बाणगंगा ९ भलवाडमा झण्डै २ सय वर्ष पुरानो इनारको संरक्षण थालियो

राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा झण्डै २ सय वर्ष पुरानो इनार फेला परेसँगै यसको संरक्षण थालिएको छछ । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित भर्लाबास गाउँमा एक स्थानीयको खेतमा उक्त इनार भेटिएको हो । हाल उक्त इनारको संरक्षणमा स्थानीय सामुदायिक वन लागेको छ ।

भर्लाबास स्थित ऋषिराम आर्यलको खेतमा रहेको उक्त इनार आज भन्दा करिब २ सय वर्ष पहिले बनाइएको स्थनीयको अनुमान छ । ५० फिट गहिरो इनारमा अहिले पनि प्रयोग गर्न सकिने पानीको मुहान रहेको पाइएको छ । भर्लाबासका स्थानीयले २ दशक अघि सम्म यस इनारको पानी प्रयोग गर्ने गरेको बताउँछन् । तर पछि गाउँमा धारा जडान भएपछि भने यो इनार प्रयोगबिहिन भएको जग्गाधनी अर्यालले साझाकुरासँग बताए ।

बाग्लुङ्को बुर्तिवाङ्बाट २०२२ सालमा बसाइसराई गरी आएकी जैसरा मगरले आफूहरुले पछि सम्म उक्त इनारको पानी प्रयोग गरेको बताइन । २०३३ सालमा आफू सोही इनारमा खसेर घाइते समेत भएको उनले साझाकुरासँग सुनाइन्। पछि गाउँमा धारा बनेपछि इनार बन्द थियो । अहिले जैसराको उमेर ८२ वर्ष भयो । तर उक्त इनार कहिले बनाइएको हो भन्ने यकिन नभए पनि करिब दुई शताब्दि पुरानो रहेको उनको अनुमान छ ।

गाउँको बिच भागमा रहेको उक्त इनारको जमिनको माथिल्लो सतह देखि मुहान रहेको पिँधसम्म चारैतर्फ काठका फ्ल्याकहरुले छोपिएको छ । अहिले पनि उक्त इनारमा मज्जाले पानीको मुहान फेला पर्छ । इनारमा पानीको सतह झण्डै १० फिट गहिरो छ । अहिले इनारको संंरक्षण थालिएको छ ।

बाणगंगा ९ स्थित कोइलीचौर साना किसान सामुदायिक वनले उक्त इनारको संरक्षणगरी एउटा इतिहासको संरचना जिवित राख्न बजेट समेत बिनियोजन गरी काम थालेको छ । वनका अध्यक्ष कुन्तामणी भुषालले यस्ता शताब्दि पुराना संरचनाको संरक्षण गरे नयाँ पुस्ताका लागि अध्ययनको विषय समेत हुने बताए । उनले वनको आर्थिक लगानीमा यो इनारको मर्मत सम्भार गरी प्रयोगमा पुनः ल्याउने बताए । उनले आफूले इनार रहेको थाहा पाएपछि यसको संरक्षण गर्न लागी परेको समेत जानकारी  दिएका छन् । कोइली चौर सामुदायिक वनले उक्त इनारको मर्मतका लागि हाल २ लाख रुपैँया बजेट समेत विनियोजन गरेको वनका अध्यक्ष भुषालले साझाकुरासँग बताए ।

यहाँका स्थानीय युवाहरुका अनुसार यस्ता संरचनाको उचित संरक्षण गर्नुपर्ने बिचार छ । प्राचिन समयमा यो स्थानमा थारु जातिको बसोबास रहेको बताइन्छ । उक्त इनार झण्डै २ सय वर्ष पहिले थारु जातिका मानिसहरुले नै बनाएको अनुमान छ । तर कसले कहिले बनाए भन्ने यकिन जानकार कोही पनि छैनन् । बाणगंगाको भलवाडमा अन्य स्थानमा समेत यस्ता इनार (कुवा) रहेको बताइन्छ । कतिपय इनार पछिल्लो पुस्ताका मानिसले नष्ट गरिसके भने कतिपय स्थानमा अझै फेला पार्न सकिन्छ ।

भलवाडका विभिन्न गाउँमा आधादर्जन इनार रहेको बताइन्छ । शताब्दी पुराना यस्ता संरचनाको आवश्यक संरक्षण र मर्मत सम्भार गर्न सके नयाँ पुस्ताका नागरिकहरुका लागि इतिहास अध्ययनको विषय बन्न सक्छ । भर्लाबासको उक्त इनारको सामुदायिक वनले संरक्षण गर्ने काम सुरु गरेपछि भने स्थानीय खुसी भएका छन् । उनीहरुले यो इनारको पानी प्रयोगमा ल्याउनुपर्ने पनि बताएका छन् ।

प्रतिक्रिया

खबर सबै