बाणगंगाको चक्रपथ सडक योजना अलपत्र : हिउँदे सडक पनि बनेन

राजेन्द्र खनाल,  कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाको गुरुयोजनामा समावेश गरिएको चक्रपथ योजनाको प्रगति शुन्य प्राय छ । यो योजनाले नगरका एघारवटै वडालाई छुनेगरी नगर बस संचालनको दिर्घकालिन महत्वका साथ जनप्रतिनिधिहरुको पहिलो कार्यकाल मै योजना बनाइएको भए पनि हाल योजना अलपत्र अवस्थामा छ । यसको ज्वलन्त उदाहरण हो, वडा नम्बर ८ र ९ लाई जोड्ने मोर्मी–बर्दहवा सडक ।

वडा नम्बर ८ को कार्यालय देखि मोर्मी–कोइलीगाउँ–केही वन क्षेत्र हुँदै वडा नम्बर ९ को बर्दहवा–जिनुवा–चौवाहबाट वडा नम्बर ७ लाई जोड्ने गरी आर्थिक वर्ष २०७४/०७५ मा यो चक्रपथको भव्य उद्घाटन समेत भएको थियो । तर अहिले भने यो सडकको न स्तरोन्नती भएको छ, न मर्मतसम्भार नै । नगर बस संचालनको उद्देश्य भएको भए पनि नगरपालिकाले अहिले सम्म यो पथमा बस संचालन गर्न सकेको छैन ।

बाणगंगा नगरपालिका वडा नम्बर ८ र वडा नम्बर ९ सँग जोड्ने बोडगाउँ–मोर्मी–बर्दहवा–जिनुवा खण्डको मोर्मी देखि बर्दहवा सम्मको करिब ३ किलोमिटर सडकको मर्मतमा दुबै वडाले चासो नदिएको स्थानीयले गुनासो गरेका छन् । यस सडक अन्र्तगत वडा नम्बर ८ को मोर्मी (कोइलीगाउँ) देखि वडा नम्बर ९ को बर्दहवा सम्म यस अघिका वर्षमा वडाका तर्फबाट दशैँ अगावै सडक मर्मत तथा झाडी सफाई गरी सडकका खाल्डाखुल्डी पुरेर यातायात संचालन गर्ने गरिएको भए पनि यस वर्ष तिहार आउन लाग्दा समेत मर्मत भएको छैन । यस्तै वडा नम्बर ९ मा पर्ने कोइली खोलामा हिउदका बेला अस्थाई ड्राइभर्सन बनाइ यातायात संचालन गर्ने गरीएको भए पनि यस वर्ष त्यो पनि भएको छैन । जसका कारण यो सडक भएर यात्रा गर्नेहरु कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । यस अघिका वर्षहरुमा हिउँदे सडकको रुपमा दशैँ अगावै सडक मर्मत गरी संचालन गर्ने गरिएको भए पनि यस वर्ष भने त्यो पनि भएको छैन ।

केही वर्ष अघि बाणगंगा नगरपालिकाका तत्कालिन नगर प्रमूख मंगलप्रसाद थारुको नेतृत्वमा बाजागाजासहित बाणगंगा चक्रपथको रुपमा यो सडकलाई समेत समेटी उद्घाटन गरिएको थियो । तर उद्घाटन भएको वर्षाै वितिसक्दा समेत बाणगंगा नगरपालिकाले यस सडकको स्तरोन्नतीका लागि कुनै पहल गर्न सकेको छैन । तत्कालिन समयमा नगर उप प्रमूख रहेका चक्रपाणी अर्याल हाल नगर प्रमूख छन् । उनले चालु आर्थिक वर्षको बजेटमा समेत नगर चक्रपथ बनाउने योजनालाई गुरुयोजनाको रुपमा राखेका छन् । तर गुरुयोजनाको एक प्रतिशत काम पनि यो सडकमा काम भएको छैन । नगरको चक्रपथ योजनालाई नै यो सडकले गिज्याइरहेको छ । नगरको चक्रपथ योजना अन्र्तगत वडा नम्बर ८ र ९ को यही सडक हुँदै वडा नम्बर ७ को मोतिपुर–कोइली बनगाई हुँदै वडा नम्बर ६ र ५ लाई जोडेर वडा नम्बर ११ को ओदारी हुँदै पटना–पिपरा–बैरिया हुँदै चारनम्बर जितपुरसँग नगर चक्रपथ योजना बनाउने योजनामा भनिएको थियो । अन्य वडाका चक्रपथ अन्र्तगतका सडकमा कालोपत्रे समेत भइसक्दा वडा नम्बर ८ र ९ को यो सडकमा मर्मतको बजेट समेत नगरले विनियोजन गरेको छैन । अर्काे तर्फ दुबै वडाका वडा अध्यक्षहरु पनि यस सडकको विस्तारका लागि निष्क्रिय रहेको बताइन्छ ।

यस्तै यो सडक खण्डमा विभिन्न स्थानमा गरी चार स्थानमा मोटरेवल पुल बनाउनुपर्छ । तर अहिले सम्म २ वटा मात्रै पुल सम्पन्न भएका छन् । अझै कोईली खोला (ख) मा दुई स्थानमा मोटरेवल पुल बनाउनुपर्ने देखिन्छ । यस मध्ये पनि मोर्मी– बर्दहवा खण्डमा पर्ने कोइली खोला (ख) मा पुल नहुँदा यो सडक हिउदे सडकको रुपमा मात्रै अहिले सम्म प्रयोग हुने गरेको छ । हाल भने यस खोलामा पुल निर्माणका लागि करिब १४ करोडको बजेट विनियोजन भई टेण्डर समेत भएको वडा नम्बर ९ का पूर्व वडा अध्यक्ष धुव्र बेल्वासेले जानकारी दिएका छन् । अहिले करिब तीन किलोमिटर वन क्षेत्रमा समेत समयमै झाडि सफाई नहुँदा सडक नै डरलाग्दो बनेको छ । नगरले हरेक वर्ष बजेट विनियोजन गरिरहेको भए पनि यस खण्डमा शुन्य प्रगतिले बाणगंगाको चक्रपथको योजना अलपत्र बनेको स्पष्ट देखिएको छ ।

उक्त सडकको बाजागाजासहित तामझामका साथ उद्घाटन गर्दाका बखत वडा नम्बर ८ मा गुणानिधी भुषाल र वडा नम्बर ९ मा धुव्र बेल्वासे वडा अध्यक्ष थिए । अहिले यि दुबै वडामा वडा अध्यक्ष नयाँ अनुहारका निर्वाचित छन्। वडा नम्बर ८ मा बाबुराम अर्याल वडा अध्यक्ष छन भने वडा नम्बर ९ मा कमल पौडेलको नेतृत्व छ । तर यी दुबै वडा अध्यक्षहरु निर्वाचित भएको झण्डै २ वर्ष पुग्न लाग्दा समेत दुबै वडाका तर्फबाट कुनै पनि जनप्रतिनिधि यो सडकको उचित विस्तार र मर्मतमा बोलेको पाइएको छैन ।

यता वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले आफुले नगरमा यो सडक मर्मतका विषयमा कुरा गरेको बताएका छन् । उनले भने, मैले नगरमा मेयरसापसँग कुरा गरेको छु, आवश्यक काजगपत्र बनाएर पनि बुझाएको छु, नगर प्रमूख सकारात्मक हुनुभएको छ । अब केही गरी भए पनि सडक मर्मत गर्छौँ ।

वडा अध्यक्ष पौडेलका अनुसार यो सडक मर्मतका लागि वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्याल पनि नगरपालिकामा पुगेका थिए । नगरको चक्रपथ योजना पनि भएका कारण सडक मर्मत गर्न आफुले नगर प्रमूखलाई भनेको वडा अध्यक्ष पौडेलले बताए । उनले कोइली खोला (ख)मा ह्यिुम पाइप राखि नागरिकको यात्रा सहज बनाउने पनि दाबी गरेका छन् ।

प्रतिक्रिया

खबर सबै