लक्ष्य भेटाउन असफल कपिलवस्तुका दुवै भन्सार

जितपुर : कपिलवस्तुमा रहेका दुई भन्सार कार्यालयले गत आर्थिक वर्षमा राजश्व संकलनको लक्ष्य पूरा गर्न असफल भएका छन् । जिल्लाको कृष्णनगरमा रहेको भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको ५२.७२ प्रतिशत हाराहारीमा मात्र राजश्व संकलन गरेका छन् ।

विश्वव्यापी आर्थिक मन्दीका कारण कपिलवस्तुको सुठौली नाकामा रहेको सुठौली भन्सार कार्यालय र कृष्णनगर दुवै भन्सार कार्यालयले भन्सार विभागले दिएको लक्ष्यको कमै राजश्व संकलन भएको भन्सार कार्यालयका कर्मचारी बताउँछन् । यसवर्ष सुठौली भन्सार कार्यालयको राजश्व असुली दर समेत घट्दै गएको छ । गएको आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्य भन्दा बढि राजश्व असुल गरेको कार्यालयले त्यसपछि भने लक्ष्य भन्दा कम राजश्व असुली भएको बताएको छ ।

सुठौली भन्सार कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० को मा लक्ष्य भन्दा आधा मात्र राजश्व उठाउन सफल भएको हो । आर्थिक वर्ष २०७८/७९ को चैत्र मसान्त सम्म ७१.१३ प्रतिशत राजश्व असुली गरेको भन्सारले गत आर्थिक वर्ष वर्ष २०७९/०८० को असार मसान्त सम्म ४४.६८ प्रतिशत मात्र राजश्व असुली गरेको छ । भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा दुई अर्ब ७ करोड ९७ लाख २७ हजार रुपैयाँ राजश्व असुल गर्ने लक्ष्य राखेको भएपनि ९३ करोड २८ लाख ६७ हजार रुपैयाँ मात्रै असुल गरेको छ ।

अघिल्लो आर्थिक वर्ष लक्ष्य भन्दा असुली बढि भएपछि भन्सार विभागले सुठौली भन्सार कार्यालयको वार्षिक राजश्व असुली गर्ने लक्ष्य बृद्धि गरी आर्थिक वर्षमा २०७९/८० मा सो रकम निर्धारण गरेको भन्सार अधिकृत चुरा बहादुर सर्तुङ्खीले बताए ।

सुठौली भन्सार कार्यालयका अधिकृत सर्तुङ्खीले आयात घटेको कारणले गर्दा राजश्व असुलीमा संकुचन आएको बताए । उनले गाडी, मोटरसाइकल जस्ता विलासितामा सामानहरु र महंगा सामानहरु यस नाकाबाट आयातमा रोक लगाइएकोले अनिवार्य सामानहरु मात्रै आयात भइरहेको बताए । बैंकहरुले व्यापारीलाई ऋण लगानी नगरेको कारणले पनि सामान आयात घटेको खड्काले बताए । उनले बढेको महंगी, डलरको भाउ बृद्धि, उपभोक्ताको क्रय शक्तिमा क्षयिकरण, बैंकहरुको ऋण लगानी कटौती, तरलता अभाव लगायतको कारणले आयात घट्न गई भन्सार राजश्व असुली पनि संकुचित हुँदै गएको बताए । उनले फलफुल, कोईला, खरानी, खाद्यान्न, तरकारी र केही अन्य सामानहरु मात्रै आयात भइरहेको बताए ।

सबैभन्दा बढि फिनिसिङ्ग सेरामिक्स, बेकरी सामानहरु, आलु, खुर्सानी, पापड, कागज, ब्लांकेट र गलैचा सुठौली भन्सार भएर भारतबाट भित्रिने गरेको छ ।

भन्सारमा चालु आर्थिक बर्षको कुनै पनि महिनामा लक्ष्य अनुसार राजस्व संकलन भएको थिएन । चालु आर्थिक वर्षको साउनमा १४ करोड ७३ लाख लक्ष्य रहेपनि ४४ दशमल ५३ प्रतिशत अर्थात ६ करोड ५६ लाख मात्र राजस्व संकलन भएको थियो । भदौमा १७ करोड ४२ लाखको लक्ष्य रहेकोमा ३७ दशमलव ३३ प्रतिशत ६ करोड ५० मात्र राजश्व उठेको छ । असोजमा १७ करोड ५३ लाखको लक्ष्यमा २७ दशमलव ६१ अर्थात ४ करोड ८४ लाख उठेको छ ।

कार्तिकमा १६ करोड ६४ लाखको लक्ष्यमा ५५ दशमलव १९ प्रतिशत ९ करोड १८ लाख संकलन भएको छ । मंसिरमा १८ करोड ३७ लाखको लक्ष्य मध्ये ५१ दशमलव ३७ प्रतिशत ९ करोड ४३ लाख संकलन भएको छ । पुसमा १९ करोड १४ लाखको लक्ष्यमा ५६ दशमलव ६९ प्रतिशत १० करोड ८५ लाख उठेको कार्यालयको तथ्याङ्कमा छ । आयत, मुल्य अभिबृद्धि कर, अन्तशुल्क कृषि सुधार शुल्क अन्य शीर्षकमा राजस्व संकलन भएको हो ।

‘राजश्व असुलीको लक्ष्य पूरा गर्न नसक्नुको प्रमुख कारण त विश्वव्यापी आर्थिक मन्दीको असर नै हो ,जसका कारण समग्र मालवस्तुको आयातमा ह्वात्तै कमी आयो, त्यससंगै बढि राजश्व उठ्ने इन्धन, नयाँ सवारी साधन र औद्योगिक कच्चा पदार्थको आयातमा पनि कमी भयो ’ भन्सार अधिकृत सर्तुङ्खी बताउछन् ।

यता कृष्णनगर भन्सार कार्यालयले ५२.७८ प्रतिशत राजश्व असुली गरेको भन्सार कार्यालयका प्रमुख गगन बहादुर वि.के ले बताए । भन्सार कार्यालयत गत आर्थिक वर्ष २०७९/०८० मा ७ अर्व ६९ करोड २४ लाख ५ हजार लक्ष्य पाएकोमा लक्ष्यभन्दा झण्डै आधा ४ अर्व ५ करोड ९२ लाख ८३ हजार मात्र राजश्व संकलन गरेको हो ।

विश्वव्यापी आर्थिक मन्दीको असर सुख्खा बन्दरगाह भन्सारको राजश्व असुलीमा पनि परेको बताए । यससगै केहि महिना विलाशीता वस्तुहरुको आयातमा प्रतिबन्ध लागेका कारणलेपनी त्यसको नकरात्मक असर राजश्व संकलनमा परेको उनले बताए । उनले भने,‘ आर्थिक मन्दीले बजार चलायनमान नहुदाँ मालवस्तूको आयातमा कमी आयो, यससंगै नेपाल सरकारले नै केहि महिना सम्म विदेशी मदिरा, नयाँ सवारीसाधन, इलेक्ट्रोनिक्स उपकरणलगायतका विलाशीताका वस्तुहरुको आयातमा प्रतिबन्ध नै लगायो, यी सबै कारणले भन्सारको राजश्व असुली प्रभावित हुन पुगेको हो ।’

प्रतिक्रिया

खबर सबै