पाल्पाको माथागढीमा पहिरो खस्दा राजमार्ग अवरुद्ध, नदी तथा खोलामा बाढीको जोखिम

पाल्पा :  सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको माथागढी–१, धैरेनीमा लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको पाल्पा प्रहरीले जनाएको छ । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण गेग्रानसहितको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताए । पहिरो र लेदो पन्छाउन पानी परिरहेकाले मुस्किल परेको छ ।

पाल्पा, अर्घाखाँची, रुपन्देही र प्युठानका नदी तथा खोलामा बाढीको जोखिम

पाल्पा, अर्घाखाँची, रुपन्देही र प्युठानका नदी तथा खोलामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यी जिल्लामा मध्यमदेखि ठूलो वर्षा भएकाले बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले यी जिल्लाका तिनाउ र माडीसहित साना नदी तथा खोलामा बाढीको खतरा रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । अहिले यी जिल्लासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो र केही ठाउँमा अति ठूलो वर्षाको अनुमान छ ।

लगातारजसो झरी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम छ । भिरालो जमिन र नदी, खोला आसपास बस्नेहरुलाई सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

प्रतिक्रिया