस्था रेस्टुरेन्टले गर्ने गरेको छ । यसै कारण यहाँ आउने पर्यटकले भरपुर मनोरञ्जनका साथ आफ्नो समय व्यतीत गर्न सक्छन् ।


खबर सबै
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया