कपिलवस्तुका थारु समुदायले मनाए ‘बडकी अटवारी’ पर्व

नरेश थारु, कपिलवस्तु । कपिलवस्तुसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा आज थारु समुदायले बड्की अट्वारी पर्व मनाएका छन् । पश्चिम तराईका कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासी जिल्लाका थारु समुदायले मनाउने ‘बडकी अतवारी’ पर्व आज धुमधामका साथ उनीहरुले मनाएका हुन । थारु समुदायमा बड्की अटवारीलाई एक मुख्य पर्वका रुपमा मनाउने गरिन्छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ५ का थारु संस्कृतीविद महादेव थारुले बडकी अतवारीमा भीमको पूजा गर्ने र सूर्यको दर्शन गर्ने परम्परा रहेको बताउनुभयो । भीम जस्तै बलवान अर्थात् कहिल्यै पनि कुनै पनि प्रकारको रोग नलागोस् भनेर भीम भगवानको पूजा गर्ने चलन थारु समुदायमा यो पर्वका अवसरमा रहेको उहाँको भनाई छ ।

त्यसका साथै यो पर्वमा छोरी चेली, दिदी बहिनी तथा भाञ्जाभाञ्जी बोलाएर चिनी रोटी खाने र खुवाउने वर्षौदेखिको परम्परा छ । पश्चिम तराईका दाङ, बाँके र बर्दिया क्षेत्रका थारु समुदायले यस अघिको आइतबार यो पर्व मनाएका भए पनि कपिलवस्तुसहित रुपन्देही र नवलपरासी क्षेत्रका थारु समुदायले तीजको ६ दिनभित्रै आइतवार प¥यो भने त्यसपछिको आइतबार मात्र यो पर्व मनाउने गरेका छन् ।

थारु कल्याणकारी सभा रुपन्देही सैनामैना नगरपालिकाका सभापति दुलबहादुर चौधरीले आज आइतबार थारू समुदायले अतवारी पर्व मनाउँदै गरेको बताउनुभयो । थारु समुदायका अभियन्ता केवलप्रसाद थारुले थारु समुदायको सबैभन्दा ठूलो पर्वका रुपमा बडकी अतवारी रहेको बताउनुभयो । कपिलवस्तुको बाणगंगाकी सरस्वती थारुले पनि आज थारु समुदायमा बड्की आइतबारी पर्वको उल्लास रहेको बताउनुभयो ।

बडकी अतवारीको अवसरमा आज कपिलवस्तुका पाँच पालिकाले स्थानीय बिदा दिएका थिए भने रूपन्देहीमा पनि अधिकांश पालिकाहरुले सार्वजनिक बिदा दिएका छन् ।

प्रतिक्रिया

खबर सबै