युनाइटेडमा ‘अभिभावक खेलकुद उत्सव’


पवनराज पाण्डे, कपिलवस्तु । सधै जसो विद्यालयमा अध्ययनरत बालबालिकाहरुका बिचमा मात्रै हुने खेलकुद तथा अतिरिक्त क्रियाकलापमा अभिभावकलाई पनि सहभागी गराइ कपिलवस्तुको बाणगंगा स्थित एक विद्यालयले खेल सप्ताह मनाएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ८ चप्परगाउँ स्थित युनाइटेड स्टुडेन्टस् माध्यमिक विद्यालयले विद्यालयमा अध्ययनरत बालबालिकाहरुसँगै उनीहरुका अभिभावकहरुलाई खेल सप्ताहमा सहभागी गराएको हो ।

विद्यालायमा आयोजना गरिएको साप्ताहिक खेल उत्सवको अन्तिम दिन सोमबार विद्यालय प्राङ्गणमा आफ्ना बालबालिकाहरुसँगै अभिभावक पनि खेलकुदका कार्यक्रममा सहभागी भएका थिए । तहगत रुपमा भएका विभिन्न प्रतियोगितामा सहभागी भएका अभिभावकले छोराछोरीलाई पढाइसँगै खेल पनि आवश्यक रहने कुरा बुझेको बताए । अभिभावक सरस्वती सारु, माया पोख्रेल लगाएतले बालवालिकाहरुले सधै पढीरहने विद्यालयमा अभिभावकहरुलाई पनि बोलाएर विद्यालयले आफूहरुलाई पनि खेलकुदका कार्यक्रममा सहभागी गराउनु अत्यन्तै नौलो कार्यक्रम रहेको बताउनुभयो ।

कार्यक्रम अन्र्तगत अभिभावकहरुका बिचमा म्युजिकल चियर र पर्ट ब्रेक (घैटो फोर) कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा १५० बढी अभिभावकहरुको सहभागिता रहेको थियो भने सहभागी अभिभावकहरु मध्ये १५ जना विजयी अभिभावकहरुलाई ट्रर्फी, मेडल र सम्मानपत्रले सम्मानित गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण के.सीले यस्ता कार्यक्रमहरुले अभिभावक र शिक्षकहरु बिचको अत्मियतालाई बलियो बनाउनुका साथै विद्यार्थी र अभिभावकका बिचको सामिप्यतालाई मजबुत बनाउन सघाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले बालवालिकाहरुलाई खेलकुद पनि एक अध्ययनको विषय रहेको कुरा अभिभावकहरुले समेत जान्न जरुरी रहने बताउनुभयो ।
विद्यालयमा आयोजना गरिएको सप्ताह अन्र्तगतका कार्यक्रमको सञ्चालन विद्यालयका सह–प्राचार्य राजु अधिकारीले गर्नुभएको थियो भने लेखा प्रमूख प्रेम पाण्डेको स्वागत मन्तव्य रहेको थियो । उक्त खेल सप्ताहको उद्घाटन कार्यक्रम लुम्बिनी प्रदेश योजना आयोगका सदस्य शरोज खनालले गर्नुभएको थियो भने समापन कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव बञ्जाडेले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षकहरु सहित तहगत विद्यार्थी तथा अभिभावहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

प्रतिक्रिया

खबर सबै