कपिलवस्तुमा वन कर्मचारी र स्थानीयबीच झडप, ८ कर्मचारीसहित डेढ दर्जन घाइते

कपिलवस्तु । कपिलवस्तुको मायादेवी साझेदारी वनको अतिक्रमण हटाउने क्रममा वन सुरक्षाकर्मी र स्थानीयबीच झडप हुँदा ८ जना कर्मचारीसहित डेढ दर्जन घाइते भएका छन् । वन कार्यालयले सुरु गरेको अतिक्रमण हटाउने अभियानमा स्थानीयले अवरोध गरेपछि झडप भएको हो ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १० पटना क्षेत्रमा रहेका सुकुम्वासीले सशस्त्र वन रक्षकमाथि आक्रमण गरेको भन्दै बन कार्यालयले थप सुरक्षाकर्मी बढाएको थियो । स्थानीयलाई संरक्षण गरेको आरोपमा वाणगंगा नगरपालिका वडा नं १० का वडाध्यक्ष यमप्रसाद पोखरेल पक्राउ परेपछि स्थानीय वनका कर्मचारी तथा सुरक्षाकर्मीमाथि जाइलागेका थिए ।

जिल्ला बन कार्यालयका प्रमुख विजयराज सुबेदीले वनका कर्मचारीमाथि जाइलाग्नेलाई पक्राउ गर्न निर्देशन दिएको स्थानीयको आरोप छ । अहिले वडाध्यक्ष पोखरेल जिल्ला वन कार्यालयको थुनुवा कक्षमा छन् । कपिलवस्तुका सहायक वन अधिकृत खिल तामाङले स्थानीयको आक्रमणमा परेर ८ जना कर्मचारी गम्भीर घाइते भएको र वाणगंगा नगरपालिका वडा र्नं १० का अध्यक्ष यमप्रसाद पोखरेलसहित २ जना आफूहरूको नियन्त्रणमा रहेको बताए । यो घटनाका विषयमा कपिलवस्तुको बाणगंगा नगरपालिकाले स्थानीयलाई आक्रोशित नबनाउन वन कार्यालय तथा साझेदारी बनलाई आग्रह गरेको छ ।

नगरप्रमुख चक्रपाणी अर्यालले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी व्यवस्थापनको काम नगरले सुकुम्वासी समाधान आयोगमार्फत गरिरहेकाले यस प्रकारको वितण्डा नमच्चाउन पत्राचार गरिएको बताए ।

यता साझेदारी बनको समन्वयमा जिल्ला बन कार्यालयले गरेको कार्यप्रति विरोध जनाउँदै जिल्लास्तरीय सर्वदलीय बैठकले स्थानीय तहसँग समन्वय नगरी विवाद नबढाउन आग्रह गरेको छ ।

यसरी गरिएको थियो अतिक्रमित जग्गा खाली गर्न

कपिलवस्तुको विभिन्न स्थानमा अतिक्रमणमा परेको सयौं विगाह जग्गा खाली गराउन वन कार्यालयले गरेको सुरुवात स्थानीयले प्रतिवाद गरेपनि निरन्तर काम भइरहेको थियो । तर शुक्रबार अचानक झडपको स्थति बन्यो । यो क्रम शनिबार पनि रोकिएन ।
सबैभन्दा बढी अतिक्रमणमा परेको वाणगंगा नगरपालिकाको मायादेवी साझेदारी वन क्षेत्र अतिक्रमण हटाउने कार्यमा स्थानीयले प्रतिवाद गरेपछि अन्य जिल्लाबाट कर्मचारी तथा सुरक्षा टोली मगाइएको थियो ।

केही दिनदेखि बाणगंगा नगरपालिका वडा नम्बर १० र ११ मा वन क्षेत्रमा गरिएको अतिक्रण हटाउने कार्य सुरुवात गरिएको हो । राजनीतिक हस्तक्षेप र दवावको कारण वर्षोैंदेखि त्यो वन क्षेत्रमा रहेका अतिक्रण बढिरहेको छ । स्थानीयका अनुसार २०५५ सालदेखि त्यो वन क्षेत्रमा अतिक्रण सुरु भएको थियो ।

अहिले वन क्षेत्रमा कब्जा गरी घरटहरा सरकारी संरचना, मठमन्दिर निर्माण र खेतीपाती गरिएको छ । वन क्षेत्र खाली गर्न पटक पटक सर्वदलीय सहमति भएपनि अतिक्रण खाली हुनसकेको छैन । दलहरुले सामुहिक बैठकमा बन क्षेत्र खाली गराउन सहमति गर्ने तर पछि आफ्ना कार्यकर्ता जोगाउन थाल्ने गरेकाले समस्या भएको वन कार्यालयका कर्मचारीको भनाई छ । मायादेवी साझेदारी वनको कुल १ हजार १७ हेक्टर वन क्षेत्र छ ।

त्यसमध्ये डेढ सय हेक्टर वन अतिक्रमणमा छ । पहिलो चरणमा वन क्षेत्रमा खेतीपाती गरी अतिक्रमण गरिएकोलाई हटाइने र दोश्रो चरणमा बल्ल घर टहरा हटाउने योजना बन कार्यालयले बनाएको छ ।

असार ६ गते बाणगंगा नगरपालिका वडानम्बर ११ दानापुरमा अतिक्रमण खाली गराउन खोज्दा स्थानीयबासीबाट अवरोध भएको थियो । जिल्लाको मात्र वन कर्मचारी र वन रक्षकसहित डोजर लिएर दानापुरमा पुग्दा ५ सयभन्दा बढी स्थानीयबासीले अवरोध गरेपछि डिभिजन कार्यालयले कपिलवस्तु, रुपन्देही, नवलपरासी र अर्घाखाँचीका वन रक्षकसहित कर्मचारीहरु मगाएर फेरी अतिक्रमण हटाउन थालेको थियो । तर यसपटक झडप नै भयो ।

४ जिल्लाको गरी झन्डै ४ सय वन कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोली अतिक्रमण क्षेत्रमा परिचालन गरिएको थियो । अतिक्रमण खाली गराउन करिब ४ सय जनशक्ति र ४ वटा डोजर परिचालन गरिएको छ । स्थानीयबासीको अवरोधलाई मध्यनजर गरी सो जनशक्ति परिचालन गरिएको थियो । तर स्थानीयवासी र वन सुरक्षाकर्मीबची झडप भएको हो ।

सुरुमा वरवादेखि मझवासम्म करिब ५ किलोमिटर बनको सिमाना रेखांकनका लागि डोजर प्रयोग गरिएको थियो । मायादेवी साझेदारी वनमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका, कपिलवस्तु नगरपालिका, मायादेवी गाउँपालिका तथा वाणगंगा नगरपालिकाका क्षेत्रहरु पर्दछन् ।

प्रतिक्रिया

खबर सबै