मेरो कल्पनाको देश ‘नेपाल’

डि आर न्यौपाने । मेरो कल्पनाको देश नेपाल । एउटा यस्तो देश हुने छ । जहाँ प्रतक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री सहितको एउटा शक्तिशाली सरकार हुनेछ । मन्त्रीहरु सम्बन्धित बिषयमा बिज्ञता हासिल गरेका हुनेछन । मन्त्री मन्डल सानो हुने छ । त्यहा सबै नैतिकतामा दाग नलागेका जोस र जागरले भरीएका युवा हुनेछन।

सरकार जनता प्रति पुर्ण उत्तरदायी हुने छ। नेता जनताका रोल मोडल हुनेछन। न्यायालय स्वच्छ र पारदर्शी हुनेछ। कुनै पनि न्यायाधीश कुनै पनि प्रलोभनमा बिक्ने छैनन्। एक हप्ता भित्र मुद्दाको फर्स्योट हुनेछ। जनताले न्यालयलाई मन्दिर र न्यायाधीशलाई भगवान समान मान्ने छन ।

सम्पुर्ण शिक्षा र स्वास्थ निशुल्क हुनेछ । यसमा निजि लगानी हुने छैन । काठमाडौको रामेले पाउने शिक्षा र स्वास्थको सुबिधा कालिकोटमा बस्ने कालेले पनि समान पाउने छ । देशका सबै जनताको पहुचमा सडक , यातायात र बिद्धुत पुग्नेछ।सडक चिल्ला र फराकिला हुनेछन। सडकमा ९० प्रतिशत बिद्धुतिय सवारी साधन हुनेछन। सरकारी कार्यालयहरु सफा र प्रबिधि मैत्री हुनेछन।

कर्मचारीहरुको बोलि र व्यवहार मिठो हुनेछ, जनताका समस्यालाई ध्यान दिएर सुन्ने छन र कामहरु फटाफट हुनेछन। पुलिस जनता प्रति निकै उत्तरदायी हुनेछ। देशको कुना कुनामा बिद्धुतिय एक्सप्रेस रेल चल्ने छ म बिहान काठमाडौ गएर दिनभरिमा आफ्नो काम सकेर साँझको खाना खान घरै आई पुग्ने छु। जुम्लामा बिहान टिपेको स्याउ साझ मैले खान पाउने छु ।

देशका लागि आबस्यक पर्ने सम्पुर्ण कृषि उत्पादन यहि हुनेछ।यहाँ उत्पादन हुन नसक्ने मात्र आयात गरीने छ। देशका ठाउँ ठाउँमा ठुला उद्योग र गाउँ गाउँमा घरेलु उद्योगको स्थापना हुनेछ।उत्पादित बस्तुले उचित मूल्य पाउनेछ। त्यसको जिम्मेवार सरकार हुनेछ। निर्यातको तुलनामा आयात नगन्य हुनेछ।

ब्याक्तिगत सम्पतिलाई त्यति धेरै महत्त्व दिइने छैन। सरकारी कर्मचारीलाई न्यायोचित तलब दिइने छ । भ्रष्टाचार लगभग शून्य जस्तै हुनेछ। देशका सबैभन्दा ठुला शत्रु भ्रष्टचारी हुनेछन।काम गर्न सक्ने कोहि पनि बेरोजगार हुने छैन नसक्नेलाई राज्यले हेर्नेछ । यहाँ कोहि पनि खान नपुग्ने गरीब हुनेछैन र कोहि पनि फुर्सदिलो हुने छैन।

अपराध शून्य जस्तै हुने छ । उत्पादनलाई राज्यले प्रोत्साहन गर्ने छ।किसानलाई हेर्ने दृष्टिकोण सबैभन्दा सम्मान जनक हुनेछ । जनताले राज्यलाई बुझाउनु पर्ने कर समयमै स्वस्फूर्त रुपमा बुझाउने र राज्यलाई कर तिर्दा गर्व महशुस गर्ने छन।सबै जनतामा देश भक्ति हुनेछ ।धर्म भन्दा कर्म माहान हुनेछ। सबै भुगोल धर्म र जातका मानिसहरु मिलेर बसेका हुनेछन।नेपाली बिदेश घुम्नका लागि मात्रै जाने छन ।यहाँ बिदेशीहरु घुम्न र काम गर्न आउने छन।

कल्पना गर्दै थिए राति कतिबेला निदाएछु पत्तै पाईन। के यस्तो सम्भब होला ?

प्रतिक्रिया