साहारा सामुदायिक वनको अधिवेशन : अध्यक्षका लागि ६ जनाको लडाइ, नेतृत्व चयनमा बढ्यो किचलो

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित साहारा सामुदायिक वनको आगामी नेतृत्वका लागि ६ जनाले दाबी गरेका छन् । सामुदायिक वनको आगामी नेतृत्व अर्थात अध्यक्ष पदका लागि केही व्यक्तिहरु नमिल्दा वनको नेतृत्व चयन नै विलम्ब भइरहेको छ ।

वनको छैठौँ अधिवेशनबाट वनको नेतृत्व नारायणबहादुर थापाले सम्हालेका थिए । उनको कार्यकाल सकिएर वन कार्यसमितिले ७ औँ अधिवेशन आह्वान गरेको भए पनि नयाँ नेतृत्व चयन हुन नसकेको एक उपभोक्ताले साझाकुरासँग बताए ।

अहिले यो सामुदायिक वनको अध्यक्ष पदका लागि नारायणबहादुर थापा सहित मधु राना, कमल बेल्वासे, नरायाण पौडेल, ठाकुरप्रसाद खनाल र नारायण भुसालले अध्यक्ष पदका लागि दाबी गरेका छन् । दाबी गरेकाहरु मध्येबाट थापाले एक कार्यकाल अझै नेतृत्व आफूले लिने चाहना व्यक्त गरेका छन भने बेल्वासे पूर्व अध्यक्ष हुन । यस बाहेक अन्यले आफूले नेतृत्व पाउनुपर्ने दाबी गरिरहेका छन् । भुषालले अब युवाले पालो पाउनुपर्ने भन्दै वनको नेतृत्व आफूले गर्ने दाबी गरेका छन् ।

पटक पटक वनको आगामी नेतृत्व चयनका लागि बसेका बैठकहरु निष्कर्षविहिन हुने गरेको नारायण भुसालले बताए । उनले भने, ‘वनको नेतृत्व चयनमा आर्थिक चलखेल गर्न खोजिएको छ, उम्मेद्धार हुन चर्काे मुल्यमा रकम उठाउनुपर्ने भनिएको छ । यस्तो पनि कहाँको नियम होला ?’

सव डिभिजन वन कार्यालय गोरुसिँगेका वन अधिृकत बसन्त थापाले आफू अनुकुलका व्यक्तिलाई वनको नेतृत्व दिन खोजेको उम्मेद्धारमध्येबाट आरोप छ । वनको अध्यक्ष बन्नका लागि प्रति व्यक्ति २० हजार रकम जम्मा गरेपछि मात्रै चुनावमा जाने थापाले बताएपछि वनको नेतृत्व चयन थप पेचिलो बनेको कमल बेल्वासेले बताए । आफूले एक कार्यकाल काम गरिसकेको भन्दै मिलेर आए आफूले छोड्ने अन्यथा नछोड्ने बेल्वासेको अडान छ ।

उता सव डिभिजन वन अधिकृत थापाले वन उपभोक्ता समुहको कोषमा हाल रकम नभएको अवस्थामा चुनावी खर्चका रुपमा उम्मेद्धार हुने व्यक्तिले प्रतिव्यक्ति २० हजार रकम उठाउन आफूले सल्लाह दिएको बताएका छन् । उनले सामुदायिक वनहरु चुनावी प्रक्रियामा जानु एक गलत अभ्यास भएको भन्दै सके सम्म सर्वसम्मतीमा कार्यसमिति चयन होस भन्ने आफ्नो सुझाव रहेको समेत उनले दाबी गरे । तर यही वडा भित्रका अन्य कतिपय सामुदायिक वनमा भने चुनाव नै भएको छ । सव डिभिजन वन कार्यालयले चुनाव गर्न छुट समेत दिएको थियो ।

उता वन कार्यासमितिको अधिवेशन खर्च उम्मेद्धारले नभई संस्थागत विषय भएकाले संस्थाले नै बेहोर्नुपर्ने भलवाडका सामुदायिक वनका अध्यक्षहरुको तर्क छ । वनको अधिवेशन कुनै एक व्यक्तिको व्यक्तिगत विषय नभइ संस्थागत विषय भएकाले संस्थाले नै चुनावी खर्च व्यवस्थापन गर्नुपर्ने उनीहरुले साझाकुरासँग बताए ।

यस्तै वन कार्यसमतिको अध्यक्ष बाहेकका अन्य सबै पद टुङ्गिसकेको निर्वाचन मण्डलका संयोजक लालमणी अधिकारीले बताएका छन् । उनले वन कार्यसमितिको अध्यक्ष पदमा मात्रै अब चयन हुन बाँकी रहेको भन्दै उक्त पदका लागि दाबी पेश गरेका व्यक्तिहरुलाई एक हप्ताको समय दिएर सहमतिमा पुग्न आग्रह गरिएको जानकारी दिए । निर्वाचन मण्डलका अनुसार साहारा सामुदायिक वनको आगामी अध्यक्षका लाग दाबी गरेका ६ जना मध्ये एक जनाले चुनावमा जाने गरी आफ्नो अडान कायम गरेका छन् भने अन्य बाँकी पाँच जनाले सहमतिमा नेतृत्व छान्नुपर्ने विचार पेश गरेका छन् । तर पनि सहमति नजुट्दा वन कार्यसमितिले पूर्णता पाउन सकिरहेको छैन । निर्वाचन मण्डलका अनुसार आह्वान गरिएका बैठकमा समेत उपस्थित नहुने क्रम बढेपछि थप यो विषय लम्बिरहेको छ । निर्वाचन मण्डलले छलफलका लागि आह्वान गरेका बैठकमा अध्यक्षका दाबेदार व्यक्तिहरु नै उपस्थित नहुने गरेको पाइएको छ । आपसमा मिलेर आउन भनिएको भए पनि उनीहरु एक अर्काप्रति आरोप्रत्यारोप गर्ने गरेका छन् । अब केही दिनमा बैठक आह्वान गरी अन्तिम निर्णयमा पुगिने निर्वाचन मण्डलका संयोजक अधिकारीले बताएका छन् ।

वनको कोषमा समेत रकम अभाव भएको भनिएकाले निर्वाचनका लागि जान समस्या देखिएको जनाइएको छ । तर उम्मेद्धारहरु उक्त रकम आफूले व्यहोर्न राजी देखिएका छैनन । ६ जनाको आपसी द्धोन्द्धका कारण वनको नेतृत्व चयन नै अफ्ठ्यारोमा परेको छ भने यसपटकको काठ कटान समेत हुन सकेन । जसका कारण वनको आर्थिक कारोवारमा समेत असर गरेको छ ।

साहारा सामुदायिक वनमा हाल करिब ३ सय वन उपभोक्त सदस्य छन् । यो सामुदायिक वन २ सय ३६ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

प्रतिक्रिया

खबर सबै