

४५औं पटक ‘मटावा’ बने चन्द्रप्रसाद

दाङ । दाङको जलौराका चन्द्रप्रसाद चौधरी फेरि मटावा चयन भएका छन्। मटावा चयन भएको यो उनको ४५औं पटक हो।
थारु समुदायमा सामाजिक न्याय तथा विकास निर्माणका कामको नेतृत्व गर्न नेता चयन गर्ने व्यवस्था छ। कतै बडघर, कतै भलमन्सा त कतै मटावा नाम दिइने गरेको छ। दाङमा मटावा भनिन्छ ।
हरेक वर्ष माघमा मटावा चयन गर्ने चलन छ। घोराही उपमहानगरपालिका–१० जलौराका चन्द्रलाई गाउँकाले सर्वसम्मत रुपमा फेरि मटावामा चयन गरेको स्थानीय लालबहादुर चौधरीले बताए। “४५ वर्षदेखि गाउँको मटावा हुनुहुन्छ। यस पटक पनि सबैले उहाँलाई नै मटावा छानेका छन्,” उनले भने।
चन्द्र पहिलो पटक २०३५ माघमा मटावा बनेका थिए। त्यसयता निरन्तर मटावा बन्दै आएका चन्द्र ७६ वर्षका भए। “हरेक वर्षको माघमा मटावा चयनको लागि हाम्रो घरमा माघी डेवानी हुन्छ,” चन्द्रले भने, “त्यहि माघी डेवानीमा गाउँका मान्छेले यो वर्ष चलाइदिनु प¥यो भन्दाभन्दै मटावाको काम गर्न थालेको ४५ वर्ष भयो।”
उसो त जलौरा गाउँमा झण्डै एक शताब्दीदेखि उनकै परिवार नै नेतृत्व गर्दै आएको छ। २०३५ सालअघि उनका बुवा रुपलाल मटावा थिए। त्योभन्दा अघि बाजे मटावा रहेको चन्द्र सुनाउँछन्। “अहिलेसम्म मेरो बुवा, हजुरबुवाको बिटो मैले थाम्दै आएको छु,” चन्द्र भन्छन्, “म पछि कसले थाम्ने हो, त्यो चिन्ता छ।”
उमेरका कारण मटावा नहुन खोज्दा पनि गाउँलेले नमानेको उनी सुनाउँछन्। सबैले ‘तपाईले नभए को हुन्छ’ भन्ने गरेकाले फेरि नेतृत्व लिएको उनको भनाइ छ। मटावा हुँदा थारु समुदायको पहिचान र संस्कृति नै हराउने हो कि भन्ने चिन्ताले पनि नेतृत्व गरिरहेको उनी बताउँछन्।
अहिले थारु समुदायको मटावा, बडघर, भलमन्सा प्रथालाई स्थानीय सरकारले कानूनी मान्यता पनि दिन थालेका छन्। मटावा, बडघर महासंघ दाङका अध्यक्ष समेत रहेका चन्द्र स्थानीय तहमा पनि यस सम्बन्धी ऐनकानून बनाउन काम भइरहेको बताउँछन्। तुलसीपुर उपमहानगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र दंगीशरण गाउँपालिकामा मटावालाई कानूनी मान्यता दिइएको छ।
बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका धेरैजसो स्थानीय तहमा कानून बनाएर मान्यता प्रदान गरिएको उनी सुनाउँछन्। “घोराही उपमहानगर सहित थारु बाहुल्य रहेका पालिकाका प्रमुख र उपप्रमुखसँग छलफल भइरहको छ,” उनी भन्छन्।
मटावा, बडघर र भलमन्साले थारु गाउँमा सामाजिक, न्यायिक तथा विकास निर्माणका कामको अगुवाइ गर्छन्। सामाजिक, सांस्कृतिक क्रियाकलापमा पनि उनीहरूले नै अगुवाइ गर्ने चलन छ।
चन्द्र थारु संस्कृतिका ज्ञाता पनि हुन्। थारु, कला, संस्कृति लगायतका विषय समेटेर उनले लेखेका सात पुस्तक प्रकाशित छन्।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया